रूघाखोकी र ज्वरोले डोल्पामा एकै गाउँका ८० जना सिकिस्त, कोरोना भाइरसको त्राश

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुवाखोकी र ज्वरोको प्रकोप फैलिएको छ।

रूघाखोकी र ज्वरोले गाउँका ८० जना ओछ्यानमा थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ।

जाडो छल्न काठमाडौं गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसँगै रूघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो। रूघाखोकी र ज्वरोले थलिएपछि उपचारको लागि मनिश मेडिकलमा आएका विष्णु बुढाले भने ‘बोहरा काठमाडौंबाट आएलगतै उनी आफू विमारीले थलिन् त्यसपछि उनको घरपविार नै रूघाखोकी र ज्वरोले थला परेको केही दिनमै सिँगो गाउँ नै रूघाखोकी र ज्वरोले थला परेको छ।’

शुरुमा टाउँको दुख्ने रुवाखोकी लाग्ने त्यसपछि ज्वरोले काम्ने खाना नरुच्ने लगायतका लक्षण भएको अर्का बालकृष्ण बोहराले बताए।

छिमेकी मुलुक चाइनामा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षण र आफ्नो गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको लक्षण पनि एउटै भएकाले कतै कोरोना नै त होइन भन्ने आशंकाले सिँगो गाउँ आतंकित बनेको अर्का विमारी झलक बुढाले बताए।

पचास घरधुरी रहेको करेलीकाँडा गाउँमा झण्डै ४० घरका ८० जना परिवार रुवाखोकी र ज्वरोले ओछ्यानमै थला परेका छन्।

करेलीकाँडा गाउँ नै रुवाखोकी र ज्वरोले थला परेको खवर आएपछि आवश्यक औषधी सहित चिकित्सकको टोली रुवाखोकी र ज्वरो प्रभावित गाउँमा पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रितीभक्त गिरीले जानकारी दिए।

रूघाखोकी र ज्वरोले धेरै मानिस थला परेको खबर आएको छ, वास्तविकता के हो कुन रोग हो भन्ने बारे चिकित्सकको टोली फर्के पछि थाहा हुने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाकी स्वास्थ्य संयोजक जुनकुमारी बोहरचले मौसम परिवर्तनको कारणले पनि सामान्य रुवाखोकी र ज्वरो आउने भएकाले पनि अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताइन्।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला कोरोना भाइरस प्रभावित छिमेकी मुलुक चीनसँगको सिमा जोडिएको हिमाली जिल्ला डोल्पामा अहिलेसम्म यसबारे कुनै पनि पक्षबाट जनचेतना फैलाउने र उच्च सर्तकता अपनाइएको पाइदैन ।

 

प्रकाशित मिति: : 2020-03-03 05:30:35

प्रतिकृया दिनुहोस्