‘किसुनजी’ : न नेपाललाई सिंगापुर बनाउने घोषणा गरे, नत ठूलो काम गरेको दाबी नै गरे
नयाँ वानेश्वरको एउटा पान पसलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फोटो टाँसिएको छ। कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ यहाँ पान खान पुग्थे। किशुनजीले खाने गरेको पान र उनले बोक्ने गरेको सुराही उनको जीवन र राजनीतिको परिचायक बन्यो। उनले न नेपाललाई सिंगापुर बनाउने घोषणा गरे न त आफ्नो कार्यकालमा ठूलो काम गरेको दाबी नै गरे, बस् .. कर्म गरे।
यो लेख उनको अर्थहीन गुणगान गाउन लेखिएको होइन। यो लेख्न पंक्तिकार किन बाध्य भयो भन्दा, लोकतन्त्रका लागि किशुनजी जुन पार्टीमा रहेर लडे, त्यो पार्टी अहिले इतिहासमै निरीह कुहिराको कागझैँ किंकर्तव्यविमुढ देखिएको छ।
राजनीतिक पार्टीको साख उसँग कतिजना सांसद छन्, कुन नम्बरको पार्टी हो भन्ने कुरामा निर्भर गर्दैन। पार्टीले सत्ता र विपक्षमा रहँदा गरेका असल कर्ममा नै मूलतः त्यो आधारित हुन्छ।
नेपाली कांग्रेस अहिले विपक्षी पार्टी हो। देशमा दुई तिहाइ बहुमत पाएको साम्यवादी सरकार छ। राष्ट्रवाद र समृद्धिको नारा दिएर आएको सरकारले एउटा बायनेरि निर्माण गरेको छ कि ‘तिमी मेरो साथ छौ कि विरोधमा?’ यस्तो अवस्थामा एक प्रकारको भय सिर्जना हुनु स्वाभाविक हो।
लोकतन्त्रमा ‘डिसेन्ट’ अर्थात असहमतिको दमन गर्नुलाई भने असल संकेत मान्न सकिन्नँ। किसुनजी लोकतन्त्रका सिपाही थिए। अहिलेको राजीनितिक माहोलले उनी र उनिजस्ता योद्वाहरूको त्यागलाई अवमूल्यन गरेको छ।
अहिलेको सरकारलगायत विगतका सरकार विशेषगरी कांग्रेसी सरकारले कुनै आममान्छेको जीवन उठाउने खासै उल्लेखनीय कुनै काम नगरेको सत्य कसैसँग लुकेको छैन। तर लोकतन्त्रमा बहस र वाक स्वतन्त्रता अभिन्न हुन्छ।
कांग्रेसको अनेक अवगुणका बाबजुद यसको जग र चरित्र लोकतन्त्र हो। यसको आत्मा लोकतन्त्र हो। आफ्नो चरित्र र पहिचान बचाउन कुनै कारगर भूमिका नखेल्नु कांग्रेसीजनको अकर्मन्यता हो।
प्रोफेसर अमर्त्य सेनले भनेका छन्, ‘लोकतन्त्र चुनावी प्रणाली मात्र होइन यो सार्वजनिक तर्क ‘पब्लिक रिजनिङ’ हो। ‘पब्लिक रिजनिङ’ भए मात्र देश कार्यात्मक लोकतन्त्र हुन्छ, यसका लागि सामाजिक र आर्थिक स्पष्टता हुन आवश्यक हुन्छ। यो स्पष्टता किसुनजीमा थियो।
बोलिको दमन गर्नु हुँदैन भन्ने पंक्तिकारले किसुनजीबाट सिकेको हो। त्यो दिन अहिले पनि मेरो मानसपटलमा ताजै छ। सरकारले किसुनजीका लागि बनाइदिएको आश्रममा किसुनजी सर्ने दिन थियो, म अन्तर्वार्ता लिन पुगेको थिएँ।
किशुनजीको सयनकक्ष अति साधारण थियो। कहाँबाट शुरु गर्ने भन्नेमा म अन्योलमा थिएँ। तर, स्टोरी बनाउन मलाई दश मिनेटको फुटेज चाहिन्छ भन्ने सोच बनाइसकेको थिएँ। जसलाई मध्यनजर गर्दै किशुनजीका हरेक क्षणलाई म क्यामेरामा कैद गरिरहेको थिएँ, तर कैद भएका दृश्यदेखि खुशी लागिरहेको थिएन।
किशुनजी यस्तो ठाऊँमा बस्नुभएको थियो जहाँ ब्याकलाइट काट्नै नमिल्ने। सयन कक्षको झ्यालको पर्दा सेतो, बेडकभर सेतो, यहाँसम्म कि कपाल र पहिरनसमेत सेतो। क्यामेराम्यानका लागि योभन्दा असहज अरु के हुनसक्थ्यो ?
बोलिहालेँ, ‘किशुनजी बसेको ठाउँबाट अर्को ठाउँमा सर्नुपर्यो।’ उहाँले सुने-नसुनेझैँ गर्नुभयो। मैले पुन: दोहोर्याएँ। मतिर हेर्दै किशुनजीले जे भन्नुभयो जुन शब्द अहिले पनि आजभोलि जस्तै लाग्छ। किशुनजीको मुखबाट निस्केको शब्द साँच्चै मेरो शिकारु पत्रकारिता जीवनका लागि अनमोल थियो। किशुनजीकै शब्दमा… ‘यो मु… पनि म जस्तो बुढो मान्छेलाई घड़ी यता घडी उता सर भन्छ।…’
किशुनजीको यो शब्दले माहोल केही समय सुनसान पक्कै भयो, तर म निराश भइनँ, बरू गर्व महसुस गरेँ। शिक्षा प्राप्त गरेँ। पत्रकारले बोल्दा र लेख्दा साँच्चै मानवीय सम्वेदना बुझ्नुपर्छ, विचार पुर्याएर विवेकको प्रयोग गर्नु पर्दोरहेछ। उहाँले मलाई अन्तर्वार्ता नदिएर पठाउन सक्नुहुन्थ्यो। मलाई बोल्न दिनुभो र आफू पनि बोल्नुभो। मेरो आग्रहको कदर पनि गर्नुभो, मलाई लोकतन्त्रको मर्म एक सेकेण्डमै सम्झाइदिनु’भो। मैले पछि मात्र थाहा पाएँ कम्युनिस्ट पार्टी अफ सोभियत युनियनका महासचिव निकिता ख्रुस्चेवसँग अन्तर्वार्ता लिने विदेशी पत्रकारमध्ये उनी एक थिए। यो अन्तरवार्ता मात्र थिएन, बोलीबिना खुला समाज हुँदैन भन्ने सन्देश थियो, जो किसुनजी जस्ता कर्मयोगीले आफनै शैलीमा दिए।
‘बोल्दैमा पेट भरिन्नँ, के गर्ने वाक स्वन्त्रन्ताले ?’ भन्ने गरेको मैले धेरै ठाउँमा सुनेको छु। यो सत्य हो र घोर असत्य पनि। हो, वाक स्वन्त्रताले पेट भरिन्नँ। तर, यसले नै मानवलाई मानवको पहिचान दिलाउँछ। ‘स्थायी सरकारले विकास दिन्छ भन्ने थेगो’लाई पञ्चायतकालले शानदार तरिकाले गलत सावित गरेको इतिहास कसैबाट लुकेको छैन। जनताको बोल्ने स्वन्त्रतामाथि बन्देज लगाएर कथित रुपमा विकसित र शक्तिशाली कहलाएका देशले अधोगमनको बाटोमा हिँडेको हामीले छिटै देख्ने छौँ। न्याय र स्वतन्त्रता बिनाको विकाश अविकाश हुन्छ। कुरा समयको मात्र हो।
किसुनजीको स्पष्टताकै कारण होला उनले गुटबन्दी र पार्टीभित्रको अस्वस्थ प्रतिष्पर्धा देखेर फेरि प्रधानमन्त्री बन्ने इच्छा राखेनन्। राजनीतिज्ञले पद पाउने लालसा जब राख्दैन उ सबभन्दा शक्तिशाली हुन्छ, नैतिक रुपमा। किसुनजी ले एउटा मिसाल कायम गरिदिए। तर न उनको पार्टी, न देशका कुनै अन्य नेताले यो बुझे।
किसुनजीलाई स्मरण गर्दैगर्दा, उनका केही आदर्श मूल्य र जीवनपद्धतिलाई नेपाली कांग्रेसले आत्मसात गर्न सके लोकतन्त्र संस्थागत हुने थियो। कांग्रेसको नैतिक जित हुने थियो। आजको यस दिनमा कांग्रेसले बुझ्नु र बुझाउनुपर्ने केही साधरण कुरा छन्-
* सबभन्दा पहिले आफुलाई, त्यसपछि परिवार अनि समाजलाई लोकतान्त्रिक बनाउने,
* बीपीको समाजवादको राग अलाप्ने होइन कि त्यसलाई मनन गरेर कार्यकर्तालाई प्रशिक्षित गर्ने,
* पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने,
* जेलजीवनलाई पदप्राप्तिको सिँढी नबनाउने,
* क्रान्तिकारी त्यो हो जो अर्काका लागि ज्यान दिन्छ, नकि ज्यान लिन्छ भन्ने बुझ्ने र बुझाउने,
* गरिब कमजोर र पीडितका लागि नीति बनाउँदा कम्युनिस्ट भइँदैन भन्ने बुझ्ने,
माथि उल्लेखित अति साधारण कुरा मनन गरिएमा नेपाल सही अर्थमा कार्यात्मक लोकतन्त्र ‘फंक्सनल डेमोक्र्यासी’ हुनेछ।
अन्तमा, पंक्तिकारको दुईपैसे सुझाव, बानेश्वरको पान पसलमा गई किसुनजीको तस्बिर हेर्नुहोला। पान खाने या नखाने तपाईँको इच्छा। सुन्न सक्नुभयो भने, किसुनजीको तस्बिरले यही कुरा भन्ने छ- ‘खाइके पान बानेश्वरवाला खुल् जाए बन्द अकलका ताला....!’
हामी सबैको अकल खुलोस्, किसुनजीलाई कोटी-कोटी प्रणाम!!