विराट नर्सिङ हाेममा साढे ८ महिना बन्धक बनाइएका २० वर्षीय युवककाे उद्धार

उपचारको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा बन्धक बनाइएका संखुवासभा खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई साढे ८ महिनापछि उद्धार गरिएकाे छ। धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई सोमबार अस्पतालबाट बाहिर निकालिएको हो।

उनको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताए। दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ। अध्यक्ष भोटेका अनुसार औषधि र क्यान्टिनमा लागेको एक लाख ७२ हजार रुपयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको हाे। 

चन्दनपुर घर भई अस्ट्रेलियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गरेकी थिइन। हङकङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले जानकारी दिए। 

संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ। सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग गरेकाे थियो। संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

भोटेले उद्धार गरिएका जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने जानकारी दिए । उनका अनुसार काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्ने भएका छन्। 

खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला त्यहाँ निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारले रडले प्रहार गरेर जीवनलाई गत असार ५ मा गम्भीर घाइते बनाएका थिए ।

आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन्। उनीमाथि हाईड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका–७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर महानगरपालिका–१९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरीले आक्रमण गरेको प्रहरीले बताएको छ। 

बुवा गणेशले नै उनलाई उपचारका लागि असार ६ मा विराटनगर ल्याएका थिए । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै छोरालाई अस्पतालमा राखेर हिँडेका उनी भने अहिलेसम्म अस्पताल फर्किएका छैनन् । आर्थिक अवस्था एकदमै कमजोर छ। उनको उपचारमा लागेको पैसा तिर्न सक्ने अवस्थामा परिवार छैन। गाउँमा ऋण नपाएपछि छोराको उपचार गराएको पैसा तिर्न नसक्ने भएकाले बुवा गणेश विराटनगर फर्किन नसकेको स्थानीय विमला भण्डारी चापागाईँको भनाइ छ। 

उपचार गराएको पैसा नतिरेको भन्दै अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा बन्धक बनाएर राखिएका उनलाई अस्पतालकै कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिने र हेरचाह गर्ने गर्थे । घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उनको बोली आउँदैन। 

अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नु परेको बताए। ‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नु पर्छ,’ डा. साहले भने, ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’

उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताए । 
 

प्रकाशित मिति: : 2020-03-03 05:01:21

प्रतिकृया दिनुहोस्