सचिवालय बैठककाे विवाद साम्य नहुँदै तीन नेता एउटै मञ्चमा

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’र बरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार एउटै मञ्चबाट कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन्।

राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय ओली र प्रचण्ड, बरिष्ठ नेता नेपाललगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्दै छन्। 

बुधबार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवादले उग्र रूप लिएको छ। प्रधानमन्त्री ओलीले सचिवालयको उक्त निर्णय नमान्ने र अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने बताएका छन्।

विवाद साम्य नभए पनि आज दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।

यसअघि ४ फागुनमा कोहलपुर (बाँके) मा भएको प्रदेश–५ स्तरीय र ६ फागुनमा सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओली उपस्थित थिएनन् भने १२ फागुनमा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड सहभागी भएनन्।  

कोहलपुरको कार्यक्रममा अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल उपस्थित थिए भने सुर्खेतको कार्यक्रममा प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए। 

प्रकाशित मिति: : 2020-02-28 02:33:30

प्रतिकृया दिनुहोस्