टेलिकमको लाेडसेडिङ : प्रयाेगकर्ता भन्छन्– नेटवर्क कुन चाहिँ जी हो भनेर कसलाई प्रश्न गर्ने?

द्वन्द्वकालमा एउटा नारा खुब चर्चित थियो, ‘एक्बुसमा परेको पुलिस, चुइगम पट्काउँदा पनि तर्सिन्छ।’ कर्णालीमा आजभोली मोबाइल नेटवर्कको ताल त्यस्तै छ। बादलको एक सानो टुक्रा देखियो भने टावर गायव भईजान्छ।

‘यो हिउँदभरी टावरको लुकामारी चलिरह्यो। चिसोले जाम भयो कि सोचेको, वादलले काम नलाग्ने हुँदो रहेछ,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बिएल नेपालीसँग व्यंग्य गर्दै बोले, ‘टेलिकम फोर जी भन्छ। टू जीको डब्ल फोर जी भैसक्दा पनि नेटवर्क कुन चाहिँ जी हो भनेर कसलाई प्रश्न गरौं?’

टेलिकमको सेवा प्रभाकारी नभएको सर्वसाधारणको गुनासो छ। पछिल्लो समय फोन नहुँनु एक अत्यावश्यक साधन गुमेजस्तै हुन थालेको छ। तर, अत्यावश्यक भनिएको साधन नै काम नलाग्ने भएपछि असाध्यै रिस उठ्ने गरेको बताउँछन् चन्दननाथ १० बोहरा गाउँकी कमला सार्की।

‘यो मोबाइल ठाँडो क्या भया होला?’ टावर नआएपछि काम नलाग्ने भएको भन्दै उनी भन्छिन्, ‘चाइका भाँडो, अचाइका ठाँडो भयो, मोबाइल।’

घर आगन नजिकै टेलिकमको टावर हुँदा पनि आवश्यक परेको बेला आफन्तसँग कुरा गर्न नपाएपछि मोवाइमा खर्च गर्नु व्यर्थ भएको बताउँछिन् हिमा गाउँपालिका ५, बुअकी गौकला शाही। उनको घर नजिकै नेपाल टेलिकमको टावर ठडिएको छ। घरैनजिक टावर भएपछि उनलाई मोबाइल किन्न करै लाग्यो। तर, हाल आएर मोबाइल बेकारमा किनियो कि भन्ने झै लागेको छ, उनलाई।

‘जतिबेला अपर्झट परेको हुन्छ, त्यतिबेला फोन लाग्दैन। आपतविपतमा चहिएला भनेर फोन किनियो,’ उनी भन्छिन्, ‘फोन नलागेपछि एक गाउँबाट अर्को गाउँमा खबर गर्न मान्छे नै कुदाउनुपर्छ। काम नलाग्ने मोबाइल किनेर पनि क्या काम भयो त?’ 

टेलिकमले घरै अगाडि देखाउनलाई भएपनि टावर ठड्याइदिएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्त नातेदारहरुसँग कुरा गर्न नपाएको उनको गुनासो छ। 

हिमा गाउँपालिकाको समस्या आजको होइन। लामो समय अघिदेखि टावर राखिएको भएपनि सेवा प्रभावकारी हुन नसकेको गाउँपालिकाका कार्यकारी अधिकृत टोप बहादुर बुडा बताउँछन्। ‘टावर नहुँदा सर्वसाधारण संचार बिहिन छन् भने इन्टरनेट सुविधा नहुँदा दैनिक कार्य सञ्चालनमा कठिनाइ हुने गरेको छ,’ उनले भने,  ‘टेलिकमको जिल्ला कार्यालयदेखि विभागसम्म डेलिसन जाँदा पनि सुनुवाई भएको छैन।’

हामीले टेलिकमका निमित्त शाखा प्रमुख पदमबहादुर महतारालाई के भएको भनी सोध्दा कालिकोटको भर्तास्थित रिपिटर टावरमा समस्या आएको बताए। ‘एक हप्ता यता बर्षात भएर रिपिटर टावरमा चट्याङ परी (सेक्टी फायरको मोडुल) बिग्रीएपछि हप्तादिन देखि टावर आउने जाने भइरहेको छ,’ उनले भने।

उनकाअनुसार जुम्लाबाटै मुगु, डोल्पा र हुम्लासमेत हेर्नुपर्छ। डोल्पाका लागि जुम्लाको चिमारा मालिका लेकमा रिपिटर टावर जडान गरिएको छ। मुगु र हुम्ला दुवैको डाँफे लेकमा लिंक गराइएको छ। कर्मचारी अभाव हुँदा पनि गुणस्तरीय सेवा हुन नसकेको उनले स्वीकारे।

त्यस्तै टेलिकमको कालिकोट शाखा प्रमुख प्रेमसिंह बिष्टले रिपिटर टावरसँगै, दिनमा राम्ररी घाम नलाग्दा सौर्य ऊर्जामा पनि समस्या आएको बताए। उनले बिहीबारबाट सकेसम्म  समस्या नआउने भने पनि टेलिकमको सेवा प्रति सर्वसाधारण ढुक्क हुन सकिरहेका छैनन्। त्यसैमध्यका एक हुन, चन्दननाथ नगरपालिका ४, माला भीडका देवी सिंखडा। उनका अनुसार सदरमुकाम खलंगामा एक सातादेखि टेलिफोन सेवा प्रभावित भइरहेको छ।

फोन नलाग्ने, लागेपनि अधिंकाश समय कुरा नबुझिने, रिङटोनका नाममा नियमित पैसा काटिने लगायत सास्ती भोग्नु परिरहेको सर्वसाधारणको गुनासो छ। ‘संचारजस्तो महत्त्वपूर्ण क्षेत्रमा लोडसेटिङ हुन थालेपछि सुचना प्रविधिको विकास कुन गतिमा अगाडि बढ्ला?’, भन्दै प्रश्न गर्छन् चन्दननाथ ३ खोलीकोटका भरत खत्री।

प्रकाशित मिति: : 2020-02-27 22:01:07

प्रतिकृया दिनुहोस्