तीन जना प्रहरी अधिकृतका हत्या सहयोगीलाई मृत्युदण्ड

एजेन्सी

काठमाडाै‌ं

अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा तीन जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ। 

स्थानीय अधिकारीहरुका अनुसार एटमोर कारागारमा थुनामा रहेका अभियुक्त ४३ वर्षीय नाथानिल उड्सलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ। मानव अधिकार समूहहरुले नाथानिल स्वयमले प्रहरी अधिकृतको हत्या नगरेका कारण मृत्युदण्ड दिइनु अन्यायपूर्ण भएको अन्तिमसम्म जिकिर गरेका थिए।

अलाबामा राज्यमा यस वर्ष नाथानिललाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। 

अलाबामा राज्यका सरकारी वकीलहरुले प्रहरी अधिकृतहरुको हत्यामा नाथानिल सक्रियतापूर्वक सहभागी भएको बताएका थिए। अमेरिकी सर्वोच्च अदालतले अन्तिम पटक नाथानिलको अपिललाई स्वीकार गरे पनि मृत्युदण्डको सजाय हुनबाट रोक्न सकेन। अलाबामाका गभर्नर के आइभीले पनि माफी दिन अस्वीकार गरेका थिए। 

उड्स र अर्का व्यक्ति केरी स्पेन्सरमाथि व्यक्ति हत्याको आरोप लागेको थियो। उनीहरु दुबैलाई मृत्युदण्ड दिने गरी अदालतबाट फैसला भइसकेको छ। यी दुई व्यक्तिले सन् २००४ मा बर्मिङघाममा खटिएका तीन जना प्रहरी अधिकृतको गोली हानी हत्या गरेका थिए। लागूपदार्थ लुकाएको आशंकामा एक घरमा छापा मार्नेक्रममा प्रहरी अधिकृतहरु कार्लोस ओवेन, हार्ले चिसोल्म र चाल्र्स बेनेटको हत्या भएको थियो।

सरकारी वकिलहरुले स्पेन्सरले प्रहरी अधिकृतहरुमाथि गोली चलाएको बताएका छन्। यस घटनामा नाथानिलले सहयोगीको भूमिका निर्वाह गरेका थिए। 

हत्याका मुख्य आरोपी स्पेन्सरले उड्स शतप्रतिशत निर्दोश रहेको बताएका छन्। स्पेन्सरलाई पनि मृत्युदण्डको सजाय भइसकेको छ, तर मृत्युदण्डको मिति तोकिएको छैन।

प्रकाशित मिति: : 2020-03-07 03:57:12

प्रतिकृया दिनुहोस्