छोराको उपचारका लागि हाड घोटिरहेकी ८० वर्षीया वृद्धा ...... (भिडियो)

दुई दिदी र एक दाजुको प्यारी बहिनी बालकुमारीलाई बाल्यकालमा कुनै कुराको कमि थिएन।

बुवाको निधनसँगै उनीमाथि ठूलो बज्रपात पर्यो। दुबै दिदीको विवाह भयो।दाजु परदेश तिर लागे। घरको सम्पूर्ण काम धनकुमारीको थाप्लोमा आइलाग्यो। स्कुल जाने कलिलो उमेरमै बालकुमारी धनकुमार कार्कीसँग विवाह बन्धनमा बाँधिइन्।

१२ वर्षको कलिलै उमेरमा पराईघर गएकी उनलाई घरमा विभिन्न बहानामा नराम्रो मान्न थाले। ‘कहिले कुन कुरामा त कहिले कुन कुरामा सासु ससुराले सधै  नराम्रो मात्रै गर्नुहुन्थ्यो’, धनकुमारीले बिएल नेपालीसँग कुरा गर्दै आफ्नो विगत खोतलिन्। घरधन्दाबारे माइतमा केही नसिकेकी उनलाई पराईघरमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो।

‘घरका काम गर्न नजान्दा सासु ससुराले यो प्याकुरेलको छोरीले त केही पनि सिकेको रहेनछ, बा आमाले पनि केही सिकाएनन् कि क्या हो, भन्दै गाली गर्नु हुन्थ्यो,’ उनले भनिन्,‘मलाई त गाली गर्नुहुन्थ्यो गर्नुहुन्थ्यो मेरा बुवा आमाको समेत बेइज्जत सहनुपरेको थियो।’

८० वसन्त पार चाउरि परेका गाला अनि अनिँदा आँखाले हरेक बिहान४ बजे देखि ९ बजेसम्म बसन्तपुर परिसरमा घुम्न आएका यात्रुमा गएर ठोकिन्छ। १९९६ सालमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा जन्मिएकी उनी सानैमा बिहे गरि १५ वर्षको उमेरमै आमा बनिन्। पहिलो पटक सुत्केरी हुँदा घरमा पर्याप्त अन्न थिएन।

‘धेरै भोक लाग्थ्यो गाउँमा धान पनि राम्राेसँग फल्दैन थियो।बारीमा गएर हरियो मकै खान्थेँ’,उनले भनिन्,‘धेरै दिनसम्म यसरीनै सुत्केरी हुँदा भोक मेटाएको थिएँ।’ 

६ सन्तानकी आमा उनका तीन जना छोरा र तीन जना छोरी छन्। जसमध्ये कान्छो छोरा र कान्छी छोरी काठमाडौंमा बस्छन् बाँकी सिन्धुपाल्चोकमै आ-आफ्नो गरेर खाएका छन्।

आर्थिक अभावमा पिल्सिएकी उनले  टाढाको स्कुल भएर कुनै पनि सन्तानलाई भने जस्तो शिक्षा दिक्षा दिन सकिनन्। छोराछोरी ठूला हुँदै गएपछि उनले सबैको बिवाह गरिदिइन्। 

उनको जीवनमा दुःख सुख चल्दै थियो। यसैबीच माइलोछोराको मानसिक सन्तुलन गुम्यो। जथाभावी जे पनि बोल्न र गर्न थाले। सोही बेला उनले पति वियोगको सामना समेत खेप्नुपर्याे।

चालिस वर्षकै उमेरमा उनले पति गुमाउँदा धेरै दुःख भोगिन्। ‘नहुने बेलामा त  छाँयाले नि पोल्छ’ भने जस्तो उनलाई भयो।  एकल महिला देखेर गाउँमा समेत उनलाई सबैले छि छि र दुर दुर गर्न थाले।‘कतै जादा अलाछिनी आईमाई आई बाटो नपर्ने भयो भन्दै थुक्न थाले’, उनले भनिन्,‘यति मात्र कहाँ हो र गाउँका केही पुरूषले समेत नराम्रो नजरले हेर्न थाले। त्यसपछि म ठूली छोरीको घरमा गएर बस्न थालेँ।’

मानसिक सन्तुलन गुमाएका छोरालाई कसैले हेरेनन्। उनले छोराको उपचारको लागि हजार प्रयास गरिन्। तर कसले उनको कुरा सुन्थ्यो र।उनलाई जसरी पनि छोरालाई ठिक गर्नु थियो। त्यसको लागि उनले काठमाडौं गएर केही गर्ने निधो गरिन्। र छोरालाई छोरीकै जिम्मा लगाइन्।

काठमाडौंमा पनि कहाँ भनेजस्तो काम पाइन्थ्यो र। उनले निकै ठाउँ भौतारिन्। अन्त्यमा बसन्तपुर परिसरमा परेवालाई चारो बेच्न थालिन्। विगत १२ वर्षदेखि बसन्तपुर दरबार परिसरमा उनी परेवालाई दाना बेच्ने काम गर्दै छोराको उपचार खर्च जुटाइरहेकी छन्।

‘बिहान ४ बजेदेखि नौ बजे सम्म बसन्तपुर दरबार परिसरमा परेवाका लागिदाना बेच्छु। दिउँसो पानी बेच्न सुन्धारादेखि बीर अस्पताल वरिपरिसम्म पुग्छु’,उनले भनिन्। 

८० वर्षीया कार्की  छोराको उपचारकै लागि दिनरात मिहेनत गर्दैछिन्।‘मलाई अरू केही चाहिँदैन, छोरा ठिक भए पुग्छ’, उनले हात जोड्दै भनिन्, ‘छोरीछोरा काठमाडौं त छन्। तर मलाई उनीसँग बस्न मन लाग्दैन, उनीहरू मलाई राम्रो ब्यवहार गर्दैनन्। छोरालाई ठिक गर्न पाए मलाई मर्न सजिलो हुन्थ्यो, अरू कुनै आस छैन।’

उनी हाल बसन्तपुरको चुच्चे गल्लीमा एक्लै कोठा लिएर बसेकी छन्। बिरामी छोरा गाउँमै छन्। छोराको मानसिक सन्तुलन गुमेपछि बुहारिले नाति लिएर हिँडेको उनले बताइन्।

छोराको उपचारका लागि राज्यले केही सहयोग नगरेको उनको गुनासो छ। ‘छोराको उपचारको लागि दिन रात भगवानसँग भिख माग्छु, तर कहिले पनि ठिक भएन’, उनले भनिन्। भगवान रक्षा गर।
 

प्रकाशित मिति: : 2020-03-04 01:32:31

प्रतिकृया दिनुहोस्