रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेमा रहेको डिग्रे शाहीकुमारी मन्दिरको साँढे ४२ रोपनी गुठीको जग्गा मन्दिरको नाममा फिर्ता हुने भएको छ । शान्ति स्थापनापछि स्थानीयवासीलाई बिक्री गरिएको उक्त जग्गा फिर्ता हुने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार कित्ता नम्बर ३३१ को तीन हजार ८०५ वर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन माओवादीले स्थानीयवासीलाई बिक्री गरेको थियो । त्यसबाहेकको जग्गा भने शान्ति स्थापनापछि मन्दिरकै स्वामित्वमा आइसकेको थियो । विसं २०६२ चैत २९ गते माओवादीद्वारा सञ्चालित ‘जनसत्ता’ मार्फत कित्ता नम्बर ३३१ को जग्गा स्थानीय सर्वजित भनिने जीतबहादुर पुनले खरीद गरेका थिए। पुनले जग्गा छाड्न लागेपछि मन्दिरको नाममा आउने भएको हो । मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेरै उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याउन लागेको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले बताए।
उनका अनुसार आफ्नै नामको जग्गामा अर्कैको हकभोग रहेको भन्दै मन्दिर व्यवस्थापन समितिले २०७५ वैशाख २१ गते रुकुमकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले २०७५ पुस ८ गते उक्त जग्गा मन्दिरकै भएकाले हकभोक पनि उसैको हुने भनेर फैसला गरिदिएको थियो । अदालतले मन्दिरका नाममा जग्गा फैसला गरिदिँदासम्म पनि जग्गा स्वामित्वमा नआएपछि समितिले पटक–पटक पुनसँग छलफल गरेको थियो । आगामी जेठ १५ गतेभित्र सर्वजितले ठाउँ छाड्ने र बनाएको संरचना उठाउने सहमति भएको गौतमले बताए।
उनका अनुसार समितिका पदाधिकारी, पुन र वडा नं–८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो । सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने छ ।