इड्लिब मामिलामा टर्कीलाई सघाउन अमेरिका तयार

एजेन्सी

काठमाडाै‌ं

सिरियाको उत्तरपश्चिम प्रान्त इड्लिबमा टर्कीले गर्ने सैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिकाले आवश्यक हातहतियार उपलब्ध गराउने तयारी गरेको छ । 

सिरिया मामिलासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले मङ्गलबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘टर्की नेटोको सदस्य राष्ट्र हो । टर्कीका अधिकांश सैनिकले अमेरिकी हातहतियारको प्रयोग गरिरहेका छन् । हामीले ती हातहतियार तयारी अवस्थामा रहेको र प्रयोगयोग्य रहेको पनि सुनिश्चित गर्नु पर्दछ ।’

यसबाहेक, टर्कीका लागि अमेरिकी राजदूत डेभिड स्याटरफिल्डले संवाददाताहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले जमिनबाट हावामा आक्रमण गर्न सक्ने प्याट्रिओट क्षेप्यास्त्रका लागि टर्कीले गरिरहेको अनुरोधमाथि विचार गरिरहेको बताए। 

सिरियाको इड्लिब प्रान्तमा पछिल्लो केही समयदेखि भिषण युद्ध जारी छ । इड्लिब प्रान्त टर्कीसँग सीमा जोडिएको क्षेत्र हो । 

राष्ट्रपति बसार अल असाद नेतृत्वको सिरियाली सरकारले इस्लामिक लडाकूले आश्रय लिएर बसेको इड्लिबमा केही समयदेखि हवाई तथा स्थल सैन्य कारबाही जारी राखेको छ । यो प्रान्त विद्रोहीहरु रहेको सिरियाको सबैभन्दा बलियो अखडा हो । 

सिरियाली सेनाले गरेको हवाई कारबाहीमा हालैमात्र ५० जनाभन्दा बढी टर्कीका सैनिकको मृत्यु भइसकेको छ । प्रत्युत्तरमा टर्कीले सिरियाका धेरैवटा लडाकू विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । 

पछिल्लो भिडन्तले टर्की, सिरियाली सरकार र रसियाबीच गम्भीर मतभिन्नता उत्पन्न गराएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा पूर्व निर्धारित सीमारेखाभन्दा भित्र सिरियाली सेना प्रवेश गरे टर्कीले सिरियाली सेनाविरुद्ध नै कारबाही गर्ने चेतावनी दिएका छन्। 

सिरियाली सरकारले भने टर्की र संयुक्तराज्य अमेरिकाले सिरियाको इडलिबमा रहेका विद्रोही लडाकूलाई सुरक्षा दिइरहेको आरोप लगाएको छ । 

प्रकाशित मिति: : 2020-03-05 05:29:41

प्रतिकृया दिनुहोस्