पूर्वडीआइजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म‌ंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक तथा पूर्वडिआइजी शाह, लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरुको २०७२ माघ र फागुनको तलव भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

त्यस्तै २०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थिए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर दुई दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। यसरी जम्मा ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको छ। शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाएको आरोप अख्तियारको छ।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलवरभत्ता खान पाउने गरी सरुवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेले मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा शाहकै कामलाई सहयोग गरेर रकम हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन्। शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो। 


 

प्रकाशित मिति: : 2020-03-04 07:43:53

प्रतिकृया दिनुहोस्