देउवाविरुद्ध उम्मेदवार बन्ने कोही बलवान छैन, उहाँ फेरि सभापति बन्नुहुन्छ: नेता मंसुर

नेपाली कांग्रेसका नेता तथा पूर्वश्रममन्त्री फरमुल्लाह मंसुरले पार्टी सभापतिमा फेरिपनि शेरबहादुर देउवा नै दोहोरिने बताएका छन्। देशभरका  कार्यक्रताहरुको साथ देउवामा रहेका कारण उनीले दाेहाेिरने उनले दावी गरेका हुन्। 

मुम्बई भ्रमणमा रहेका नेता मंसुरले बिएल नेपाली सेवाको कुराकानी गर्दै कांग्रेसको पछिल्लो परिदृश्य नै देउवामय माहोल बनिरहेको बताए। ‘देउवाविरुद्धमा सभापतिहरुको चाहाना राख्नेहरु कमजोर अवस्थामा रहेको छ। पार्टीभित्र सभापतिमा रहर गर्नेहरु टुक्रा–टुक्रा समूहमा हुनुहुन्छ, उहाँहरुबीच आफैंमा मेल छैन। मिलेर आएपनि देउवाविरुद्ध उम्मेदवार बन्ने अहिलेसम्म कुनै बलवान देखेको छैन,’ नेता मंसुरले भने। 

मधेस र पहाडबीच केही मधेसवादी नेता र ओली बिभाजित भइरहेको बेला कांग्रेसले देश र जनताको अपेक्षा अनुरुप भुमिका निर्वाह गरेको उनले दावी गरे।  ‘मधेसमा आफुलाई मधेसी दलका नेता भन्नेहरु पहाडी टोपीको अपमान गर्ने, पहाडीलाई गाली गर्ने र यो संविधान मान्दैनौं भनेर आगो लगाउने, च्यात्ने काम गरिरहेका थिए। केपी ओलीको नेतृत्वमा धोतीको अपमान गर्ने र मधेसीलाई अपमान गर्ने र उग्र पहाडीवाद नारा लिने एउटा जमात थियो। यस्तोबेला हाम्रो पार्टीले सबैलाई मूलधारमा ल्याएको थियो,’मंसुरले भने।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता कांग्रेका एजेण्डा भएको र कांग्रेसका एजेण्डा मार्फत नै संविधान जारी भएको उनको तर्क छ। पछिल्लो समय पार्टीभित्र केही नेताहरु ब्यक्तिगत स्वार्थका लागि पार्टीका एजेण्डा र आम कार्यक्रताहरुको भावना बिपरित बोल्ने गरेको नेता मंसुरले आरोप लगाए। 

ओली नेतृत्वको सरकारले आफ्नो प्रतिष्ठा जोगाउन अनावश्यक काण्डमा कांग्रेसको नाम जोड्ने गरेको बताए। मुलुकलाई कम्युनिष्टहरुको सरकारबाट नै  खतरा भएको उनले आरोप लगाए। 

प्रकाशित मिति: : 2020-03-10 02:48:35

प्रतिकृया दिनुहोस्