शब्द, संगीत र स्वर तीनै विधामा उतिकै सक्रिय र उत्कृष्ट गायक डम्बर नेपाली दर्शक स्रोताका लागि परिचित नाम हो। ‘तर, अन्तिम पल्ट भेटन् आउ’, ‘आज आकाशमा एउटा तारा....’ देखि ‘स्वीटर फाटेको....’ सम्म आइपुग्दा डम्बरले दर्जनौं सुगम संगीतमा स्वर र संगीत भरेका छन्। उनका थुप्रै गीत चर्चाको शिखरमा छन्।
आफूलाई सधै लो प्रोफाईलमै राख्न चाहने उनी नेपाली गीत कसरी राम्रो बनाउने भन्नेमै केन्द्रीत हुन्छन्। सयमसँगै थपिदै गरेको अनेकन चुनौतिको सामना गर्न नेपाली गीतमा गुणस्तरियतालाई जहिले पनि उनी पहिलो प्राथमिकतामा राख्छन्।
२०३६ सालमा मोरङको उर्लाबारीमा जन्मिएका नेपालीले स्थानीय खोपिडाँडाको प्रभात प्राथमिक विद्यालयबाट प्राथमिक तहको शिक्षा हाँशिल गरे।गायन करियरको सुरूवातमै स्लो भर्सनको प्रेम–गीतबाट दर्शक स्रोताको यथेष्ठ माया पाएका डम्बर नेपालीका ‘मेरो जीवनवाट जाने भए जाऊँ’, ‘आज आकाशमा एउटा तारा देखिनँ......’ जस्ता गीतले उनलाई फास्ट ट्रयाकमा मोडिदियो।
नेपाली उखानलाई ठेट शैलीमा ढालेर तयार गरिएको गीत ‘कि यो जंगे रेलमा.....’, ‘बिग्रिएको मान्छेको, भत्केको घर’ले उनलाई फरक चिनारी दियो। स्वर सम्राट नारायण गोपालबाट प्रभावित उनी २०५३ सालमा ३ सय रुपैयाँ बोकेर गायक बन्न काठमाडौं हान्निएका थिए। त्यसताका रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि ‘गायकको ट्याग’ भिर्न पाइन्थ्यो। उनी स्वर परीक्षाका लागि रेडियो नेपाल पुगे। तर, त्यसका निम्ति आवश्यक प्रक्रिया पूरा नगरेकाले उनको गायक बन्ने रहर त्यत्तिकै तुहियो।
पहिलो पटक काठमाडौं आउँदा बिरानो सहरमा उनका कोही आफन्त र चिनजानका मान्छे थिएनन्। संघर्षको क्रममा कयौं रात उनले बीर अस्पतालको पेटीमा बिताए।गरिब परिवारमा जन्मिएका डम्मरलाई त्यसबेला आमाले कुखुरा बेचेको ३ सय गाडी भाडा दिएर काठमाडौं पठाएकी थिइन्। थप पैसा उनीसँग थिएन।
बिएल नेपाली सेवासँग बाल्यकालको कुरा गर्दा उनी केही अकमकिएर जवाफ दिइएकाले डम्मरलाई मैले आँखा नदेखे पनि सजिलै पढ्न सक्थेँ।डम्बरको बाल्यकाल आर्थिक अभावले सताएको थियो। ‘बाबाले गाउँमा हुने विवाह व्रतवन्ध जस्ता कार्यहरूमा सनही बजाएर र आमाले अरूकोमा ज्याला मजदुरी गरेर कमाएको पैसाले कक्षा ८ सम्म पढाउनुभयो’, डम्बरले भने।
एक दिदी र एक दाजुका भाइ डम्बर स्कुल जाने बेलामा खुट्टामा चप्पल थिएन। अभावहरू थपिँदै गएपछि उनले अगाडिको पढाई त्यतिकै छोडेँ।स्कुलमा हुने अतिरिक्त क्रियाकलापको समयमा गीत गाउने डम्बरलाई सोही स्कुलका सन्त आङ्बोहाङ सरले गीत गाउने कर्ममा हौसला दिएका थिए।
त्यो बेलामा सन्त सरसँगै साथीहरूले दिएको प्रेरणा र साथले आज आफू डम्बर नेपाली भनेर संसारभर चिनिएको उनले दाबी गरे। सानो छँदा गीत संगीतबारे खासै थाहा नभएका डम्बरले १७ वर्षकै उमेरमा बाबाको मृत्यु भएपछि उनी घर खर्च धान्न आमासँग ज्याला मजदुरीमा काम गर्न जान्थे। सोही बेलादेखि मात्र उनी संगीत बुझ्न थाले। संगीतमा रमाउन थाले।
‘दौतरीहरू कमाइ गर्न विदेश जान्थे र मलाई पनि उक्साउँथे’ डम्बर सम्झन्छन–‘तर, मैले संगीत साधनामै निरन्तर लाग्ने निधो गरेँ।’ त्यो समय पप, र्याप संगीतको बजार उत्कर्षमा थियो । त्यही बेला डम्बरले नयाँ स्वाद पस्किए–‘अन्तिम पल्ट भेट्न आऊ।’
स्लो भर्सनको उक्त गीतले डम्बरलाई चर्चा त दिलायो नै, खल्ती पनि भरिदियो। यही गीतले उनलाई विदेशको सयर गरायो अनि ‘छिन्नलता’ पुरस्कार दिलायो।
उक्त गीत गाउनु अघि डम्बर ‘द रेज’ ब्यान्डसँग आबद्ध थिए। त्यही ब्यान्डका सदस्यहरूसँग मिलेर ‘शून्य आकाशमा’ एल्बमसमेत बजारमा ल्याए। गीत पनि राम्रै चल्यो । ‘पछि साथीभाइ लाखापाखा लागे’ डम्बरले सुनाए– ‘त्यसपछि ब्यान्ड पनि फुट्यो।’ ब्यान्डसँगको सहयात्रा टुटेपछि उनी एक्लै संगीतमा होमिए। २०६३ सालमा उनको सोलो एल्बम बजारमा आयो। त्यही एल्बमले उनलाई गायकका रूपमा स्थापित गर्यो।
उनले हालसम्म ५ वटा सोलो एल्बम बजारमा ल्याइसकेका छन्।
एक छोरा र एक छोरीका बुबा डम्बरले २०५९ सालमा विहे गरेका थिए।
प्रेम वियोगको गीतमा मात्र होइन, रोमान्टिक गीतमा पनि उनी अब्बल ठहरिए । उनले गाएको ‘जंगे...’ गीत निकै रुचाइयो । त्यससँगै ‘तिम्रो पाउजु बजेर थाहा पाए अरूले, बिग्रिएको मान्छे म, जस्ता गीतले डम्बरलाई फरक धारमा स्थापित गरायो।
दुई दशकको गायन करियर डम्बरलाई राम्रै फलिफाप भयो । देश–विदेश घुमे, पुरस्कार थापे, पैसा कमाए। त्योभन्दा पनि महत्वपूर्ण, गीत गाएको पैसाले आमाको उपचार गरे। अनि घर बनाए। ‘मेरो गायनको सबैभन्दा सन्तोषजनक उपलब्धि भनेको यही हो’ उनले बिएल नेपाली सेवासँग यसो भनिरहँदा डम्बरको छाति गर्वले चौडा हुन्छ ।
देश–विदेशको कन्सर्टरत कहिले गीत रेकर्डिङले बेफुर्सदिला डम्बरले संगीत साधनबाट बचेको समय खेलकुदमा लगाउँछन्। उनी फुटबल खेलका पारखी मात्र होइनन्, राम्रा खेलाडीसमेत हुन्।
कहिले उर्लाबारी त कहिले काठमाडौं बस्ने डम्बरले सुरुवाति दिनमा पप गीत गाए पनि पछिल्लो समयमा लोक पप् गाइरहेका छन्।
सफलतालाई सन्तुष्टिको प्रतिक मान्ने उनी गीत संगीतकै क्रममा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कतार, साउदी, युएई लगायत देशमा गएर आफ्नो प्रस्तुति दिइसकेका छन्।
मौलिक शब्दलाई टपक्क टिपेर मिठो स्वरमा ढाल्न योग्य गीतकार समेतर हरेका डम्बरले संगीतको औपचारिक कक्षा कतै लिएनन्। ‘सामान्य रियाजहरू गरियो। तर, औपचारिक रूपले कुनै संगीत कक्षा गरिएन,’ उनले भने।
एल्वम् गर्नुभन्दा अघि गाउँमा हुने विवाह व्रतबन्ध जस्ता कार्यमा साथिसँग मिलेर कार्यक्रम गर्ने गरेका थिए।
‘त्यति बेला अहिलेको जस्तो प्रविधि थिएन। ब्याट्रीबाट गीत गाउने, बजाउने अनि नाच्ने गरिन्थ्यो’, दशकभन्दा बढी संगीतमा लागिसकेका डम्मर भन्छन्, ‘साथीहरू नभएको भए सायद आज नामको अगाडि ‘गायक’ भन्ने शब्द थपिदैन थियो होला?’
‘संगीतमा मानिस कहिल्यै पूर्ण हुन सक्दैन, हामी सिक्ने प्रक्रियामा छौं त्यसले म सधै सिकिरहन्छु’, उनले भने।
खुट्टा तान्ने प्रक्रियाबाट संगीत बजारसमेत अछुत नरहेको बताए। २०६१ सालबाट औपचारिक रूपमा संगीत क्षेत्रमा होमिएका डम्मर शब्द संकलक पनि हुन्।
उनी मौलिक शब्दलाई टिपेर पहिले स्टोरी बनाउँछन् अनि त्यसलाई मिठो लयमा ढाल्छन्। ‘आफ्ना सबै गीतका रचना आफैले गरेकाले गीतहरू आफूसँग मिल्दोजुल्दो भएका हुन्’, उनले भने।
संगीत मानिसको अभिन्न अंग भएको भन्दै यसलाई निरन्तरको अभ्यासले निखार्नुपर्ने डम्बरको भनाई छ। सुरूवाति दिनमा म्युजिक कम्पनीबाट खासै सहयोग नपाएकाले उनले म्यूजिक कम्पनीहरू पनि कमाउनकै लागि बसेको बताए।
उनी बिहान साढे चार वा पाँच बजे उठिसकेका हुन्छन् । उठ्नासाथ मर्निङवाकमा निस्कन्छन् । त्यसपछिको समय संगीत साधनालाई छुट्याएका छन्। केही समय गिटार समाएर गीत गाउने अभ्यास गर्छन्। ‘कहिले गीत कम्पोज गर्छु, कहिले लेख्छु’ डम्बर भन्छन– ‘त्यसरी नै मेरो बिहानको समय बित्छ ।’ मध्यान्ह उनको गन्तव्य हुन्छ– रेकर्डिङ स्टुडियो । घरबाहिर निस्कँदा उनलाई अलि टिपटप हुनुपर्छ । पहिरनका सौखिन डम्बरलाई क्याजुअल पहिरनमा देख्न सकिन्छ।
पछिल्लो समय उनी चलचित्रको संगीत तथा गीत लेखनमा केन्द्रित छन्। दिनभर रेकर्डिङ, कम्पोज र भेटघाटले व्यस्त बनाउँछ । साँझ डेरामा फर्किएपछि केहीबेर इन्टरनेटमा समय व्यतीत गर्छन् । नयाँ गीतहरू सुन्छन्, चलचित्र हेर्छन् । लेख्न बाँकी, कम्पोज गर्न बाँकी रहेका कामहरू पूरा गर्दागर्दै निदाउने बेला भैसक्छ।
गीत संगीतको क्षेत्रमा आउन चाहनेलाई उनी गीत गाउनु ठूलो कुरा नभएर संगीतमा लागेका कलाकारहरू कसरि बाँचिरहेका छन् भन्ने कुराको अध्ययन गरेर मात्र आउन आग्रह गरे।
‘दुई चार दिन मिडियामा छाउनु, टिभीमा अनुहार देखाउनु र आफूलाई सेलिब्रेटी सम्झिनु ठूलो कुरा होइन, यसमा निरन्तर जम्न सक्नुपर्छ’, उनले भने,‘संगीतमा मानिस कहिल्यै पूर्ण हुन सक्दैन, हामी सिक्ने प्रक्रियामा छौं त्यसले म सधै सिकिरहन्छु’, उनले भने।