कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका महिलालाई दिवस मनाउन विश्व त्रासदीको अवस्था सृजना गरेको कोरोना र स्थानीय प्रशासनले गरेको बन्देजले समेत छेक्न सकेन।
‘समानताको पुस्ता, अन्त्य गरौं हिंसा विभेद र समानता’ भन्ने नाराका साथ त्रिपुरासुन्दरी नगरपालिका १ मा महिलाले आफ्नो मुक्तिको ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।
कोरानाको त्रासले कुनै पनि भेला समारोहमा नजान र ठूलो समूह जम्मा हुने गरि भेला नहुन र कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न स्थानीय प्रशासनले सूचना जारी गरे पनि महिलाले आफ्नो दिवस विभिन्न कार्यक्रमका साथ मनाएका छन्।
महिला विकास समूह त्रिपुराकोटको अगुवाईमा त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र अन्तर्गतका ग्रामिण महिलाहरू जम्मा भएर नारी दिवस मनाएका हुन्। त्रिपुरा महिला समूहकी अध्यक्ष लक्ष्मी रोकायाले महिलाहरूको अधिकार र मुक्ति प्राप्तीको लागि महत्वपूर्ण दिन भएकाले पनि जस्तोसुकै पस्थितिमा पनि आफ्नो दिवस मनाउन पछि हट्नु नहुने बताइन्।
नगर क्षेत्रका ग्रामिण भेगबाट आएका महलिाहरूले महिला अधिकार प्राप्तीका लागि लड्नुपर्ने सन्देशमुलक गीत तथा नृत्यका साथै स्थानीय संस्कृति झल्काउने विविधि कार्यक्रमहरू प्रस्तुत गरेका थिए।
त्रिपुराकोट बगरस्थित मदरल्याण्ड फोक्सुण्डो स्कुलमा आयोजना गरिएको कार्यक्रममा सरकारी तथा ग्रैरसरकारी कार्यालयका पुरुष कर्मचारीको उपस्थिति शून्य रहे पनि महिलाको उपस्तिथि बाक्लो रहेको थियो।