मोरङको सुन्दरहरैंचा नगरपालिका–५ गौशालाकी १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी) को आत्महत्या घटना अनुसन्धानका क्रममा थप एक युवा पक्राउ परेका छन् ।
‘ब्ल्याकमेलिङ’ गरेर पैसा माग्दै प्रीतिलाई तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सुन्दरहरैंचा–४ का २३ वर्षीय हिमाल आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ।
यसअघि फेसबुकमा नजिकिएका सुन्दरहरैंचा–४ का २४ वर्षीय ऋषिराम भट्टराईले प्रीतिसँगको शारीरिक सम्पर्कको भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गर्दै नियमित पैसा माग्न थालेपछि उनले फागुन ८ गते बिहीबार दिउँसो झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार ऋषिरामले यौन सम्पर्क गरेको भिडियो बनाएर अर्कै ‘फेक’ फेसबुक आइडीमार्फत ‘ब्ल्याकमेलिङ’ सुरु गरेर प्रीतिसँग नियमित पैसा माग्न थालेका थिए।
‘ड्याजेलिङ क्विन’ नामको अर्को ‘फेक’ फेसबुक बनाएर ‘ब्ल्याकमेलिङ’ र पैसाको ‘बार्गेनिङ’ गरेका ऋषिरामले त्यो आइडीबाट भने दीपा नाम गरेको केटी बनेर प्रीतिसँग कुरा गर्ने गरेका थिए।
त्यस क्रममा उनले यौन सम्पर्क गरेको भिडियो फेसबुकमा पोष्ट गरिदिने र नभए आफूलाई पैसा दिनुपर्ने भन्दै भन्दै प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्ने गरेका थिए।
‘ऋषिरामले कहिले दुई हजार त कहिले पाँच हजार रुपैयाँ गरेर नौ पटकसम्म प्रितिबाट पैसा लिएको खुलेको एसपी अधिकारीले जानकारी दिए। ‘उनी आफैंले ‘बार्गेनिङ’ गरे पनि पैसा लिनलाई अर्कै युवतीको प्रयोग गर्ने गरेको खुल्यो,’ एसपी अधिकारीले भने।
‘ब्ल्याकमेलिङ’ गरेर पैसा दिने लिने टुंगो भइसकेपछि ऋषिरामले त्यो पैसा लिनलाई सुन्दरहरैंचा–६ की १९ वर्षीया सञ्जिता निरौलालाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार सञ्जिता भने दीपा नाम गरेकी केटी आफूनै भएको भन्दै पैसा लिन पुग्ने गरेकी थिइन्।
ऋषिराम र सञ्जितालाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा यो घटनामा आचार्यको पनि संलग्नता रहेको पत्ता लगाएको हो।
ऋषिराम र आचार्य साथी हुन्। उनीहरुकै मिलेमतोमा ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ हुने गरेको निश्कर्षमा प्रहरी पुगेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकी नेतृत्वको प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको छ।
‘फेक’ फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्दै पटक–पटक पैसा माग्ने क्रम नरोकिएका कारण दिनलाई आफूसँग पैसा नभएपछि र भिडियोका कारण बद्नाम हुने डरले प्रीतिले डेरा बसेको घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पछिल्लो पटक पक्राउ परेका आचार्यले पनि केटी बनेर प्रीतिसँग ऋषिराम जस्तै कुराकानी र ‘ब्ल्याकमेलिङ’ तथा ‘बार्गेनिङ’ गर्ने गरेको खुलेको एसपी अधिकारीले बताए।
पक्राउ परेका तीनै जना विरुद्ध प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा चलाउन अदालतबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ । यो मुद्दा स्थापित भए पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ।
‘सजिलै पैसा कमाउने हिसाबबाट केही व्यक्ति मिलेर ‘फेक’ फेसबुक बनाउँदै योजनावद्ध ढंगले यो काम गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘यौन सम्पर्क गरेको भिडियो फेसबुकमा हालिदिने धम्की दिँदै पटक–पटक ‘ब्ल्याकमेलिङ’ गर्न थालेपछि पैसा दिन नसकेर र बेइज्जत हुने डरले विवाहित युवतीले आत्महत्याको बाटो रोजेको अनुसन्धानबाट खुलेको छ।’
परिवारबाट छुट्टिएकी प्रीति दुई वर्षे छोरी र श्रीमानसँगै भीमकुमारी ढकालको घरमा डेरा बस्थिन्। प्रीतिका श्रीमान सवारी चालक हुन्। उनी झुन्डिएको कोठा भित्र एउटा ‘सुसाइड नोट’ र प्रीतिले प्रयोग गर्ने मोबाइल फेला परेको थियो। ‘सुसाइड नोट’ र मोबाइललाई आधार मान्दै प्रहरीले अनुसन्धान अघि बढाएपछि पैसा कमाउने उद्धेश्यले ‘ब्ल्याकमेलिङ’ गरेर आत्महत्या गर्न बाध्य पार्नेहरु पक्राउ परेका हुन्।
‘सुसाइड नोट’ मा प्रीतिले पनि आफूसँग फेसबुकमार्फत ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्ने गरिएको खुलाएकी छन्। बारम्बार दिँदा समेत ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ नरोकिएको र आफूसँग सधैँ भरी पैसा नहुने हुँदा दिन नसकेको अवस्थामा भिडियो पोस्ट गरेर बद्नाम गराउन सक्ने भएकाले त्यो सहन नसक्दा आत्महत्या गर्ने निर्णयमा पुगेको उनले नोटमा उल्लेख गरेको एसपी अधिकारीले बताए।
प्रीतिको मोबाइल र फेसबुक म्यासेन्जरमा पनि एक वर्षदेखि ‘ब्ल्याकमेलिङ’ गरिरहेका धेरै प्रमाणहरु फेला परेको उनको भनाइ छ। शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो।
एसपी अधिकारीले आत्महत्या गरेको दिन पनि प्रीतिसँग ‘बार्गेनिङ’ गरेका प्रमाणहरु फेला परेको जानकारी दिए। ‘बिहान ‘ब्ल्याकमेलिङ’ गर्दै पैसा मागेको खुलेको छ,’ उनले भने, ‘आफूसँग पैसा नभएको जवाफ दिएकी प्रीतिले दिउँसो झुन्डिएर आत्महत्या गरेको पत्ता लाग्यो।’ उनकाअनुसार ‘ब्ल्याकमेल’ गर्दै लगातार पैसा माग्न थालेपछि तनावमा रहेकी प्रीतिले चार महिनादेखि ‘डिप्रेशन’को औषधि समेत सेवन गर्दै आएको खुलेको छ।