महाशिवरात्रिका दिन आज सात लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेका छन्।
बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर जलधारासहित अखण्ड पूजन भइरहेको छ र यो समाचार तयार गरिएका बेलासम्ममा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ।
आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले बताए।
अपराह्नदेखिको झरीको कुनै पर्वाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उहाँले जानकारी दिए।
पचपन्नवटा धार्मिक–सामाजिक सामाजिक संस्थाले वनकालीमा एकीकृत रुपमा करीब पाँच हजार भक्तजनको सुुविधाका लागि भोजन, घामपानी छेक्ने त्रिपाल र पण्डाल खडा गरेका तथा भारतबाट आएका झण्डै २५०० तीर्थयात्रीका लागि त्यस्तै सुरक्षित संरचना बनाइएकाले तीर्थयात्रीको बिचल्ली नभएको पराजुलीले स्पष्ट पारे।
साधु, सन्त, महन्त, नागा बाबालगायतलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ। महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा सुरक्षालगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई कोषसहित सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहभाागितामा एकीकृतरुपमा सुदृढ तुल्याइएको र कुनै किसिमका अप्रिय घटना नभएका प्रहरी वृत्त गौशालले जनाएको छ।