चीनबाट १७५ नेपालीलाई एयरलिफ्ट गरेको विमान त्रिवि विमानस्थलमा अवतरण

कोरोना भाइरस प्रकोपमा परेको चीनमा फसिरहेका १७५ नेपालीलाई लिएर उडेको नेपाल एयरलायन्सको जहाज विहान २ बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

विमानमा आउन भेला भएका १८५ मध्ये ६ जनामा उच्च ज्वरो देखिएपछि चीनमै रोकिएका थिए भने चारजना अन्तिम अवस्थामा नेपाल फर्कन मानेनन् ।

फर्कनेमा धेरैजसो चीनका विभिन्न भागमा अध्ययरत नेपाली विद्यार्थी रहेको बताइएको छ। यसैगरी एकजना कामदार भिसामा रहेका नेपाली र सातजना चीन घुम्न गएका पर्यटक रहेको जनाइएको छ।

कोरोना भाइरसका कारण ज्यान जोखिममा रहेका नेपालीको उद्धारका लागि सरकारले उनीहरूलाई नि:शुल्क एयरलिफ्ट गरेको हो ।

एयरलिफ्ट गरिएका स्वास्थ्य परीक्षण गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा लगिने बताइएको छ। उनीहरूलाई त्यहाँ १५ दिनसम्म राखिने छ । त्यसअवधिमा उनीहरूमा कोरोना भाइरस (कोभिड १९) नभएको प्रमाणित भएपछि घर जान दिइने छ। 

  

 

प्रकाशित मिति: : 2020-02-16 14:32:13

प्रतिकृया दिनुहोस्