‘क्यान इन्फोटेक–२०२०’ सकियाे, ५ लाखले गरे अवलोकन

महेशराज पाण्डे

काठमाडाै‌ं

सूचना प्रविधिमा रुचि राख्ने करिब ५ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ ‘क्यान इन्फोटेक–२०२०’ सकिएको छ। फागुन २ गतेदेखि ७ गतेसम्म चलेको मेलाको अन्तिम दिन ८५ हजारभन्दा बढीले मानिस भृकुटीमण्डप पुगेका आयोजकको दाबी छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले फागुन २ गतेदेखि आयोजना गरेको २६ औं संस्करणको ‘क्यान इन्फोटेक–२०२०’ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको जनाएको छ।

सूचना प्रविधिसँग सम्बन्धित वस्तुहरु तथा शिक्षा सम्बन्धित कुराहरु समाबेश गरेर मेलामा १२७ वटा स्टलहरु राखिएको थियो। मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए। 

मेला व्यवस्थाका सचिव हर्कबहादुर सेठ्ठिले पहिले भन्दा राम्रो र व्यवस्थित तरिकाले मेला सम्पन्न भएको बताए। ‘सुरुकै दिनबाट अवलोकनकर्ताहरुको उपस्थिति राम्रो थियो,’ उनले भने,‘ व्यवसायीहरुले मेलामार्फत अवलोकनकर्ताहरुले सामान र सेवासुविधाको विशेषता र फाइदाबारे जानकारी दिएका कारण उत्साहजनक रुपमा समापन भएको छ।’

मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्ड, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरालगायतमा अवलोकनकर्ताले विशेष रुचि देखाएका उनले बताए।

जानकारी नभएका र कहिलै नदेखेका केही वस्तुपनि मेलामा राखिएकाले अवलोकनकर्ताहरुकाे भ्रम र जिज्ञासा समेत समाधान गरिदिएको उनले दाबी गरे। यसका साथै उनले अवलोकनकर्ताबाट मेलाको अवधि छोटो रहेको गुनासोका साथै अवधि अलि बढाउन र एकवर्षमा दुई पटक मेलाको आयोजना गर्न आग्रह गरेकाे बताए। अर्को वर्षदेखि वृहत रुपमा मेलाको आयोजना गरिने उनकाे भनाइ छ ।

मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो। मेलामा घुमफिरका लागि मात्रै भन्दा पनि सूचना प्रविधिसँग चासो राख्नेहरुको उपस्थिति बाक्लो रहेको कारण सफल भएको उनले जानकारी दिए।    
 

प्रकाशित मिति: : 2020-02-20 07:24:20

प्रतिकृया दिनुहोस्