बारीमा काम गर्न निस्किएकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु 

घर नजिकैको बारीमा काम गर्न निस्किएकी मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीकी एक वृद्धाको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ । 

हात्तीले आक्रमण गर्दा ६३ वर्षीया लेखमाया गुरुङको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेखमाया बुधबार साँझ बारीमा काम गर्न निस्किएको जानकारी प्रहरीलाई परिवारका सदस्यले दिएका छन् । घर नफर्किएपछि खोजी गर्दै जाने क्रममा राति १२ बजे गम्भीर घाइते अवस्थामा परिवारका सदस्यले फेला पारेका थिए । तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएकी वृद्धाको उपचारका क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको डीएसपी राईले बताए । 

घटनास्थलमा हात्तीको पाइला र हात्तीले खोस्रिएका डोब भेटिएका छन् । ‘घटनास्थलको प्रकृति हेर्दा साँझका समयमा बारीमा काम गर्न गएकी महिलालाई हात्तीले उठाएर अलि पर पुर्‍याएपछि मारेको प्रष्ट हुन्छ ’ राईले भने, ‘हात्तीले घटनास्थल वरपर मकै र तोरी बारीमा पनि खाएर क्षति पुर्‍याएको छ ।’ 

हात्तीले स्थानीय रामबहादुर खड्काको घरमा र वरपर लगाइएको बालीनालीमा पनि सामान्य क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बालीनाली तथा घरमा क्षति पुर्‍याउँदै मच्चाएको उपद्रो र घटनास्थलको प्रकृति हेर्दा वृद्धाको मृत्यु हात्तीकै आक्रमणबाट भएको पुष्टि हुने डीएसपी राईको भनाइ छ ।

उनले वृद्धाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

प्रकाशित मिति: : 2020-02-20 23:07:55

प्रतिकृया दिनुहोस्