अमेरिकाको समृद्धिमा नेपालको पनि अंश लाग्छ

डा. उत्तम गौली

काठमाडाैं

कसैले मलाई प्रश्न गर्याे, अमेरिकाकाे समृद्धिमा नेपालकाे अंश लाग्छ? म सहजै भन्ने छु, लाग्छ। मैले यसाे भन्नुमा पनि धेरै कारण छन्। सर्वप्रथम त अमेरिका हाम्रो मित्र राष्ट्र हो। त्यसकारण नेपालले मित्रको हैसियतले सहयोग माग्ने र लिने हक राख्छ। त्योभन्दा अझै महत्वपूर्ण कुरा के भने नेपालको प्रारम्भिक लगानीमा पढेर यहॉं आएका डाक्टर, इन्जिनियर, अर्थशास्त्री, प्राध्यापक, गणितज्ञ, व्यवस्थापक, वकील, अनुसन्धाता, आविष्कारक,  व्यापारी, कृषक, आर्किटेक्ट, फेसन डिज़ाइनर, सूचना–प्रविधि विज्ञ, फार्मासिस्ट, सफ्टवेयर डेभलाेपर, साइबर–सेक्युरिटी विज्ञ, बैंकर, तथ्याङ्क विश्लेषकजस्ता व्यावसायिक व्यक्ति र अन्य विभिन्न किसिमका कम्पनीमा काम गर्ने पेशाकर्मीले रातदिन मेहेनत गरेर अमेरिकाको अर्थतन्त्रमा टेवा दिएका छन्।

ती सबैले आफ्नो कमाईंबाट ट्याक्स तिर्छन्। यहॉं सबै कम्पनी, संस्था, व्यक्तिले कमाईंको केही भाग छुट्टाउने र मानव–कल्याणको लागि अनगिन्ति “च्यारिटी” मा दान दिने प्रचलन छ। सरकारले पनि गरिबी निवारणको लागि, विभिन्न रोग निवारणका लागि, साक्षारता र उद्यमशीलता बढाउनका लागि, सुशासन, लोकतन्त्र र मानवाधिकार प्रवर्द्धनका लागि केही रकम छुट्ट्याउने गर्छ। 

हालै नेपालीमूलका केही व्यक्ति यहॉं निर्वाचित पनि भएका छन्। पर्वतका हिरबहादुर (ह्यारी) भण्डारी मेरील्याण्डको राज्यसभामा सांसद भएका छन्। उनले आफ्नो सपथग्रहण हिन्दू धर्मग्रन्थ वेदलाई साक्षी राखेर गरेका थिए। झापाका किरण सिटौला यहॉंको इण्डियन हेड नगरको उपमेयर भएका छन्। उनले बौद्ध धर्मग्रन्थ दोमाङ्ग छोए पद तथा गोपनीयताको सपथ लिएका थिए।

त्यस्तै भर्जीनिया राज्यको हर्नडन टाउनमा प्रदीप ढकाल र हे–मार्केट टाउनमा मधु पन्थी काउन्सिलम्यानमा निर्वाचित छन्। यस्ता निर्वाचित व्यक्ति यहॉं सरकारी र गैरसरकारी निकायमा काम गर्ने नेपालीले हरेक दिन अमेरिकी नागरिकको विश्वास जित्छन्। त्यसैले अमेरिका हाम्रो मित्रशक्ति मात्रै होइन, लाखाैं नेपालीको कर्मभूमि र अन्य लाखौं दोश्रो पुस्ताका नेपालीको जन्मथलो पनि हो। यी सबै नेपालका अनौपचारिक संस्कृतिदूत पनि हुन्, जो मौका पर्दा नेपालको लागि आवाज पनि उठाउँछन्।

भारतले  नेपाललाई हेप्यो भनेर हजारौं नेपालीले ह्वाइटहाउस अगाडि जम्मा भएर विरोध गर्ने र गुहार माग्ने काम पनि गरेकै हुन्। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएकाे देश हाे। यसैले विकासोन्मुख देशले अमेरिकासँग सहयोग माग्ने गरेका छन् र अमेरिकाले दिँदै पनि आएको छ।

नेपालमा गर्भवती महिलाले अमेरिकाबाट पठाउने गरेकाे भिटामिनका क्याप्सुल समयमै नपाएकाे भए, गर्भवती महिलालाई कड़ा काम गराउनु हुँदैन भनेर रेडियो नाटक, सडक नाटकजस्ता जनचेतनामुलक अभियानमा अमेरिकाले पैसा खर्च  नगरेको भए अहिले एमसीसी मुर्दावाद भनेर नारा लगाउने कैयौं नेपाली गर्भमै तुहिन्थे हाेलान्। 

आफ्नो देशका ८० करोड जनतालाई गरिबीको रेखामुनिबाट माथि ल्याउन चीनका तत्कालिन राष्ट्रपति देङ स्याओ पिङले अमेरिकासँग सहयोग लिएका थिए। नेपालका राजाहरुले पनि मातृशिशु मृत्युदर घटाउन र औलोलगायत रोगविरुद्ध लड्न अमेरिकाको सहयोग लिएकै हुन्। 

अमेरिकाबाट यस्तो मानवीय सहयोग प्राप्त नभएको भए नेपालमा गर्भवती महिलाले अमेरिकाबाट पठाउने गरेकाे भिटामिनका क्याप्सुल समयमै नपाएकाे भए, गर्भवती महिलालाई कड़ा काम गराउनु हुँदैन भनेर रेडियो नाटक, सडक नाटकजस्ता जनचेतनामुलक अभियानमा अमेरिकाले पैसा खर्च  नगरेको भए अहिले एमसीसी मुर्दावाद भनेर नारा लगाउने कैयौं नेपाली गर्भमै तुहिन्थे हाेलान्। 

अमेरिकाले खोलिदिएको कलेज अफ एजुकेशनबाट तालिमप्राप्त शिक्षकबाट साक्षर भएका कतिपय मान्छेले एमसीसी सम्झाैताकाे विराेध गर्नुकाे सट्टा यसमा के लेखिएको छ, त्याे आफै पढे कति बेस हुन्थ्याे हाेला। यदि उनीहरुले  अमेरिकासँग डराउने तानाशाह र अधिनायकवादीले लुकाएर बॉंडेका अमेरिका विरोधी किताब पढेका छैनन् भने अमेरिकाको समृद्धिमा नेपालको हक कसरी लाग्छ भन्ने कुरा सजिलै बुझ्ने थिए। 


 

प्रकाशित मिति: : 2020-02-16 08:33:00

प्रतिकृया दिनुहोस्