नेपालीको महान पर्व विजया दशमीको रौनक बाँकी नै थियो। काठमाडौंको सुकेधारामा डेरा गरी बस्ने बैतडीका युवा दम्पती महेश अवस्थी र गीताको मनमा नयाँ सन्तानप्राप्तिको उत्साह र हर्ष त्योभन्दा ठूलो थियो।
बडादशैं सकिएको एक साता नबित्दै ०७६ असोज २४ गते महेश र गीताकाे पहिलो सन्तान भयो– छोरा। शल्यक्रियापश्चात् जन्मिएको थियो– शिशु। सोडियमको मात्रा केही कम भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पाए– अवस्थी दम्पतीले। खुशीको सीमा रहेन।
परिवारमा नयाँ सन्तानको आगमनको खुशी साट्न महेश कहाँ आफन्तजन बैतडीबाट काठमाडौं आइपुगे। नवजात शिशुको नाम पनि जु्र्यो– शिवांश अवस्थी। न्वारनको खुशियाली साटासाटपछि आफन्तजन घर फिरे तर त्यो खुशी धेरै समय टिक्न सकेन। १३ दिन अर्थात् न्वारानकै राती नै शिवांशको स्वास्थ्यमा समस्या देखियो। उनी रातभरी नै रोए।
शिशुको रुवाइसँगै पेट केही फुलेजस्तो देखियो। अवस्थी दम्पती भोलिपल्ट कात्तिक ७ गते बिहानै कान्ती बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुगे– शिशु बोकेर। अस्पतालले बच्चाको अवस्था ‘सिरियस’ छ त भन्यो तर बेड नभएको जवाफ दियो। अवस्थी दम्पतीले अनुनयविनय गरे तर पनि कान्ती अस्पतालले भर्ना लिन मानेन। त्यसपछि सँगै जोडिएको शिक्षण अस्पताल लगे र एनआइसियुमा भर्ना गरे।
शिक्षण अस्पतालमा महिना दिन, अवस्था झन् नाजुक
शिक्षण अस्पतालको बेडमा झण्डै एक महिना राखियो। अस्पतालले शिशुको नै रोग पत्ता लगाएन। उल्टै नाजुक अवस्थामा डिस्चार्ज गरेर लैजान भन्यो। यो बीचमा अस्पतालले कलेजोमा संक्रमणकाे आशंका गरेको थियो। शिशुको अवस्था नाजुक भएपछि डिस्चार्ज गर्न खोज्दा अवस्थी दम्पत्ती आत्तिए।
त्यो समय सम्झिँदै महेशले भने, ‘अस्पताल लैजाँदा शिशु ठीकै थियो। एक महिना अस्पतालमा राख्यौँ। डिचार्ज गर्छौं भन्दा त शिशु हेर्दै डरलाग्दो भएर सुन्निएको थियो।’
अस्पतालले कलेजो संक्रमणको आशंका मात्रै गरेको थियो। महेशले कलेजो उपचार हुने अस्पताल खोजे– गुगलमा। धेरैतिरको अस्पताल बुझ्दै उनले भारतको चेन्नाइस्थित एक अस्पताल छाने।
अस्पतालसँग रिफिरका लागि अनुनयविनय गरे। बालकको ‘फिट टु फ्लाइट’ (उडानका लागि सक्षम) भन्ने कागज बनाइदियो– अस्पतालले। अवस्थी दम्पती विमानस्थलमा कागज नै नदेखाई चेन्नाईका लागि उडे।
त्यसबेलाको अवस्था सम्झिदै महेशले भने, ‘मैले ‘फिट ट् फ्लाइट’ को कागज त बनाउन लगाएँ तर बच्चाको शरीर हेरेर हामी आफैँ डराइरहेका थियौँ। त्यो देखाएमा विमानस्थलका कर्मचारीले उड्न नदिने निश्चितप्रायः थियो। त्यसैले बच्चा स्वस्थ छ भनेर कपडाले छोपेर उड्यौँ।’
यात्रा चेन्नई अस्पतालको
गुगल म्यापको सहयोगमा राती २ बजे चेन्नइस्थित अस्पताल पुगे। इमर्जेन्सीमा भर्ना गरे। अस्पतालका चिकित्सिकले तीनको समय मागे। तीन दिनको प्रतीक्षापश्चात् चिकित्सिकले भने, ‘कलेजो धेरै संक्रमण भइसकेको छ। ५ देखि १० प्रतिशत मात्रै उपचारबाट निको हुने सम्भावना छ।’
चिकित्सिकले यो पनि भने, ‘अन्तिम विकल्प कलेजो प्रत्यारोपण मात्र हो।’ चिकित्सकको खबरले अवस्थी दम्पतीको होस् हवास् उड्यो। खर्च सोधे– झण्डै १ करोड रुपैयाँ।
महेशले भने, ‘जिन्दगीमा १ लाखभन्दा बढीको उपचार गरेकै थिएनौँ। हामी एक करोड सुन्दा केही सोच्नै सकेनौँ।’ अवस्थी दम्पतीसँग अन्तिम दुई विकल्प थिए– अस्पतालले भनेको रकम जम्मा गरेर बच्चालाई बचाउनु वा बच्चाको माया मारेर घर फर्किनु।
महेशका धेरै आफन्तले निर्मम सुझाव दिए– त्यो रगतको डल्लोको माया मारिदेऊ, त्यस्तो बच्चा अर्को पनि पाउन सकिन्छ। तर, महेशले त्यो कुरा सहनै सकेनन्। उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो खुशी हो सन्तान। आफ्नै सन्तान कसरी माया मार्नु?’ उनी उपचारमा कस्सिए।
ऋण र घरखेत गरी कलेजो प्रत्यारोपण
बैतडीमा रहेको केही जग्गा र सानो घर बैंकमा राखे। कोरियामा रहेका आफ्ना भाइसँग केही रकम मागे। पहिलो किस्ताको २२ लाख ५० हजार अस्पतालमा जम्मा गरे।
अवस्थी दम्पतीलाई कागजी समस्याले पनि उस्तै सतायो। अस्पतालले पाँच दिनभित्र बच्चाको आमा वा बाबुमध्ये एक जनाको कलेजो प्रत्यारोपण गरिसक्नु भनिरहेको छ। तर, वडा कार्यालयदेखि, मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, पराराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय दूतावासमार्फत दिल्लीसम्म पुगेर अस्पताललाई प्रत्यारोपणको अनुमति दिनुपर्छ।
यो सबै गर्न झण्डै एक महिना लाग्ने देखियो। महेशले भने, ‘यति बेलासम्म बिरामी रहला कि नरहला भन्ने प्रश्न थियो। यस्तो प्रक्रिया किन चाहियो ?’
महेशले हिम्मत हारेनन्। वडादेखि काठमाडौं र दिल्लीमा रहेका आफन्त र साथीभाईलाई अनुरोध गरे। काम एक सातामै सम्पन्न भयो। लामो कागजी प्रक्रिया र अस्पताल र आफन्तको सहयोगपश्चात् महेश आफैँले कलेजो दिए। शिशु शिवांशको कलेजो प्रत्यारोपण पनि गरियो।
छोरालाई कलेजो दिएपछि महेशले ४५ दिनको बेड रेस्ट गरे। उनी बिस्तारै तङ्ग्रिदै छन्। शिशु शिवांश पनि अहिले मान्छेको मुखमा हेर्ने र हाँस्ने भएका छन्। उनलाई अहिले चेन्नाईकै अस्पतालको जनरल वार्डमा सारिएको छ। आफूले कलेजो काटेर दिएको छोरा हाँस्दा अवस्थी एकछिन् दम्पती संसारका सबै दुःख बिर्सिन्छन्।
त्यो खुशी धेरैबेर टिक्न पाउँदैन। दुवैजना एकले अर्कालाई प्रश्न गर्छन्, ‘अब यो छोरालाई अस्पतालबाट घर कसरी लाने ?’ कुनै उपाय देख्दैनन्। अनि नाजवाफ हुन्छन्।
अवस्थी दम्पतीले अहिलेसम्म आफन्त, साथीभाई र घरजग्गा धितो राखेर ल्याएको ५० लाखभन्दा बढी रकम अस्पताललाई बुझाइसकेका छन्।
स्वस्थ हुँदै गरेको छोरो र श्रीमतीलाई अस्पतालमै छोडेर काठमाडौं पुगेका महेशले भक्कानिँदै भने, ‘छोरो निको हुँदै जाँदा मेरो मुटु दुख्न थाल्छ। निको हुनेबित्तिकै अस्पतालले डिस्चार्ज गरेर फलोअपमा आउन भन्छ। अस्पतालमा बुझाउनुपर्ने रकम ५० लाख रुपैयाँ जति पुगिसकेको छ। त्यो रकम कहाँबाट तिर्ने ? ऋण पाउनेजति ठाउँबाट मागिसको छु। अब के गर्नु ?’
महेशले सहयोगका लागि नुपगेको ठाउँ छैन। यो बीचमा उनलाई आफ्नो गाउँपालिका, आफन्त र साथीभाइले सक्दो सहयोग गरे। त्यो रकम खर्च भइसकेको छ। उनले सुदूरपश्चिम सरकार र संघीय सरकारसँग पनि बिन्ति चढाइसकेका छन्। आफ्नो फाइल स्वास्थ्य मन्त्रालयसम्म पुग्दासम्म पनि उनलाई लाग्थ्यो, ‘आफ्नो नागरिक पैसा तिर्न नसकेर छिमेकी देशको अस्पतालमा बन्धक बनेको टुलुटुलु हेर्दैन होला। सरकारले सहयोग गर्छ।’
जब स्वास्थ्य मन्त्रालयका केही व्यक्तिहरुले आफ्नो विषय सामाजिक सञ्जालमा आएकाले सहयोग गर्न मिल्दैन भन्ने खबर पठाए, महेश निराश र आक्रोशित बनेका छन्।
महेशले भने, ‘हामी प्रजातान्त्रिक मुलुकका नागरिक होइनौँ ? मैले सामाजिक सञ्जालमा आफ्नो कुरा राखेकाले सहयोग गर्न नमिल्ने कुरा कस्तो हो ? के उपचारमा पनि कमिसन खाजेको हो ?’
सरकारबाट पनि आस मारिसकेका महेशले अब मनकारी साथीहरुसँग सहयोगको आश गरेका छन्। उनी भन्छन्, ‘मेरो बच्चा घर ल्याउने वातावरण बनाइदिनुस्। म जीवनभरि तपाईको ऋणी बन्नेछु।’
महेशलाई सहयोग गर्न चाहनेले उनको फेसबुकमा वा तलकाे नम्बरमा फाेन गर्न सक्नु हुनेछ।
https://www.facebook.com/mahesh.awasthi