राजनीतिका जोक्कर

रमण घिमिरे एक नाम अनेक आयाम हुन्। नेपाली रङ्गपत्रकारिताको गोरेटो कोर्नेमध्येका एक उनी सिद्धहस्त कवि अनि गीतकार हुन्। उनको शारीरिक उचाइजस्तै सिर्जनशील उचाइ पनि अग्लो छ। 'आधी बाटो हिडेपछि तिमीसँग भेट भयो', 'रिसाउँदा नि आफ्नै खुशी हुँदा नि आफ्नै' उनका सिग्नेचर गीत हुन्। 
उनै रमणमा, यसपटक देशको पछिल्लो अवस्था देखेर कविमन पलाएछ र राजनीतिको जोक्कर पात्र लिएर छरपष्ट भएछन्। देशलाई एउटा ठूलो सर्कस-हाउसको विम्वका प्रस्तुत गरेर उनले अहिलेको अवस्थालाई थोरै शव्दमा ठ्याक्कै भनेछन् । 

हामीलाई उनको त्यही कविता मन परेर यहाँ सम्प्रेषण गरेका छौैं ।

राजनीतिको जोक्कर

देश एउटा ठूलो सर्कस-हाउस भएको छ
एउटा आउँछ
तमासा देखाउँछ
र भन्छ यो तमासा होइन
लोकतन्त्र हो
फेरि अर्को आउँछ र त्यसै गर्छ
भन्छ- खासमा योचाहिँ लोकतन्त्र हो
तमासा त हिजोकोले देखायो
त्यो प्रतिगामी हो

राजनीतिको सर्कस-हाउसमा
अहिले अनेकौँ खेलाडीहरूको जमघट छ
तर सबै पालैपालो
जोक्करको भूमिकामा आउँछन्
एउटा जोक्कर मन्चमा आएर
सुरुवाल खोल्छ र भन्छ
समृद्ध नेपाल यही हो
अरू लुगा सुर्क्याउँदै भन्छ
सुखी नेपालीको चाहना यही हो
यसरी फुकाल्दाफुकाल्दा
सारा विचार र सिद्धान्तको लुगा फुकालेर
ऊ सर्वांग नांगै हुन्छ
र, भाषण गरिरहन्छ
भन्छ- यही हो नेपाली मोडेल
सन्चारमाघ्यमले पनि बुझून्

अनि
एउटा अर्कोलाई आरोप लगाउँछ-
यो दुंदुगी गन्हायो
अर्को फेरि अर्कोको वकालात गर्छ-
मगमग वासना आयो

भ्रम छ सर्वत्र
नांगो छ जगत्
तर नांगिएका हामी हौँ कि
राजनीतिका जोक्कर !

प्रकाशित मिति: : 2020-03-01 14:01:31

प्रतिकृया दिनुहोस्