चिया पसल चलाउँदै सांसद (भिडियोसहित)

बिना टिकट २५० जनालाई कलकत्ता पुर्‍याएँ: कमल

हेमन्त विवश

काठमाडौं

केही परिचित, केही अपरिचित अनुहारहरुसँग भैदिन्छ भेट जिन्दगीको गोरेटोमा। कहिल्यै जम्काभेट त कहिले मेलोमेसो मिल्न गएर हुन जाने भेट। कतै औपचारिक, कतै अनौपचारिक। करिव तीन महिनाअघिको कुरा हो गायक तथा संगीतकार तिलकसिंह पेला एल्बम प्रकाशनको तयारीमा थिए। म पेलाको स्वर र संगीतको फ्यान बनिसकेको एउटा श्रोता। तिनै पेलाले लगेर गए थापागाउँस्थित जम्काभेट रेष्टुरेन्टमा। जहाँ किचेनमा अडर अनुसारका परिकार बनाउन व्यस्त थिए एक युवा। परिचय हुने क्रममा थाहा भयो उनी त तिनै संविधानसभा सदस्य हरिश ठकुल्ला उर्फ कमल क्षेत्री पो रहेछन्। 

कृष्णपुर-१ पहरिया कञ्चनपुरमा जन्मे उनी। पुख्र्यौली घर अछाम भएका क्षेत्री भलिवल राम्रो खेल्थे। हाइस्कुलमा अध्ययन गर्दा दशैंताका अछामको कालिमाटी क्लबले खेल्न बोलाएपछि देख्न पाएछन् पूर्खाको थलो। एसएलसी दिने समय नजिकिदै थियो। उनको खेल औधी मन पराएछन् महेन्द्रमाबि बयलपाटाका गेम टिचर गंगा बोहराले। त्यो खेलमा कैयाैंको मन जित्न सफल भैदिएछन् उनी। गंगा सरले कमलका दाइलाई भनेछन् –‘भाइले राम्रो खेल्दा रहेछन्। आखिर पढ्ने केटा हो, यतै राखे भैहाल्यो नि। यतैबाट खेल्छन्, यतै पढ्छन्।’

त्यसपछि कमलले एसएलसी परीक्षा दिए अछामबाटै। उनी २०५० सालमै अनेरास्वबियुको जिल्ला सदस्य भैसकेका थिए। २०५२ असोज ५ र ६ गते जिल्ला सम्मेलन भयो त्यसपछि उनले अनरेस्वबियु छोडे। त्यतिखेर संगठनमा जल्लाबल्दा २ वटा मुद्दा थिए एउटा मदन भण्डारीको निधन भवितब्य हो या सुनियोजित। अर्को थियो महाकाली सन्धी। यी दुइटै कारणले छोडिदिएछन् संगठन। एमाले सरकारमा थियो। महाकाली सन्धी भैसकेको थियो। एमाले सहभागी भएर सन्धी गर्दा राष्ट्रबादी हुने, कांग्रसले गर्दा चाँहि राष्ट्रघाती हुने यस्तो पनि लजिक हुन्छ र?  यी दुई प्रश्नहरु जवरजस्त ढंगले उठ्थे उनीलगायत केही साथीहरुको मनमा।

७/८ कक्षामा पढ्दा ताकादेखि नै रुचि बढिसकेको थियो राजनीतिमा। अछाममा डेरामा बस्दा फ्याट्टफुट्ट देखिन्थे माओबादी केटाहरु। तर तिनीहरु त्यतिबेला बोल्नै नचाहने, खुल्नै नचाहने। परिचय दिदा समेत बाहिरकै हौं भन्ने गर्थे। ती माओवादी केटाहरुसँग उनको अलिअलि कुराकानी भने भैरहन्थ्यो। 

एसएलसी उत्तीर्ण भैसकेपछि उनको मन मोडिन थाल्यो अर्कैतिर। सीएमए पढ्ने रहर जाग्न थाल्यो मनमा। कारण थिए उनका एकजना काका महासिंह ठकुल्ला। ती काकाको मेडिकल थियो कञ्चनपुर झलारीमा, जहाँ बारम्बार गैरहन्थे र सोच्न थाल्थे जनसमुदायको सेवा गर्न यो क्षेत्र पनि राम्रो हुन सक्छ। केही दिनपछि आफ्नो इच्छा व्यक्त गरे बाआमासँग। बाआमाको उत्तर आएछ – ‘तेरो दाइले कमाउछ उसँग सल्लाह गर न बा।’ 

‘सुदूरपश्चिमको परम्परा नै भइसकेको थियो भारतमा गइ जागीर गर्नु। बाजे मुम्बै, बुवा मुम्बै, छोरा मुम्बै, अहिले नाति पनि मुम्बै। अछामी मुम्बै, बझाङी ब्याङलोर, बाजुरेलीहरु दिल्ली, डडेल्धुरा, डोटी र बैतडीतिरका प्राय पञ्जाबतिर  हानिन्थे’–त्यो समय सम्झिँदै सुनाउँछन् उनी। यसै परम्परा अनुसार उनका दाइ पनि उतै थिए। दाइ भेट्न उनी पुगेछन् मुम्बै। र, व्यक्त गरेछन् सीएमए पढ्ने रहर। ‘तिमी एसएलसी पास भइसक्यौ अब आफै कमाएर आफ्नै तरिकाले पढ्दा राम्रो हुन्छ कि ?’–दाजुको सल्लाह थियो।

केही दिनपछि घरफर्की सुझाव दिएका दाइले टिकट काटिदिन्छु भन्दा उनले उत्तर दिएछन् –‘म आफै कमाएर फर्किन्छु।’ उनी फर्किएनन् घर। एक वर्ष त्यतिकै बित्यो। दोश्रो वर्ष सिद्धार्थ कलेजमा भर्ना गरेछन्। नियमित रुपले १२ कक्षा उत्तीर्ण गरे। विगतका ती दिन सम्झिदै उनी सुनाउँछन् –‘माओबादीको जनादेश पत्रिका आउँथ्यो। निकै नै गोप्य र सुरक्षित ढंगले विशेष मान्छेहरुलाई उक्त पत्रिका दिन्थ्यौं। सेन्ट जेभियर्स कलेजमा एकजना पाको उमेरका बोहरा थरका चौकिदार हुनुहुन्थ्यो। उनीसँग राम्रै उठबस हुन थाल्यो। चौकिदारसँग कुरा गरिरहेको अवस्थामा तीन चारपटक देखेपछि फादरले बुझेछन् –को मान्छे ? किन आइरहेछ ? चौकीदारको मान्छे नेपाली विद्यार्थी भन्ने थाहा पाएपछि चुपचाप हिँडेछन् फादर। 

एकदिन तिनै चौकिदार बोहरा दाइसँग कुराकानी गरिरहँदा नजिकै आएछन् फादर र सोधेछन् धेरै कुरा। अन्तमा प्रश्न गरेछन् –‘यता पढ्न चाहन्छौं?’ उनले उत्तर दिएछन् –‘मेरो परसेन्ट पुग्दैन्।’ वास्तवमा सेन्ट जेभियर्समा भर्ना हुन क्रिश्चियनका छोराछोरीलाई ५७ प्रतिशत भए पुग्थ्यो भने अरुहरुको सवालमा ८० प्रतिशत हुनुपर्थ्यो। अन्यथा भर्नाको लागि फाराम पाइँदैन थियो। तँ सोच म पुर्‍याउछु भनेझैं हुन गएछ उनलाई। कुन्नि के सोचेर हो फादरले फाराम लिन लगाएछन्। फाराममा आफ्नो हस्ताक्षर गरेछन् र उनको हातमा थमाउँदै भनेछन् –‘फिल दि फर्म एण्ड सबमिट।’

त्यसपछि भर्ना भएछन् सेन्ट जेभियर्स कलेज मुम्बैमा बीकम पढ्न। त्यो निकै ठुलो अवसर थियो उनको जीवनको। मनलाई पढाइतिर बढी मोड्न थालेछन्। पढाइमा राम्रो गर्छु भन्ने सोचले समयको सदुपयोग गर्न तिर लागेछन्। तर, केही समय पछि पार्टीको संघर्ष पेचिलो बन्दै जादा कलेज छोड्नु भन्ने निर्देशन आएछ पार्टीको। प्रवासलाई २ क्षेत्रमा बाँडिएको थियो। उनी दक्षीणपश्चिम भारतको विद्यार्थी  संगठनका अध्यक्षका साथै अखिल भारतीय नेपाली विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष । तामिलनाडु, कर्नाटक, केरला, आन्द्र प्रदेश, छत्तीसगढ, महाराष्ट्र, गुजरात, राजिस्थानसम्मको जिम्मेवारी दिइएछ। तब लागेछन् पूर्णकालीन राजनीतिमा। छुटे कलेजका दिनहरु। कलेजका साथीहरु सबै र सेन्ट जेभियर्स कलेजबाट स्नातक गर्ने सुन्दर योजना पनि। 

त्यसपछिका घटना सम्झिदै सुनाउँछन् उनी –‘बिना टिकट २५० जनालाई कलकत्ता पुर्‍याएँ। बाटोभरी टिटिसँग संघर्ष गर्नु पर्‍यो। ठाउँठाउँमा उतार्छु भन्थ्यो ट्याकल गर्दै बडा मुस्किलले पुगियो कलकत्ता। कलकत्तामा म समातिने निश्चित भैसकेको थियो। मासले फुत्कायो र बचायो। फेरि मुम्बइ फर्केँ। त्यो घटना अघि पनि तीन चारपटक समातिइसकेको थिएँ। २/३ दिन राख्थ्यो केरकार गर्थ्यो र पठाउँथ्यो।’

भारतमा पार्टीको काममा दिनरात खटिएका क्षेत्री २०५९ सालमा नेपाल फर्किए। पार्टीको योजना अनुसार पूर्वी कमाण्डको काम गर्ने गरी संखवासभा धनकुटा लगायतका क्षेत्रमा केही समय बिताए। त्यही समयमा विद्यार्थीको १६औं सम्मेलन सम्पन्न भयो। सम्मेलनको बेला भेट हुँदा कृष्णबहादुर महराले रामबहादुर थापा बादललाई भनेछन्–‘उहाँले बाह्य मुलुक हेरिरहनु भएको छ। धेरै देशसँग सम्पर्क पनि छ उहाँलाई उतै पठाउनु पर्छ।’ त्यसपछि पुनः फर्किएछन् मुम्बै। त्यतिखेर चेन्नाइमा नेपाली मजदुरले निकै समस्या भोग्नु परिरहेको थियो। उनी उभिएछन् मजदुरसँगै। अनि फेरि परेछन् जेल। यसरी प्रवासमा रहदा उनले गर्नुपरेको संघर्षको कथा लामो छ। 

उनी नेपाल फर्किए लगत्तै जनआन्दोलन सुरु भयो। कञ्चनपुर-२ नम्बरमा उनको घर थियो। ४ नम्बरका उनी इन्चार्ज थिए। नेपालमा गणतन्त्र आयो। संविधानसभाको चुनाब नजिकिदै आयो उनले लड्नुपर्ने भयो सुदूरपश्चिमका हस्ती मानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग। पहिलो पटकको चुनावमा पराजित हुनु पर्‍यो। एक बिगाह ऐलानी जमीन थियो त्यतिखेर उनीसँग। त्यसमा पनि १० कट्टा चुनाबकै लागि भनेर बेचिदिएछन्।

किन्नेले सुरुमा तीन लाख रुपैया दिएछन्। बाँकि जम्मा गर्न सकेन छन्। आखिर अलिअलि गरेर चुनाव पछि मात्रै दिएछन्। जो पोष्टर पम्पलेट आदिमै खर्च भएछ। उनी भन्छन्– ‘चुनाबमा कार्यकर्तालाई एक छाक भात खुवाउने पैसा नि थिएन गोजीमा।’ देउवाले डडेल्धुरा र कञ्चनपुर ४ नं. गरी दुई ठाउँबाट जितेका थिए। देउवाले कञ्चनपुर छोडेपछि उपनिर्वाचनमा राम्रै मतले विजयी भए क्षेत्री। उसो त पराजित हुँदा पनि सम्मानजनक मत पाएकै थिए उनले।

पहिलो संविधानसभा विघटन भएपछि २०६९ सालमा उनको दाइको साला मोहनसँगको छलफल पछि सुरु गरेछन् काठमाडौंको कपनमा रेष्टुरेन्ट। राम्रै चलिरहेको थियो रेष्टुरेन्ट। एक महिनापछि मोहनको छोरा घरबाट भाग्यो भन्ने खवर आएछ। कुकको काममा अनुभवी र पोख्त ठानिएका मोहन केही दिनका लागि भनेर घर गएर छ महिनासम्म उतै बसिदिएछन्। रेष्टुरेन्ट बन्द हुने अवस्था आइदिएछ। उनले सोचेछन् –हिजोको जस्तो होलटाइमर राजनीतिले अब चल्दैन जिन्दगी। अनि कुक खोज्न थालेछन्। बल्लतल्ल भेटाएछन् एकजना। तिनको पनि तीन महिनामै भिसा लागेछ विदेशको। आफू निस्किनुअघि उनैले खोजिदिएछन् अर्को मान्छे। जसले ४ महिना काम गरेर हानिएछन् विदेशतिर। फेरि खोज्न थालेछन् उनले अर्को मान्छे। केही दिनपछि फेला पारेछन् एकजना कुक। जसले इमान्दारिताका साथ सुरुमै भनिदिएछन् –‘दाइ म विदेशको चक्करमा छु तपाईलाई फेरि पनि समस्या पर्न सक्छ। सिकाउने थुप्रै इन्स्टिच्युटहरु छन्। अब तपाई आफै सिक्नुहोस्।’

त्यसपछि पुगेछन् उनी चावहिलस्थित मयूर इन्स्टिच्युटमा जहाँ हायत होटलका सेफले सिकाउँथे। तीन महिना त्यहाँ सिकिसकेपछि अब म काम गर्न सक्छु भन्ने आत्मविश्वास भएछ।  ४ वर्षपछि बानेश्वरस्थित नोबेल एकेडेमीको क्यान्टिन चलाउने मौका पाएछन् उनले। तीन वर्ष क्यान्टिन चलाएछन्।

त्यही दौरानमा फेरि नाथममा सिक्न गएछन्। उनी भन्छन् –‘नाथमबाट धेरै कुरा सिके। ३ महिने आधारभूत कोर्स थियो त्यो फूड प्रिपरेसन एण्डकस्टकन्ट्रोल भन्ने। त्यही कोर्स बिएचएमका विद्यार्थीहरुले पनि पढ्नु पर्थ्यो। भाँडा माझ्दै सिक्दै आएका कुकलाई फुड हाइजिनिकका बारेमा ज्ञान हुँदैन। फ्रेस, हाइजेनिक छैन भने हेल्थी हुँदैन। मैले चाइनिज इन्डियन कन्टिनेन्टल धेरै प्रकारका डिसहरु समेत बनाउन सिकेँ नाथममा गएर।’  

एकदिन एकजना गजबको ग्राहक आइपुगेछन् उनको रेष्टुरामा। जसले मःमः अडर गरेछन्। मःमः टेबुलमा आएपछि नखाइकनै पश्न गरेछन्–‘यो मःमः त्यति राम्रो स्टिम भएजस्तो लागेन नि।’ कमलले मुस्कुराउँदै जवाफ दिएछन् – ‘कम्प्लिट स्टिम छ। जति हुनुपर्ने हो त्यति छ भित्रको किमा हेर्नुहोस् पाकेको छ कि छैन अनि भन्नुहोस्।’ ती ग्राहकले फेरि प्रश्न तेर्स्याएछन् – ‘मः मः पनि राम्रो छैन जस्तो लाग्यो खाद्यप्रविधिमा गएर चेक गराउछु म त।’ कमलले निडरताका साथ भनिदिएछन् – ‘प्लिज लौ न गराइदिनोस्। मेरो पनि नाम आउँछ भन्ने ठाउँ पाउँछु। तपाईंजस्तो मान्छे हप्तामा एकदिन भए नि आइदिनु पर्छ। त्यसो हुँदा काठमाडौंमा भएका सबै रेष्टुरा व्यवस्थित हुन्छन्। त्यो काम गरिदिनोस्। कमलको मुखबाट यति सुनेपछि ती ग्राहक उठेर कमलसँग हात मिलाउँदै भन्न पुगेछन् –‘तपाईको कन्फिडेन्ट देखेपछि अब यो मःमः झन मीठो लाग्न थाल्यो। म पनि सेफ हो बाहिर काम गर्छु।’ 

काम कुनै पनि सानो ठुलो भन्ने हुँदैन। राज्यको दोहन पो गर्नु हुन्न मेहनत गरेर खान सिक्नु पर्छ भन्ने मान्यता बोकेका कमल गीतसंगीतका पनि उत्तिकै पारखी छन्। उत्तिकै संवेदनशील पनि देखिन्छन्। उनी बारम्बार सम्झ्न्छिन् आमालाई। आमाले धर्ती छोड्नु अघि भनेकी हुन् रे – गल्ती हँदा मेरो कमजोरी भयो भन्न अप्ठेरो नमान्नु। कसैको कुभलो नचिताउनु। कसैलाई नबिगारेस्। कसैलाई नबिझाएस्। अचेल उनी पनि ठान्छन् –‘जिन्दगी यात्रा हो जबसम्म बाँचिन्छ राम्रै गर्नुपर्छ। व्यक्ति या समाजका लागि राम्रै सोच्नु पर्छ। राम्रै गर्नु पर्छ।’ 

राजनीतिमा सादगी जीवन बिताउनुपर्ने मान्यता छ उनको। कृष्णप्रसाद भट्टराई र बी पी कोइरालाको सादगी जीवनको चर्चा गर्न पछि पर्दैनन् उनी। जोसुकै पार्टीका किन नहुन् राम्रालाई राम्रा भन्न हिचकिचाउनु हुन्न भन्ने मान्यता बोकेका क्षेत्री बताउँछन् – ‘राणाकालमा चारजना शहीदहले पञ्चायतकालमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराईहरुले योगदान नपुर्‍याएको भए त्यति चाडै प्रजातन्त्र आउँने थिएन। पछिल्लोपटक सात दल र माओबादीले आन्दोलनको मोर्चा एउटै नबनाएको भए राजसंस्थाको पनि बिदाइ हुने थिएन।’

श्रीमती, एक छोरी र दुई छोरा गरी चारजनाको सानो परिवार सुन्दर परिवार छ उनको। श्रीमती र उनी रेष्टुरामै सक्रिय देखिन्छन्। चार वर्षको सानो छोराको तोतेबोलीले झन थपेकै हुन्छ परिवारमा सौन्दर्य। कुराकानीकै क्रममा सुदूरपश्चिमतिरै रेष्टुरेन्ट खोल्ने सोच रहेको कुरा समेत बताए उनले। ‘एकाएक कहाँबाट आयो यस्तो सोच’ – छुट्टिने बेला पुन: प्रश्न तेर्स्याएँ मैले। उनले सुनाए रोचक प्रसंग। एक दिन नेकपाका केन्द्रीय सदस्य एवम् अहिलेका वाणिज्यमन्त्री लेखराज भट्ट पुगेछन् उनको रेष्टुरेन्टमा र भनेछन् – ‘कमलजी सुदूरपश्चिमकाले पनि खान्छन् मःमः चाउमिन।’

लेखराज भट्टको भनाइको आशय थियो उतै गएर व्यवसाय चलाइदिए हुन्थ्यो साथै अरुलाई पनि प्रेरित गरिदिए हुन्थ्यो भन्ने। तब निकैबेर सोचेछन् उनले उक्त कुरा र निर्णय गरेछन् सुदूरपश्चिममै गएर व्यवसाय सञ्चालन गर्ने। उनी चाडै नै सुदूरपश्चिममा व्यवसाय सञ्चालन गर्ने सोचमा छन्। साकार होस् उनको सोच, शुभकामना कमल क्षेत्रीलाई। 

प्रकाशित मिति: : 2020-03-11 22:14:00

प्रतिकृया दिनुहोस्