नेपालमा मार्च ७ देखि पर्यटकले अनअराइभल भिसा नपाउने भएका छन्। अब उनीहरूले नेपाल प्रवेश गर्नुअघि नै सम्बन्धित देश वा नजिकको नेपाली नियोगबाट भिसा लिइसकेको हुनुपर्ने छ ।
कोरोना भाइरस प्रकोपलाई ध्यानमा राखेर सरकारले यस्तो निर्णय गरेको बताइएको छ। निर्णय कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले गरेको हो। समितिका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन्।
नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले निरोगिताको प्रमाणपत्र पनि देखाउनुपर्ने भएको छ। यस्तो प्रमाणपत्र नभएका जो कोही पनि नेपाल प्रवेश गर्न पाउँने छैनन्।
यसअघि प्यालेस्टाइन, अफगानिस्तान, सिरिया, नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया र इराक बाहेक अन्य सबै मुलुकका पर्यटकले नेपालमा अनअराइभल भिसा पाउँदै आएका थिए। शरणार्थीहरूलाई पनि यो सुविधा प्रदान गरिएको थियो ।
सरकारको यो निर्णयले नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा ठूलो ह्रास आउँने निश्चित छ । यसबाट नेपाल भ्रमण वर्ष २०२० को सफलता अप्ठ्यारोमा पर्ने सम्भावना बढ्दो छ।