१ सय १० औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर भब्यताका साथ मनाईयो। महिलामाथि हुने हिंशा अन्त्य गर्न सहयोग पुगोस् र विकासका हरेक क्षेत्रमा महिलाको पूर्ण र बराबरी सहभागिता रहोस् भन्ने मन्त्र वर्षैपिच्छे जपेर यो दिवस मनाईंन्छ।
पछिल्ला दिनमा नेपाली समाजमा पनि यो दिनलाई विशेष महत्वका साथ हेरिँदै आएको छ ।
कानुन र सिद्धान्तमा जे उल्लेखित भए पनि ब्यवहारमा समानता आक्कल झुक्कलबाहेक देखिँदैन। समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि फरक छ।
अघिअघि प्रहरी छाउगोठ भत्काउँदै जाने अनि पछि पछि पुनर्निर्माण गरेर बस्ने गरिएको उदाहरणले के कुरा प्रमाणित हुन्छ भने गाउँका गोठ भत्काएर होईन ती महिलाको अन्तरकुन्तरको छाउगोठ भत्काउन जरूरि छ। जबसम्म हामी महिला र पुरूष दुबै मानसिक रूपमै तयार हुँदैनौं तबसम्म समाज बदल्न असम्भव प्राय छ।
कानुन र सिद्धान्तले मात्रै समाज परिवर्तन हुँदैन।
परिवर्तन अरू कसैले गरिदिने होईन। हामी आफैंले गर्ने हो। पितृसत्ताको सोचमा हुर्कँदै आएको हाम्रो समाजको संरचना नै त्यस्तै छ। तर समाज आफैंमा एक्टर होईन। समाज तपाईँ हामी जस्ता बिभिन्न अभयब मिलेर बनेको एब्स्ट्रयाक्ट कम्पोनेन्ट मात्र हो।
समाजका एक्टर त तपाईँ हामी हौं जो बदलिएसँगै समाज स्वतः बदलिन्छ। त्यसैले को महिला? को पुरूष हामी सबै बदलिन आवश्वक छ।
तुलनात्मक रूपमा महिला धेरै पीडित हुने गरेकाले महिला स्वयं पहिले बदलिन जरूरि हुन्छ। त्यसपछि तपाईँका पुरूष मित्रहरू, घरपरिवार र सिंगो समाज बिस्तारै तपाईँकोसाथमा आउँदै जान्छ। यसका लागि हामीमा वर्षौंदेखि राज गरेर बसेको सोच परिवर्तन गर्नु आवश्यक छ।
आजको उत्तराधुनिक युगमासमेत खरदार केटीले अधिकृत केटो खोज्ने, अनमीले एमडी रोज्ने, हाईस्कुल वालालाई डिग्री पढेको श्रीमान चाहिने, बाँकीले हुने खाने धनिमानी खोज्दै हिँड्ने अनि जिन्दगीभर ‘हजुरको म त दास पो हुँ’ भन्दै सम्पूर्ण रूपमा श्रीमानको शरण पर्ने दासत्व बनोवृत्ति शिक्षित नारीले पनि उखेलेर फाल्नु जरूरत देखिन्छ।
किनकी जानी जानी पुरूषभन्दा तलै बस्न खोज्ने, आफ्नै जन्म घरबाट पाउने अंश नलिएर हुनेवाला श्रीमानको अंशियार हुने, सधैँ श्रीमानकै कमाइलाई प्राथमिक कमाई मानेर जिन्दगीभर हातै पसारिरहनुपर्ने जस्ता बाध्यताबाट मुक्त नहुने हो भने प्राचिनकालदेखि भेदभावरहि आएको हाम्रो समाजबाट समानताको आशा गर्नु भनेको ‘रिट्ठाको बिउ रोपेर कहाँ फल्छ र कागती’ भने सरह हो।
सभा, गोष्ठी, आन्दोलनबाट कानूनमा छोराछोरी दुवै अंशियार भनि अक्षर कोर्न सफल हाम्रो समाज ब्यवहारिकतामा एकातर्फ बिभिन्न बहाना र माया देखाई छोरीलाई अंश दिनबाट पछाडि हट्छ भने अर्कोतिर तिनै छोरीलाई विवाह पछि श्रीमानले अंश दिएनन् भन्दै आन्दोलनको मोर्चाबन्दी गर्छ।
यो आफैंमा एउटा बिरोधाभास बाहेक केही होईन। त्यसैले अबको आन्दोलन जन्मघरको अंशियारलाई अनिवार्यतामा लैजानेतर्फ हुनुपर्छ, चाहे छोरा होस् या छोरी। त्यसो भए मात्र महिला जन्मघरदेखि नै आर्थिक लगायतका क्षेत्रमा आफैं निर्णय लिनसक्ने बाटोमा अघि बढ्छन्।
केही वर्ष यता महिला अधिकारका क्षेत्रमा सत्यताको आधारमा वास्तविक पीडितलाई पहिचान गरि न्यायको किनारामा पुर्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ नभएर देखावटी र नामका लागि मात्र होडबाजीमा दौडने प्रवृतिले वास्तविक पीडित पीडामा नै र देखावटी पीडितले सम्पत्ति कुम्ल्याउँने गरेका धेरै उदाहरणहरू सबैका आँखा अगाडि नै देखिन्छन्।
पछिल्ला वर्षहरूमा बैदेशिक रोजगार, ब्यापार-व्यवसाय, अध्ययन अनुसन्धानमा विदेश गएका दाजुभाइहरू सबैथोक ठानेर विश्वास गरेका श्रीमतीको श्रीमानप्रति विश्वास र मायाभन्दा पनि सम्पत्तिप्रतिको मोह, बाह्य आकर्षण र मनोरन्ञनमा भुलि निहित स्वार्थको बाटोमा हिँड्ने परिपाटी ह्वात्तै विकास भएको देखिन्छ। जसका कारण परिवारका सदस्यमा डिप्रेसनमा जाने, थला पर्ने र मृत्युलाई अङ्गाल्ले सम्मका घटनाहरू एकपछि अर्को गर्दै बढदै गएको पाईन्छ।
यस्ता घटनाले महिलाहरू स्वयं माथि पनि प्रश्न उठेका छन्। यसकारणले पनि दिनहुँ पीडामा पील्सिएका महिला दिदी बहिनीहरू ओझेलमा परेका छन्।
पुरूष बिना आफ्नो संरक्षण सम्भव छैन भन्ने कुरामा स्वयं महिलाहरू नै विश्वस्त हुनुले पनि महिलाहरू आफैंमा पछि परेको देखिन्छ।
नारी आफैंमा एक सौन्दर्य पक्कै पनि हो तर विश्व बजारले आफ्नो बस्तु बिक्री गर्ने एक साधनको रूपमा मात्र प्रयोग गरेको देखिन्छ एकातिर भने अर्कोतिर महिला आफैं पनि सुन्दर छु भन्ने पक्षमा उभ्याउनकै लागि आफ्नो गक्षभन्दा माथिका मागहरू पुरा गर्न अरूसँग हात पसार्नुले पनि महिला आफैंमा कमजोर बन्दै गइरहेको पाइन्छ।
महिलामा निहित विशेष शारीरिक बिशेषताहरू जस्तै - महिनावारी हुनु, गर्भवती हुनु, बच्चा जन्माउनु र स्तनपान गराउँनु जस्ता महत्वपूर्ण कुरालाई धेरै जसो श्रीमानलगायत घरपरिवारले बिशेष संवेदनशील अवस्थाका रूपमा नभइ महिलाको कमजोरीको रूपमा लिइनुले पनि महिलाहरू शारीरिक र मानसिक रूपमा अझ थप कमजोर बन्छन्।
यस विशेष र संवेदनशील अवस्थालाई पुरूष स्वयमले शारीरिक रूपमा पीडा बोध गर्न नमिले पनि अवस्था मनन् गरि महिलाप्रति गरिने व्यवहार परिवर्तन गर्न जरूरी देखिन्छ।
विशेष गरि ग्रामिण भेगमा सासुले बुहारीलाई एउटा कामदारको रूपमा मात्र लिने र पछिल्ला दिनहरूमा सहरी क्षेत्रमा बुहारीले सासूलाई गन्दै नगन्ने प्रवृतिले महिला-महिला बीचमा द्वन्द्व र बिभाजनको खाडल बढ्दै गएको छ ।
समाजमा पीडित महिलामा पनि सामाजिक हिसाबमा बहिष्करणमा पारिएका महिला नै अझ धेरै पीडित रहेको पाइन्छ। जातीय हिसाबमा भन्नुपर्दा ब्राम्हण क्षेत्री र मंगोल घरपरिवारका महिलाहरुको तुलनामा दलित र मधेशी समुदायका महिला दिदी बहिनी आफ्नो आवाज बोल्न नसक्ने र उत्पिडनमै जीवनयापन गर्नुपर्ने बाध्यतामा देखिन्छन्।
एकातर्फ समाजबाटै अपहेलित हुनुपर्ने र अर्कोतिर लैंगिक असमानताको ब्यवहारले दोहोरो मारमा जिवन जिउन बाध्य छन्।
अब समाज बदल्न ठूला ठूला कुरा र भाषण मात्र होईन वास्तविक रुपमा नेतृत्वमा रहेका महिला, शिक्षित महिलाहरु र आम छोरीहरु बदलिनु आवश्यक छ। जसले समाजलाई तपाईँको बदलिएको ब्यवहारका पछि पछि लाग्न बाध्य गरोस् र वास्तविक पीडामा परेकालाई न्याय दिलाउँदै समतामुलक समाज निर्माण होस्।