व्यवसायीमैत्री राजश्व र करनीतिमा जोड

पोखराका उद्योगी/व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक छलफलमा व्यवसायीले राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्ने बताएका हुन्।

निजी क्षेत्रले दिएका सुझाव समेटेर कर तथा राजश्व नीति बनाउँदा राजश्व वृद्धि हुने नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको भनाइ छ।

‘व्यवसायीलाई पेलेर मात्रै आर्थिक उन्नति सम्भव हुदैँन्’ उनले भने। उक्त छलफलमा लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्य विक्रम कर्माचार्य, रमानाथ पौडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटा, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्य, नवलपुर उद्योग वाणिज्य सङ्घका सदस्य राजेन्द्र गौतम, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले राजश्व तथा कर नीति व्यवसायीमैत्री भएमा राजश्वमा वृद्धि आउने धारणा राखेका थिए।

प्रकाशित मिति: : 2020-03-03 23:57:16

प्रतिकृया दिनुहोस्