विराटनगरमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ जम्मा हुने भएका छन्।
विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था नेसोग पूर्व क्षेत्रीय शाखाको संयुक्त आह्वानमा दक्षिण एसियालीसहित विभिन्न मुलुकका बरिष्ठ स्त्री रोग विशेषज्ञ आउने भएका हुन्।
विशेषज्ञहरुको उपस्थितिमा शुक्रबार र शनिबार ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने छ। यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको हो।
विराट मेडिकल कलेजका अध्यक्ष तथा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने जानकारी दिए। सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत रहने छन्।
फागुन १० गते शनिबार विशेषज्ञ चिकित्सकबाट प्रतिवद्धतासहितको स्वेत पत्र जारी हुने कार्कीले बताए। ‘यस सम्मेलनबाट महिलाको स्वास्थ्य अवस्थाका विषयलाई लिएर अति नै प्रतिष्ठित र विशिष्ट अभियान चालिने छ,’ उनले भने, ‘त्यस क्रममा महिलामा देखा परेका विभिन्न जटिल रोगको शल्यक्रिया निःशुल्क गरिने छ।’
उनकाअनुसार २० जना महिलाको जटिल खाले शल्यक्रिया निःशुल्क गर्ने योजना बनेको छ। कार्कीले विश्वका बरिष्ठ स्त्री रोग विशेषज्ञले आफ्नो अनुभव साटासाट गर्दै शल्यक्रियामार्फत महिलामा देखिएको समस्याको निदानको प्रयास गर्ने छन्।
उनका अनुसार योनी बनाउने, पिसाब चुहिने, पिसाब बन्द हुने लगायतका महिलासँग सम्बन्धी विभिन्न खाले समस्याको जटिल खाले शल्यक्रिया हुने छन्। विश्वका स्त्री रोग विशेषज्ञले अहिलेसम्म दुई युवतीको योनी बनाउने र तीन जनाको पिसाब चुहिने समस्याको अन्त्यका लागि शल्यक्रिया गर्ने तय भएको उनको भनाइ छ।
त्यो बाहेक महिलाको पिसाब बन्द हुने, आङ् खस्ने लगायतका समस्याको जटिल खाले शल्यक्रिया विश्वका चिकित्सकको उपस्थिति र प्रत्यक्ष संलग्नतामा विराट मेडिकल कलेज भित्रै हुने कार्कीले बताए।