आजकाे माैसम : देशका केही ठाउँमा पानी पर्ने, आइतबार र साेमबार झरी पर्ने

आज शनिबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन्।

मौसम पुर्वानुमान महाशाखाकाअनुसार आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ। हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उनले बताइन्। उनकाअनुसार भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि सोमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ। 

यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको साथै पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन १० गते (शनिबार)

दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ |

फागुन ११ गते (आईतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ।

प्रकाशित मिति: : 2020-02-22 21:01:04

प्रतिकृया दिनुहोस्