प्रधानमन्त्री ओलीलाई नातिनीले दिने भइन् मिर्गौला

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीले मिर्गौला दिन लागेको स्रोतले जनाएको छ। तर उनको नाम गोप्य राखिएको छ। उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन्। ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो।

बालुवाटार स्रोतले भन्यो ‘नातिनीलेनै दिने भनेकी छिन्। उनकै म्याच भएकाे छ।’

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो। ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो। दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन्।

मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ। नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-02 02:57:30

प्रतिकृया दिनुहोस्