काेराेनाकाे त्रास: इरानले आवत जावत सीमित गर्‍याे

एजेन्सी

काठमाडाै‌ं

कोभिड–नाइन्टिन अर्थात कोरोनाको सङ्क्रमण बढ्ने क्रम तीव्र बनेपछि इरानले देशभित्रको आवात जावात सीमित गरेको छ।

 इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट एक सय सात जनाको ज्यान गइसकेको छ। उसले एक महिनाका लागि सबै विद्यालयमा बिदा दिइसकेको छ।

यता भारतको राजधानी दिल्लीका सबै प्राथामिक विद्यालय मार्च महिनाभरिका लागि बन्द गरिएका छन् भने विद्युतीय हाजिरीमा प्रतिबन्ध लगाइएको छ।

यस्तै अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ। यसअघि वाशिङ्टनमा आपत्काल घोषणा गरिएको थियो।

कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहँदा चीनबाहिर भने सङ्क्रमण तीव्र बनेको छ। कोरोना भाइरसको कारण अहिलेसम्म साढे ३३ सयभन्दा धेरैको ज्यान गएको छ भने ९८ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ।

दक्षिण कोरियामा ४० जनाको ज्यान जानुको साथै ६ हजारभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ।

जापानमा ६ जनाको ज्यान जानुको साथै तीन सय ६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ। तर जापानमा लक्षण देखिएका सबैको परीक्षण नभएको समाचार संस्था सीएनएनले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-06 20:09:18

प्रतिकृया दिनुहोस्