व्यापार भनेकै अपार हो । गरे यहाँ के हुँदैन, के सम्भव छैन र ? यसैको गतिलो उदारण हो बानेश्वरस्थित विमला दिदीको चिया पसल ।
भोजपुरको साधारण परिवारमा जन्मिएकी बिमलालाई कुनै कुराको कमि थिएन। दाइ अनि दिदीका साथमा रमाउँदै गाउँमा बाख्रा चराउन जान्थिन्। वनजङ्गल, खोलानालातिर सुनिने गीतका भाका साथीसंगीसँग वनपाखा गरेका ती दिनहरू कम्ता रमाइला थिएनन्।
सात कक्षा पड्दै गरेकी उनीलाई बुवाले काठमाडौं पठाए। काठमाडौं आएर ठूलो बुवाको छोरासँग उनकै डेरामा बस्न थालिन्। जिन्दगीका घुम्तीहरू पार गर्दै जादा उकाली ओराली गर्नै पर्ने हुन्छ सबैले। दिनचर्या चलाउन केही नकेही काम गर्नै पर्ने हुन्छ।
उनी पनि भोजपुरबाट आएको एक महिनामा गार्मेन्टमा काम गर्न थालिन्। गार्मेन्टको काम उनलाई खासै मनपरेको थिएन। तर, पनि काम गर्न छाडिनन् जसोतसो गरिनै रहिन्।
जीवनमा संघर्षको क्रम जारी नै थियो। यही क्रममा बिमलाकाे जीवनमा ध्रुव दाहालको आगमन भयो। दाइको साथीका रुपमा चिनजान भएका ध्रुव मन पर्न थाले उनलाई। मनमा अनेकखाले तरङ्ग पैदा हुन थाले। बिस्तारै उनीभित्र बिमलाले जीवनसाथीको छायाँ देख्न थालिन्।
अन्ततगत्वा बिक्रम सम्बत २०५४ मा तिनै ध्रुवसँग प्रेमको गाठो कसिलो भएपछि भागी बिबाह गरिन्। संस्कार अनि परम्परा दुवैलाई उनले सँगै चलाउन सकिनन्। कुराकानीका क्रममा विगत सम्झिदै उनले सुनाइन्–‘भागी बिबाह गरेकै कारण सुरु सुरुमा परिवारका सदस्यहरुले साइनो लगाएर बोलाउन नै मानेका थिएनन्। सम्पर्क गर्न खोज्यो कसैले वास्ता गर्दैनथिए। मन दुख्थ्यो, नराम्रो लाग्थ्यो। सुरुका दिनमा निकै मेहेनत गरे तर सोचेको जस्तो भएन। गारो थियो, ती दिन निकै कष्ठपूर्ण थिए।’
१७ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी बिमला २१ वर्षको उमेरमा उनी आमा बनिन्। छोराको नाम राखियो ओम दाहाल।
दुई जनाको परिवारमा छाक टार्न समेत गाह्रो भइरहेको बेला बिमलाका बूढाबूढीलाई झन समस्या हुन गयो। गुजरा चलाउन र छोराको सुन्दर भबिष्यको कल्पना गरेर उनले एक जना चिनजानकी दिदीसँग कामको माग गरिन्। उनले अरूकोमा काम गर्नुभन्दा बरू आफैं चिया बेच्ने सल्लाह दिइन्।
घरखर्च धान्न त धौ–धौ परेको मान्छेसँग पसल राख्ने पैसा कहाँ हुनु ? उनै महिलाले आइडिया पनि दिइन्, ‘फुटपाथमा राखे उति खर्च लाग्दैन।’
बिमलालाई ‘नहुनु मामा भन्दा कानो मामा निको’ भनेझैं लाग्यो। त्यसपछि चिया बेच्ने ठाउँ खोज्न थालिन्। फेरि तिनै दिदीले संसद भवनको तीन नम्बर गेट आगाडि राख्दा हुन्छ भने पछि नजिकै रहेको बिग मार्टका सुरक्षा गार्डसँग सोध्न पुगिन्। उनले पनि हुन्छ त भने। तर, महानगरले दुःख दिन्छ भन्ने कुरा समेत सुनाए।
खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै काम गरेर खाने हातलाई त्यो महानगरले के नै गर्न सक्थ्यो र? उनले भोलिपल्टदेखि नै काम गर्न थालिन्।
सुरूको दिनमा पसल चलाउन ५०० रुपैयाँ जम्मा पारिन्। र एउटा स्टोभ १० पाउण्ड दूध र भाँडा लगेर लागिन् संसद भवनको तीन नम्बर गेटतिर।
‘पहिलो दिन त साह्रै लाज लाग्यो नि,’ भकभकी उम्लिएको चिया दिउरेले चलाउँदै उनी आफ्नो कथा सुनाउँदै थिइन्, ‘त्यो दिन ८ बजेसम्म १० प्याकेट दुध सकिएपछि हतार–हतार झोलामा भाडाकुँडा कोचेर कोठामा गएँ। त्यो दिन निकै द्विविधा भयो, भोलिदेखि जाने कि नजाने? निदाइरहेको छोरोको अनुहार देखेपछि सोचेँ- उसको लागि मैले यस्ता सरम पचाउनुपर्छ। भोलिपल्ट बिहान तीनै बजे अघिल्लो दिनको भन्दा दस प्याकेट बढी दुध बोकेर गएँ। दोस्रो दिन त लाज पनि निकै कम लाग्यो।’
उनलाई पहिलो दिनमै १५० रुपैया नाफा भएकाले पनि हौसला प्रधान गर्यो। तर उनको मनमा डर छदै थियो। परिवार पाल्न सकिएला कि नसकिएला भन्ने?
विगतका कुरा बिस्तारै क्रमिक रुपले सुनाउन थालिन् उनी ‘एक दिन काम गर्दै गर्दा बिग मार्टका म्यानेजरले बोलाए मनमा डर लागेको थियो , चिया पसल हटाउन पर्यो भन्छन् होला सोचेर चिन्तित हुँदै गएको थिएँ तर उनले तिमीले काम गरेको राम्रो छ तिमी जे भए पनि काम गर तिमी अघि बढ्छ्यौ।’ त्यसपछि बिमलामा कामप्रति झन माया र विश्वास बढ्दै गयो।
कम समयमै उनको चिया यति लोकप्रिय भयो, ग्राहकहरुले बेलुका पनि पसल राख्न सुझाव दिए। बेलुकी नगरपालिकाको डर झनै बढी हुन्थ्यो। उनले जोखिम मोलेरै बेलुकी पनि पसल राख्न सुरू गरिन्। छोरा काखी च्यापेर चिया पकाइरहेकी हुन्थिन्, नगरपालिकाका कर्मचारी हुर्रर झर्थे र भाँडाकुँडा उठाएर गाडीमा हाल्थे। भुइँमा पसल राखेर कमाएको पैसाले ठेला किनेकी थिइन्। जति छोरालाई माया गर्थिन्, उनलाई ठेलागाडाको माया उत्तिकै लाग्थ्यो। एकपल्ट डिएसपीले ठेलागाडामा लात्ती हानेछन्। बिमलाको पालो गालामा झापड लगाइदिइछन्।
गाढालाई लात्ताले हिर्काएको देख्न सकिनँ मन छियाछिया भयो। आँखामा आँसु रसाउन थाले। अनि खै के भयो रिसको झोकमा म पनि डीएसपीलाई हान्न पुगेछु। अनि चौकीमा लगेर चौबिस घण्टा थुन्यो।
त्यसपछि प्रहरीले २४ घन्टा थुनामा राखिदिएछ। उनलाई त्यसरी फुटपाथमा राख्नु गैर–कानुनी हो भन्ने थाहा थियो। तर, विकल्प थिएन। अनेक उल्झन खपेरै भए पनि काखमा हुर्किँदै गरेको छोराको भविष्य सोचेर सुरु गरेको व्यवसायले राम्रो मुनाफा दिइरहेको थियो।
जुन उनको जीवनकै अविष्मरणीय घटना थियो।
सुरुवातीका दिनमा ५ रुपैयाँ कपबाट सुरु गरेको चिया अहिले २० रुपैयाँ कपका दरले बेच्छिन्।
छोरो ८ वर्षको उमेरमा एक्कासी सिकिस्त बिरामी भयो। छोराको कुनै पनि अंग नचल्ने भयो। धामीझाँक्रीदेखि डाक्टरसम्म पुगिन्। झन्डै ६ महिनासम्म छोराकै उपचारमा लागे दाहाल दम्पत्ति। छोरा विस्तारै तंग्रियो। बन्द भएको पसल फेरि चल्न थाल्यो। पहिले कमाएको पैसा छोराको उपचारमै सकियो। अझ ऋण पनि लाग्यो। ऋण तिरेर पुरानै अवस्थामा फर्किइनन् मात्र घर भाडा तिरेरै पसल राख्ने स्रोत जुटाइन्। र, ७० सालबाट सुरु भयो उनको छानो हालेको पक्की पसल संघर्ष। जुन एक चरणको ठूलो सफलता थियो उनका लागि।
विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको कोठामा सुरु गरेको त्यो पसलमा पनि चिया पिउनेहरुको उत्तिकै भीड लाग्न थाल्यो।
पसल समान्य छ, बस्न १५/२० वटा बाँसका टुलहरु छन्। दिनभरि जसो चिया खानेहरुको लर्को नै लाग्छ यहाँ।
उनको चिया पसलमा दैनिक ६०० भन्दा बढी ग्राहक आउने गर्छन्। विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म चिया बेच्छिन्।
पत्नीले बनाएको चिया किट्लीमा हालेर उत्तरतर्फ मध्यबानेश्वर, दक्षिणतर्फ पीपलबोटसम्म दर्जनौं पटक हानिन्छन् उनका पति ध्रुव। त्यत्ति गरेपछि १० बजे अफिसको लागि निस्कन्छन्। अहिले उनी खानेपानी कार्यालयमा सरकारी जागिरे भएका छन्। अफिसबाट फर्किएपछि फेरि पसलमै सघाउन थाल्छन्। गिलास उठाउने, भाँडा माँझ्ने र राति ९ बजेसम्म चिया पुर्याउने। हातमा किट्ली, गर्दनमा गिलासका झोला बोकेर उनी ग्राहकका अर्डर अनुसार चिया पुर्याउन पुग्छन्। श्रीमतीलाई गज्वबको साथ दिन्छन्।
उनले चियाबाट जीवनको बाटो खोजिन र तल्लिन भएर काम गर्न थालिन्। यसैले पेशाले उनलाई शिखरमा पुर्यायो।
चिया पसलबाट कमाएको नाफाले उनीहरूले भक्तपुरको बालकुमारीमा दुईवटा घडेरी किनेका छन्। अब छिट्टै घर बनाउने तयारीमा पनि छन्। त्यस सँगसँगै उनका सपनाहरु पनि पुरा हुँदै गइरहेका छन्। छोराको भविष्य सम्झेर चिया बेच्न सुरु गरेकी बिमलाका छोरा राजधानीकै एक नामी कलेजमा पढ्छन्। फुटबल खेलाडीसमेत बनेका उनी आज देश विदेशमा फुटबल खेलमा प्रतिस्पर्धा गर्न पुग्छन्। उनीहरूले फुटबल खेल्नका लागि छोरालाई आफ्नै खर्चमा अमेरिका, फ्रान्स र जर्मनी पठाए।
अहिले बिमलाको कमाइ महिनाको कम्तिमा ६० हजारसम्म पुग्छ। बिमलाले चियाको बाफसँगै सास फेर्दै सुन्दर जिन्दगीको कल्पना गर्न थालेको पनि १८ वर्ष वितिसकेछ। उनी भित्र उत्साह र उमङ्गले अँगालो मारेकै छ। जीवनको गाडी सुचारु ढंगले चलिरहेकै छ। उनी जस्ता कैयौं महिला रोजगारीका निम्ति खाडी मुलुक पुगेका बेला उनी भने समाजमा एउटा उदाहरण बनेकी छन्।
उक्त चिया पसल विमला भण्डारीको हो जुन विमला दिदिको नामबाट प्रख्यात छ। पुरानो बानेश्वरमा मिठो चिया पाउने ठाउँ भन्यो भने अधिकांशले चिनिहाल्छन् ।