साताको सुरुकै दिन प्रचण्डको साइत खराब भयो। कम्युनिष्टलाई के को साइत? भन्नुहोला। भैंसी पूजा गर्ने र मन्दिरमा गएर ठूल्ठूला टीका लगाउनेसँग साइत हुन्छ नै। उनको त्यही साइत जुम्ला सिंजा घोडेङ्गाका रतन तिरुवाले खराब गरे।
तिरुवाले नेपालको शक्तिशाली सत्ताधारी पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गरे। नेकपा मात्रै के भन्नु नेकपा डबलका अध्यक्षलाई जुत्ता प्रहार गरे। यद्यपि तिरुवाले हानेको जुत्ता प्रचण्डलाई लागेन।
प्रचण्ड राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा सम्बोधन गरेर आफ्नो सिटमा फर्किदै गर्दा तिरुवाले जुत्ता प्रहार गरेका थिए। त्यसलगत्तै यो समाचार देशभर छ्यापछ्याप्ती भयो। मिडिया तात्यो। अहिले त सेलाई पनि सक्यो।
नेपाली राजनीतिका हर्ताकर्ताहरु यसरी घृणाको पात्र बनि अपमानित हुनुपरेको यो नौलो र पहिलो घटना पटक्कै होइन। प्रचण्ड आफ्नै लागि त झन् पहिलो होइन। उनी मात्र नभएर नेपालका अरु नेताहरुले पनि यस्ता व्यवहार भोगिसकेका छन्।
नेपालमा तत्कालिन एमाले नेता झलनाथ खनाललाई सुनसरीमा देवीप्रसाद रेग्मीले चट्कन हाने। त्यस्तै काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा प्रचण्डलाई पदम कुँवरले थप्पड हाने। तत्कालिन माओवादी नेता झक्कु सुवेदीलाई पनि जुत्ता हानिएको समाचार सम्प्रेषण भएको थियो।
नेपालमा कम्युनिष्ट नेताहरु मात्र होइन कांग्रेस नेताहरु पनि अपमानित भएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेललाई एमालेका सांसद गोल्छे सार्कीले थप्पड हानेका थिए। सार्की पछि राजाका मन्त्री पनि बने। त्यस्तै २०७४ मा भएको निर्वाचनको प्रचारका क्रममा कांग्रेस नेता रामशरण महतमाथि बोतल प्रहार भएको थियो।
तर, यसअघि नेतालाई थप्पडदेखि जुत्ता हान्नेको नाम, थर, रंग र जातलाई लिएर प्रश्न उठेको थिएन। यसपटक भने प्रचण्डलाई जुत्ता हान्ने रतनको ‘जात’लाई लिएर फरक संकथन निर्माण गर्न खोजिएको छ। केही माओवादी कार्यकर्ता तथा उनका छोराले सामाजिक संजालमै लेखेका छन्, ‘कठै दलित। त्यसै दलित भएको हो र ? आफ्नै ढंगले।’ यसरी सामाजिक संजालको भित्ता रंगिने क्रम घटेको छैन। केहीले लेखेका छन्, ‘ओटालाको डिल नदेखेकाले गुफा देखेपछि कुकुरलाई घिउ नपचेको जस्तै हो। आज अधिकारको दुरुपयोग गर्दै मागी खाने तिरुवाको व्यवहार देखाए। हिजोेका के हुन थाहा छैन। अहिलेका दलित रतनले।’
तिरुवाले प्रचण्डमाथि गरेको जुत्ता प्रहारलाई धेरैले स्याबासी दिए पनि यसलाई सही मान्न सकिदैन। यद्यपि जुत्ता प्रहार नेपाली राजनीतिले निर्माण गरेको सामाजिक मनोविज्ञानको प्रतिक्रियात्मक संकेत हो। जो स्वाभाविक नै हुन आउँछ। तर, तिरुवाको जातलाई लिएर पूर्वमाओवादी कार्यकर्ताको उफ्राइलाई के भन्ने ? के प्रचण्डले बोकेको राजनीतिक दर्शनले निर्माण गर्ने समाज यस्तै हो ? वा मार्क्सवादको व्यवहारिक प्रयोग कसैको जातलाई लिएर होच्याउनु हो? तिरुवा जस्ता प्रचण्डलाई जुत्ता र झापड हान्नेहरु यो समाजमा जन्मिरहनुका पछाडि जात हो कि खराब राजनीति ? वा सामाजिकिकरण प्रक्रिया ? खराब राजनीतिक संस्कारको निर्माणकर्ता को हुन्?
युद्धमा इमानदारीपूर्वक लडेको र खुलेर जनयुद्धलाई सहयोग र समर्थन गर्दा कुनै जात विशेषको मान्छे दलित थिएन। मजदुर र किसानहरु आफ्नो पेट आधा बाँकि राखेर माओवादीलाई खुवाउँदा पनि दलित थिएनन्। तर, झापड हान्दा चाहिँ दलित भए। उनीहरुको विगत कोट्याएर होच्याइयो। जनयुद्ध पछि गठित सत्ताबाट लाभ लिने तथाकथित माथिल्लो जातका मात्रै हुँदा निर्माण भएको मनोविज्ञानले प्रचण्ड त के उनले पुज्ने भगवान्लाई समेत कसैले छोड्दैन। देशमा कुनै घटना घट्नेवित्तिकै कित्ताकाट सुरु हुन्छ। त्यो अहिलेको नेकपामा सबैभन्दा बढी देखिन्छ। यसलाई दुई तिहाईको दम्भ भन्दा फरक नपर्ला।
यतिबेला सबैभन्दा बढी उफ्रेका माओवादीका चैतेहरु हुन। चैते मतलब युद्ध नलडेका तर अवसरको लागि माओवादीका बुइ चढेका। उनीहरुले तिरुवाको मानसिक सन्तुलन गुमेको लगायतका टिप्पणी गरेका छन्। उनको मानसिक सन्तुलनबारे बोल्नेहरुमा सांसददेखि झोले र चैतेहरुसम्म सबै छन्।
यस सम्बन्धमा नेकपा जुम्लाले विज्ञप्ति निकालेर औपचारिक रुपमै बोलेको छ। विज्ञप्तिमा, महान तथा गौरव शाली पार्टी (नेकपा) का अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा आज जे जति राजनीतिक उपलब्धी र परिर्वतन भएका छन्, यी सबै आदरणीय अध्यक्ष कमरेडको नेतृत्व र सही निर्णयबाट मात्र सम्भव भएको भन्दै तिरुवा शहीद परिवारको नभएको स्पष्टीकरण दिइएको छ।
नेकपा जुम्लाका अध्यक्ष वीर बहादुर कुँवर प्रश्न गर्दै भन्छन्, ‘२२ वर्षे रतन कसरी पूर्वलडाकु हुन सक्छ? रतनका बाबु भारतमा मरेका हुन। शहीद होइनन्। रविकिरण तत्कालीन माओवादीको जिल्ला कमिटीमा हुँदा नक्कली कागज बनाएर शहीदको सूचीमा राखेको देखिन्छ।’
यही विषयलाई लिएर सासंद गजेन्द्रबहादुर महत पनि बोलेका छन्। उनले एक टेलिभिजन अन्तर्वार्तामा रतनका बाबु इन्डियामा मरेको, आमाले अर्को बिहे गरेको, नक्कली कागजात मिलाएर शहीद परिवारको नाममा १० लाख रुपियाँ खाएको जस्तो कुरा निकालेका छन्। तर नेकपा भित्रका पनि पूर्व माओवादी नेताहरुले शहीदको नक्कली कागजातको कुरा उठाएका छन्। जुन ‘......... गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै छ।
यसले नेपालको सत्तामा हुनेहरु कतिसम्म गिरेर जालसाजी गर्दा रहेछन् भन्ने अनुपम नमुनालाई उजागर गरेको छ। कुनैबेला भोट पाइन्छ भनेर नागरिकतालाई फिलिम हलको टिकट जस्तो बनाउने सत्ता, मरेका मान्छेलाई जिउँदा र जिउँदालाई मरेका बनाएर भत्ता बाँढ्ने काममा पनि पछि परेन। त्यही सत्ताले तिरुवाका बुवालाई नक्कली शहीद बनाउन जुम्लाका पूर्वमाओवादीको सानोतिनो सत्ता नै लाग्यो। सत्ता र शक्ति दुरुपयोगको योभन्दा बढी कुरुपता देख्न परोस् भनेर कसैले कामना गर्दैन।
माओवादीहरुले हिजोको कृत्य आज खोलेका छन्। आज पोल खोल्नेहरुले उतिबेला थाहा पाएका थिएनन् र ? त्यतिबेला किन बोलिएन ? किन पोल खोलिएन ? सिंगो पार्टी र नेताको मानसिक सन्तुलन कहाँ छ थाहा नपाउने अनि जुत्ता हान्ने तिरुवालाई जातको आधारमा मानसिक सन्तुलनको प्रश्न उठाउने?
अति गरे खति हुन्छ। यसले नेकपा भन्ने पार्टीकै मानसिक सन्तुलनको कुरा उठ्छ। नेकपा डबल एक हुँदा मानसिक मिलन कहाँनेर भएको छ ? पूर्व माओवादीलाई पर्दा पूर्वएमाले बोल्दैनन् अनि पूर्वएमालेलाई पर्दा माओवादी एक शब्द खर्चिदैनन्। के यो सही मानसिकताको उपज हो?
प्रचण्डलाई एमालले ढाल्दा, ओलीलाई प्रचण्डले ढालेर कांग्रेसको बुइ चड्दा, शेर बहादुरलाई धोका दिएर फेरि ओलीसँग मिल्दा, के नेपाली राजनीतिको मानसिकता ठीक थियो ? सामाजिकीकरण प्रक्रियाले नै समाजको आनिबानीमा प्रभाव पारेको हुन्छ। यसले तिरुवाको जस्तै मानसिकताको निर्माण गर्छ। समग्रमा यो समाज र देशको गोरेटो नै गलत बन्छ भन्ने थाहा नपाएर तिरुवाका जात जोडाएर मुद्दा किनारा लगाउनु कहाँसम्म न्यायोचित हुन्छ?
प्रचण्डले पहिलो पटक थप्पड खाँदा नै महसुस गरेका हुँदा हुन, सायद। त्यतिबेला उनले जनताका सामु गरिएका वाचा पूरा नगरे जनआक्रोश झनै बढ्ने प्रतिक्रिया दिएका थिए। महसुस गरेपनि ‘भाडमा जाय जनता’ गरेपछि यो क्रम फेरिपनि नदोहोरिएला भन्न सकिदैन।
देशमा जे जति राजनीतिक उपलब्धी र परिर्वतन भए ती सबै आदरणीय अध्यक्ष कमरेड प्रचण्डको नेतृत्व र सही निर्णयबाट मात्र सम्भव भएको सोह्रैआना सत्य हो भने ती महान नेताले किन खाइरहनु पर्यो त झापड ?, प्रश्न यो पनि त होला नि।