योग्य नागरिक उत्पादन गर्न शिक्षा आवश्यक : नेता सञ्जयकुमार

नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले सरकारले देश विकासका लागि व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपनै बताएका छन्।

सामाखुशीमा शनिबार भएको कार्यक्रममा बोल्दै नेता गौतमले व्यावसायिक शिक्षालाई संस्थागत रुपमा अगाडि बढाउनुपनै बताएका हुन्।

‘योग्य नागरिक उत्पादन गर्न मुलुक अनुकूलको शिक्षा आवश्यक छ’, उनले भने, ‘समृद्ध मुलुक निर्माण गर्नका लागि आवश्यकपर्ने शिक्षा नीति बनाउनुपर्छ।’

सरकारले सार्वजनिक विद्यालयमा ठूलो लगानी गरेता पनि राम्रो शिक्षा नभएको गुनासो बढिरहेको बताउँदै नेता गौतमले भने, ‘निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ।’

कुनै पनि विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्न शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै जिम्मेवारी रहेको नेपाल सरकारका उपसचिव देशबन्धु अधिकारीको भनाइ छ।

‘विद्यार्थी आठ घण्टा विद्यालयमा बस्ने भएकाले घरमा बस्ने अभिभावकको पनि विद्यार्थीको शिक्षाप्रति उत्तिकै जिम्मेवारी छ’ उनले भने।

विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गरेमात्र उत्कृष्ट नतिजा प्राप्त गर्नसक्ने गायक पशुपति शर्माले बताए। ‘उत्कृष्ट नतिजा प्राप्त गर्न विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गर्नुपर्छ’ उनले भने।

 

प्रकाशित मिति: : 2020-03-01 04:30:05

प्रतिकृया दिनुहोस्