सारंगीसँगै रेटिएका ‘वीरबहादुर’ (भिडियोसहित)

अछुत कोपिला

काठमाडाैं

गन्धर्व–१ 

पौराणिक रुपमा गन्धर्व समुदाय मानवजाति मै विशेष सीपयुक्त मानवको रुपमा गणना भएको छ। विष्णु पुराण भन्छ, ‘कश्यप ऋषि र उनकी पत्नी अरिस्ताबाट गन्धर्वको जन्म भयो। यिनीहरुलाई कला र संगीतको विशिष्ट ज्ञान पनि प्रदान छ। गन्धर्वको मुख्यबास नै स्वर्गमा हुने गर्दथ्यो। भागवत गीतामा पनि ‘चित्ररथ’लाई प्रमुख गन्धर्व भनिएको छ। पौराणिक लामा‐गन्धर्वहरु भगवान र मानवका बीच खबर आदानप्रदान गर्दथे। 

यस्तै नेपाल एकिकरणको क्रममा समेत गन्धर्वले विशेष योगदान पुर्‍याएका छन्। बाह्य तथा आन्तरिक शत्रुको बारेमा महत्वपूर्ण जानकारी दिने ‘गुप्तचर’को कार्य गरेको इतिहासमा भेटिन्छ भने जात र वर्णको वर्गिकरण गर्ने राजा जयस्थिति मल्लको पालामा समेत गन्धर्वले देशको माटो, राष्ट्रियता बचाउने भूमिका खेलेका थिए। पछि एकिकरणको समयमा विदेशी हस्तक्षेपबाट रोक्न शासक र जनतालाई सुसूचित गरी चेतना प्रवाह गर्थे।

त्यति बेला मणिराम गन्धर्व (गायक) र हरिदेवी गन्धर्व (नृत्यकार), विसे नगर्ची (बाद्यबाधक) र काले कामी (सञ्चारविज्ञ)का रुपमा काम गरेको इतिहास पाइन्छ। उनीहरुको सूचना र जानकारीका कारण अतिक्रमण गर्न आएका विदेशीलाई तत्कालिन शासकले पराजित गरेकाे थियाे।  

नेपालका सबै खाले आन्दोलनमा गन्धर्वको संलग्नता रहँदै आएको छ। २००७ सालको परिवर्तन होस् या २०३६ सालको जनमत संग्रह, दश वर्षे जनयुद्ध र २०६२–०६३ को जनआन्दोलन–सबै परिवर्तनमा महत्वपूर्ण भूमिका रहयो, गन्धर्वको। उनीहरुको मुख्य पेसा भनेकै सांरगी रेटेर गाउँने र सूचना प्रवाह गर्ने हो।

मुख्य जीविकोपार्जनको रुपमा रहेको गन्धर्वको सारंगी अहिले लोपउन्मुख अवस्थामा छ। अहिलेका युवा पुस्ताको आकर्षणमा नपर्दा सारंगीको शास्त्रीय महत्व घट्दै गएको छ। तर जिन्दगी भरी सांरगी रेटेर जिन्दगी बिताएकाहरु भने सारंगी संरक्षण अभियानमा छन्। ती मध्येका एक हुन्, सारंगी बाधक, स्रष्टा तथा अभियन्ता वीरबहादुर गन्धर्व।

अन्धकारको भुमरीमा, बल्झियो हाम्रो जीवन।
कतै आँशु, कतै जीवन रेटियो, हाम्रो जीवन।।

प्रस्तुत गीतको हरफले भनेझैं गन्धर्वको जीवन अहिले पनि अन्धकारको भुमरीमा छ। इतिहासमा स्वर्णीम अक्षरले लेखिएको गन्धर्वको जीवन गाथा मेटिने अवस्थामा छ। दोस्रो दर्जाको नागरिकको उपमा बाकेर बस्न बाध्य छन्। पिछडिएको जातिको रुपमा देशभर छाप्रा र खरको भरमा कठोर जिन्दगी व्यथित गरिहेका छन्। 

गन्धर्वमा अहिले पनि जागरणको कमि छ। राजकीय भूमिकामा गन्धर्वको उपस्थिति निकै कम छ। जीवनको सारथी छ त केवल एउटै सारंगी। राजादेखि गणतन्त्रका राजाहरुसम्मका लागि प्रिय बन्यो सारंगी। तर त्यही सारंगी रेट्ने गन्धर्व किन अछुत र सिमान्तकृत बन्न पुगे?

यसले सारंगी र गन्धर्व प्रति हेर्ने दृष्टिकोण शास्त्रीय मुल्य र मान्यतामाथि शासकको असमान व्यवहार झल्किन्छ। त्यसैले त सारंगीको धुनसँग उनीहरुको हाँसो, आँशु, दुःख, पीडा सबै मिसिएको छ। अनि रेटिएको छ विरहको धुनमा, पुरै जिन्दगी। 

सम्पतीको नाममा हाम्रो यही सारंगी बाजा।
बच्नै छाड्यो भन्छन्, सबले गाउँघरमा आज।।

गन्धर्वको सबथोक, यही सारंगी नै हो। हिजोआज चौतारा, घर–घरमा बज्न छोडिसकेको छ। अहिले सबैको हात–हातका मोबाइलमा र्‍याप, पप अनि आधुनिक गीत बज्न थालेका छन्। तीव्र प्रविधि विकासको चेपुवामा सांरगी परेको छ। सारंगीको रेटाइमा गन्धर्वको वर्तमानको कथा–व्याथा बोल्ने सारंगी लोप हुने अवस्थामा छ। 

वीरबहादुर गन्धर्व पाँच दशकअघि दाङबाट बाँके झरेका हुन्। त्यही बेलादेखि नै बाँकेका जंगलमा रहेका गुफा, सडक पेटी, खाली चौर र नदिनालामा घुमन्ते रुपमा बस्दै आएको छ, उनको परिवार। ‘आठ वर्षको उमेरमा सारंगी बोकेर घरबाट हिडेको हुँ, बाले आँपको सारंगी बनाइदिएका थिए,’ उनी भन्छन्, ‘१६ वर्षको उमेरमा गीत गाउँदा–गाउँदै विवाह भयो। १४ वटा स्थानमा घुमन्ते रुपमा बसाईं सरे। अहिले पनि छाप्रोमै छु। थाहा छैन कुन दिन यो छाप्रो पनि खुस्किने हो।’ 

दाङबाट झरेपछि बाँकेमा पहिलोपटक सुरुमा ठुडे खोलामा बसे ४ वर्षजति। २०३२ सालमा बस्ती उठाइएपछि दुई भाई परिवार दशविगाहामा सरे। जहाँ अहिले नेपालगञ्ज मेडिकल कलेज छ। त्यतिबेला मेडिकल कलेज बनेको थिएन। २०४६ सालमा मेडिकल कलेज बनाउने भनेर उठाइयो।

उनी थप्छन्, ‘पछि बैजनाथ गाउँपालिकाको चाँदनीमा चुरा पसल खोलेर बसे। त्यहाँ पनि लामो समय बसाईं भएन। कोहलपुरको लोक नगरमा २० जनाको घरधुरी आएर बस्यौँ। केही वर्ष त्यहाँ बसेपछि पहाडिया‐पडाडी जिल्लाबाट तराईमा झरेकाहरु र हामीलाई हात्ती ल्याएर टहरामा आगजनी गरेर धपाइयो। त्यहीं रहेका थारुलाई भने केही गरेनन्।’ 

२०५२ सालमा नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रमा गीत गाए, उनले। आफ्नो जीवन यात्राको बेलिविस्तार लगाउदै वीरबहादुर भन्छन्, ‘सारंगी रेटेरै धेरै पटक गन्धर्वका मुक्तिका गीत गाउँदै आएको छु। तर हाम्रो मुक्तिको लागि कसैले गीत गाएन।  सारंगी बोकेर गाउँ–गाउँ हिडिरहने भएकोले सबैले मलाई चिन्थे। जनयुद्ध चलिरहेकै बेला हो–एक पटक गाउँमा तीन जना गीत गाइरहेका थियौँ, प्रहरीले अपहरण गरेर लग्यो। हामीसँगै एक जना बादी समुदायका युवा पनि पक्राउ परे। उनी माउ गाउँका बादी रहेछन्। प्रहरीले  माओवादी भनेर ल्याए। संयोगले त्यहाँका हाकिम मैले चिनेकाे थिए। पछि खाना खुवाएर १ हजार रुपैयाँ दिएर पठाए।’
   
मलिन स्वरमा विगत सम्झिँदै भन्छन्, ‘त्यो दिन दशैँ थियो, कोहलपुरको खुला मञ्चमा बसिरहेका थियौ। वागेश्वरीबाट भाले पूजा गरेर ल्याएका थियौं, भाले पनि पोलेर खान दिएनन्। जवरजस्ती उठाए। अरु कता कता गए, तीन जनाको परिवार फेरि त्यहीँ आयौं। फेरी निकालियौँ।’

उनले भने–‘पछि डुडुवा नाला नजिकै बस्यौं। २०७१ सालमा बाढी आएर बस्ती नै बगाइदियो। यति बेलाको जस्तो ठूला–ठूला भवन थएनन्। जमिन खाली थियो। पछि राज्यबाटै अन्याय भएको महशुस हुन थाल्यो। गीतको माध्यमबाटै राज्यको विरुद्धमा गाउन थाल्यौं।’

उनले एकचोटी तत्कालिन कोहलपुर गाविसका अध्यक्ष लुटबहादुर रावत‐हाल कोहलपुर नगरपालिकाका प्रमुखलाई भेटेर समस्या सुनाए। रावतले संविधान सभा सदस्य देवराज भारको नम्बर दिए। पछि सिडियोलाई भनेर गन्धर्वलाई स्थायी व्यवस्था नहुञ्जेलसम्म काहीँ नउठाउने भनेर निर्णय भयो। त्यसपछि मात्रै हो उनीहरुले पहिलोपटक सुखको श्वास फेर्न पाएको।    

उनी अझै आफ्नो बालापन सम्झन्। भन्छन्, ‘स्कुलको नामै देखिन, बाले सारंगी थमाइदिएर घर छोडेपछि फर्केको छैन।’ सारंगीको धुनसँगै रेटिएको छ, उनकाे जीवन। थाहा छैन अझै कति रेटिनु पर्ने हो? अजम्बरी को नै छ र? एकदिन मर्नु नै छ। सारंगी लोप भएझैं एकमुठी श्वास बाँकी छ उनकाे। त्यो पनि कहिले रोकिने हो थाहा छैन। जिन्दगी बारे बोल्दा बोल्दै बहकिएका वीरबहादुरले बेस्सरी खाेके। उनी दमका रोगी छन्, अहिले। 

‘जिन्दगीभरी बाजे र बाले सारंगी रेटेरै बिताए, मैले पनि त्यसै गरे। मैले पुख्यौली पेसा नै रोजे, सारंगी रेट्ने। गन्धर्वको जीवनयापनको मुख्य आर्यस्रोत नै सांरगी हो। १२ जनाको परिवार सांरगी रेटेरै पाल्दै आएको छु तर पछिल्लो समय सांरगी रेटेर मात्रै जीउन मुस्किल भएकाे छ,’ उनी भन्छन्, ‘हाम्रो पेसा नै लोप हुन लाग्यो। हामी समाजमा घटेको घटनाका बारेमा सूचना दिदैँ ठाउँ–ठाउँ जान्थ्यौं। अहिलेको जस्तो रेडियो, पत्रिका, फेसबुकको जमाना थिएन।त्यसैले हाम्रो आवश्यकता हुन्थ्यो।’

उनी दुःखेसो गर्छन्,‘अहिले गाउँघरमा सारंगी बोकेर डुल्ने चलन हरायो, बाँच्नै मुस्किल परिसक्यो।’ 

सारंगी रोजीरोटीको लागि मात्रै होइन सामाजिक र समसामयिक विषयमा जानकारी दिने माध्यम समेत थियो कुनैबेला। पहिला सारंगी बजाए बापत अन्न दिने गरेको सम्झिन्छन् उनी। ‘एक पाथी अन्नको दुई रुपैयाँ पर्थ्यो’ आफ्नो विगत सम्झिदै उनले भने, ‘दिनको ३० पाथीसम्म कमाई हुन्थ्यो।’

अहिले उनलाई कुनै कार्यक्रममा बोलाए रुपैयाँ दिन्छन्। कमाईं खास्सै नभएको र घरपरिवार पाल्न समेत हम्मेहम्मे परेकाे छ उनलाई। जेनतेन जीवन चलिरहेको छ। गन्धर्वलाई उपेक्षित गरे जस्तै सारंगीको प्रवर्द्धन र संरक्षणमा राज्यले चासो नदिएको उनी बताउँछन्। 

राज्यले आफ्नो मौलिकताको रक्षा गर्न नसकेको दुःखेसो छ उनलाई। उनी आफू बाँचुञ्जेल सारंगी संरक्षणमा लाग्ने बताउँछन्। उनको सक्रियतामा गाउँमा सारंगी बजाउनेको समूह पनि बनेको छ। समूहले अहिले जिल्ला स्तरमा छिटफुट हुने कार्यक्रममा सहभागिता जनाउने गर्छ।

त्यो उनीहरुको अतिरिक्त आम्दानीको स्रोत हो। सारंगी लगायतका बाजाको संरक्षण गर्ने र नयाँ पुस्तालाई सिकाउने समूहको उद्देश्य हो। आफ्नै बाँस छाप्रोमा, संग्राहालय बनाउने कुरा कम्ता चूनौतिपूर्ण छैन, उनीहरुको लागि। तर वीरबहादुर र उनको समूह लागिपरेको छ। गन्धर्वका व्यथा गीतबाटै सुनाउँछन्। 

राष्ट्रका कथा व्यथा गन्धर्वले गाउँले।
नेपाली भई नेपालमा बस्ने ठाउँ नपाउने।।

अहिले पनि छाप्रोको बाँस छ। खुला आकाश छाना, धर्ती ओछ्यान अनि सारंगीको सिरानी। जग्गा, जमिन, लालपुर्जा आफ्नो भन्नु केही छैन। छ त केवल राज्यले दिएको नागरिकता अनि पुर्खाको विरासत विरह गाउँने, सांरगी। 

प्रकाशित मिति: : 2020-03-10 06:12:00

प्रतिकृया दिनुहोस्