मानव बेचबिखनका अभियुक्त कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक अभियुक्त जिल्ला अदालत मोरङले मागेको धरौटी वापतको रकम बुझाउन नसक्दा कारागार चलान भएका छन्। 

ललाईफकाई वैदेशिक रोजगारीको प्रलोभनमा परेर नेपाली युवतीलाई प्रतिबन्धित मुलुक कुवेत पुर्‍याउने योजनाअनुसार मानव तस्करी गर्ने गिरोहलाई सहयोग पुर्‍याएका विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मी बिहीबार साँझ कारागार चलान भएका हुन्। उनीविरुद्ध चलाइएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले चार लाख रुपैयाँ धरौटी माग गरेको थियो। 

इजलासले धरौटीमा छाड्न आदेश दिएपछि त्यो वापतको रकम बुझाउन नसकेका कारण कुर्मीलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बताए।

भारतको नयाँ दिल्ली हुँदै अवैध बाटोबाट कुवेत पुर्‍याउन लागिएका दुई युवतीलाई जोगवनीतिर लिएर जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले माघ २२ गते दिउँसो विराटनगर भन्सार कार्यालयको २ नम्बार टाढबाट पक्राउ गरेको थियो। आफन्त नेपाल नामक संस्थासँग समन्वय गर्दै प्रहरीले सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया युवतीको उद्धार पनि गरिएको थियो।

नेपाली महिलालाई श्रममा लगाउनका लागि कुवेत लैजान प्रतिबन्ध लगाइएको छ। 

दुवै युवतीलाई सिन्धुपाल्चोकका अर्जुन तामाङ र विराटनगर महानगरपालिका–५ का राजुप्रसाद रिजालबीचको योजना र ‘सेटिङ’मा जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली हुँदै कुवेत पुर्‍याउने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यही योजना अनुसार कुर्मीले दुवै युवतीलाई जोगवनीसम्म पुर्‍याउने जिम्मा लिएका थिए। युवतीलाई जोगवनी लिएर जाँदै गर्दा उनी पक्राउ परे। 

उद्धार गरिएका युवतीहरुले वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर तामाङ, रिजाल र कुर्मीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। उनीहरु विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलायो। मुख्य अभियुक्त तामाङ र रिजाल भने फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।

‘तामाङ र रिजाल मानव तस्करी गर्ने गिरोह भएको अनुसन्धानबाट पत्ता लागेको छ,’ उनले भने, ‘कुर्मीले भने उनीहरुको योजनामा सहयोग पुर्‍याएको देखिन्छ।’ 

प्रहरीका अनुसार मानव तस्करी गर्ने गिरोहले पारिवारिक आर्थिक अवस्था कमजोर भएका युवतीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर प्रतिबन्धित मुलुक कटाउने गरेको खुलेको छ। अनुसन्धानबाट सम्बन्धीत ठाउँमा पुर्‍याएपछि गिरोहले कमिसन पाउने गरेको पुष्टि भएको जानकारी थापाले दिए। 
 

प्रकाशित मिति: : 2020-03-07 06:00:03

प्रतिकृया दिनुहोस्