जनप्रतिनिधि नै तस्करीमा, ट्याक्टर दुर्घटनाले खुल्याे पाेल

ट्याक्टर दुर्घटना भएपछि मोरङको रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधि तस्करीमा संलग्न हुँदै आएकाे पाेल खुलेकाे छ। नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ का वडा सदस्यमा निर्वाचित मो. सदिर मियाँ तस्करीमा संलग्न रहेकाे खुलासा आइतबार भएकाे हाे। जब अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टास्थित घुम्ती नजिकै ट्याक्टर दुर्घटना भयाे उनले सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा आयात गरेर ल्याउँदै गरेकाे चिनी फेला परेको थियाे। 

यसरी पाेल खुल्याे

आइतबार अपराहन्न ३ बजे सोनापुरबाट उर्लाबारीतर्फ जाँदै गरेको मे १ त ८७१६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियो। ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाईते भएपछि अत्तालिएका ट्याक्टर चालक चलिरहेको ट्याक्टरबाट हाम फालेर फरार भएका थिए। यसै क्रममा दक्षिणतर्फबाट ढुंगा बोकेर आउँदै गरेको अर्को मे १ त ६४६६४ नम्बरको ट्याक्टरले समेत अनियन्त्रित भएर मोटर साइकललाई पुनः ठक्कर दिएको थियो । 

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटवाल घाइते भएका थिए। दुर्घटना पश्चात घटना स्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे १ त ८७१६ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ क्विन्टल चिनी बरामद गर्‍यो । 

उक्त ट्याक्टर र चिनी वडा सदस्य मियाँको भएको खुलेको छ। घटनास्थलमा बरामद गरिएको चिनी धानको बोरा जस्तै देखिने गरी जुटको बोराभित्र राखेर उर्लाबारीतर्फ लगिँदै गरेकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिए। ट्याक्टरबाट १ सय ७ बोरा धानसहित बरामद भएको ५० बोरा चिनी सोमबार बिहान प्रहरीले सार्वजनिक गरेको छ। 

तस्करीमा ट्याक्टर, चिनी र धान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सीमा क्षेत्रका व्यापारी समेत रहेका वडा सदस्य मियाँकै ट्याक्टर चिनी तस्करीमा प्रयोग भएको हो।

स्थानीयले प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले भारतबाट विभिन्न वस्तु अवैध रुपमा नियमित नेपाल भित्राएर उर्लाबारी, पथरी, इटहरी, धरानलगायत पूर्वका विभिन्न स्थानमा पुर्‍याउँदै आएकाे बताएका छन् । ट्याक्टर प्रहरीले नियन्त्रणमा लिए लगत्तै वडा सदस्य मियाँ भने फरार छन् । 
 

प्रकाशित मिति: : 2020-03-03 04:35:08

प्रतिकृया दिनुहोस्