ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार सवारीसाधन कारवाहीमा

बिएल संवाददाता

काठमाडाै‌ं

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो। 

कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन्। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा  ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए। 

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिए। उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए। ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो।

प्रकाशित मिति: : 2020-03-10 10:45:28

प्रतिकृया दिनुहोस्