राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौ-कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौं-५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले काठमाडौं -५ लाई संगठनको दृष्टिकोणले मुलुककै नमुना क्षेत्र बनाउन आग्रह गरे। ‘हामीले तातै खाऔं भनेर अलि हतार गर्‍यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन् , बिगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी निर्माण गर्नुपर्छ’, थापाले प्रतिबद्धता जनाए।

कांग्रेस, कम्युनिष्टले पटक-पटक अवसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले काङ्ग्रेस कम्यूनिष्टको विकल्पको रूपमा राप्रपालाई स्थापित गराउनुपर्ने आवश्यकता औल्याए।

मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र मुलुकको निम्ति उपर्युक्त भएको थापाको जिकिर थियो।

कार्यक्रममा पार्टीका कार्य सम्पादन समितिका सदस्य जयकुमार खड्का, केन्द्रीय सदस्य केशव रेग्मी, सुनिता कुरूङ्वाङ, प्रबल नरसिंह राणा, सन्तोष अधिकारी , सुरज अधिकारी र तेज बहादुर गुरुङ लगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2020-02-16 04:20:17

प्रतिकृया दिनुहोस्