केही वर्ष भयो, प्रणय दिवशको दिन सामाजिक जञ्जालको भर्चुअल भ्रमण गरेरै बिताउँछु म। समाजशास्त्रको एक विद्यार्थी हुनुको नाता म यस दिनलाई गजबको अवसरका रूपमा लिन्छु। यो दिन सामाजिक सञ्जालमा मानिसले जे जस्ता तस्विर, धारणा, संस्मरण, प्रतिक्रिया राखेका हुन्छन्, ती मेरा लागि गजबका स्रोत सामग्री बन्छन्- विषयवस्तु समीक्षाका लागि।
आजको दिन, मेरो दिमाखमा अनेकौ प्रश्नहरू झुत्ती खेल्न आउँछन्। केही नयाँ, केही पुराना। जस्तो कि, हाम्रो समाज कति प्रेमील हुदैछ? हामी कति ग्लोबलाइज्ड भयोै या कति ग्लोकलाइज्ड हुन सक्यौैं। प्रेमको कति मज्जाले पाराडाइम सिफ्ट भैरहेको छ । आमसञ्चारको एक विशेषता सामाजिकीकरणको कोणबाट भ्यालेन्टाइन डेले कसरी एजेण्डा सेटिङ गरिरहेको छ ? मायाप्रितिका बारेमा खासै नखुल्ने नेपाली समाजका चौबन्दी तुना कति मजाले खोलिदै छन् ?
नेपाली समाजमा पारपाचुके सामान्य भैसक्यो। श्रीमान् श्रीमती, प्रेमी प्रेमिकाको हत्याको ग्राफ उकालो लागिरहेको छ। विवाहेत्तर सम्बन्ध समाजको एक अभिन्न अंग नै भैसक्यो। घरेलु हिंसाबाट आधा आकाश आक्रान्त छ। तैपनि फेब्रुअरी १४ किन रातो हुँदैछ र बढ्दैछ गुलाफको खेती । अनि यस्तो पृष्ठभूमिमा कसरी बन्दैछ नेपाल - रोज रिपब्लिक ?
शहीद दिवस र प्रजातन्त्र दिवस जस्तै वर्षमा एकपटक मनाउने उत्सव हो र प्रेम ? छ भने यो अविरल गतिशील छ । छैन भने सोसल मिडियामा एकदिन छचल्किएको चोचोमोचोको के अर्थ ?
- विष्णु निष्ठुरी , कवि/पत्रकार
प्रश्न यो कोणबाट पनि उठ्छन् । यो वा त्यो जुन कोणबाट उठे पनि उत्तर खोज्न सजिलो छैन। उत्तर भेटिए नै भने पनि ती उत्तर नै प्रियकर लाग्दैनन् हामीलाई।
यी प्रश्नहरूसँगै नोस्लजिक भएँ म। अनि समयलाई पचासको दशकको सुरूवाततिर लगें । त्यतिबेला नेपालमा भ्यालेन्टाइन डेको नामोनिशान पनि थिएन। एउटा ठूलो तप्का कम्युनिष्ट थियो, उसका लागि यो पश्चिमा बुर्जुवा कुरा थियो र बर्जित थियो। अर्को तप्काका लागि प्रेम खासै खुलेर गरिने कुराको मेनु थिएन।
यही मेसोमा नेपाल एफएम रेडियो आयो। र, त्यसले समाजलाई दिएका अनेकौ उपहारमध्ये एउटा थियो, भ्यालेन्टाइन डे। नेपालमा भ्यालेन्टाइन डे प्रिलञ्च, लञ्च र पोष्ट लञ्च सबैमा यसको अथाह योगदान छ। आफू पनि नेपाली एफएमको पहिलो पुस्ताको रेडियो जकी भएकाले धेरथोर मेरो पनि योगदान छ। त्यतिबेला फेब्रुअरी १ देखि २० सम्म भ्यालेन्टाइन डेको कुरा नगर्ने रेडियो जकीका कार्यक्रम फिक्का लाग्थे, गाढा बनाउनलाई जानी नजानी मैले पनि मेरा कार्यक्रमलाई गुलावी बनाएको थिएँ।
मैले ठीक गरें या बेठीक? अहिले आएर यसै भन्न सक्दिन। तर, ग्लोकलाइजेसन गर्न नसकेर आफू पनि ग्लोबलाइजेसनको शिकार भएछु कि जस्तो भने कता कता लाग्छ। त्यसले एक किसिमको अमिलै त नभनौ, अदुवा अनुभूति भने गराएरै छोड्छ।
समयक्रमसँगै नेपाली समाज भ्यालेन्टाइनमय भयो। त्यसको नेपालीकरण पनि भयो, प्रणय दिवश । तर, नेपाली समाजलाई प्रणय दिवश कम र भ्यालेन्टाइन डे बढी लाग्यो ।नेपाली समाजमा बढ्दै गएको भ्यालेन्टाइन डे फिबरलाई सामान्य किसिमले ब्याख्या गर्न सकिन्न। यसको ज्वरो बढाउन फेसबुक, ट्विटर, इन्स्टाग्रामको पनि अहम् भूमिका छ।
भ्यालेन्टाइन डेमय भएका सबैप्रति मेरो सम्मान छ। समयअनुसार बाँच्ने कला हुनु राम्रो हो। तर, अवस्था यस्तो आयो कि भ्यालेन्टाइन डे का दिन तस्विर नहाल्ने जोडीमा चाँहि 'मायाप्रेम नै छैन' या 'झगडा परेको छ' भन्ने खालको संकथन नै निर्माण हुन थाल्यो।
प्रेम देखाउने नाममा दुई तीनपटक सौता बनेका, श्रीमती कुटेर घाइते बनाएका, विवाहेत्तर सम्बन्धमा महारथ हासिल भएका र शारीरिक चलखेललाई नै सर्वश्व ठानेकाहरूका पोजपोजका तस्बिर र महानवाणीहरू देख्दा भने यो प्रदर्शनीबाट प्रेमको इज्जत भएजस्तो देखिदैन। यही चाल हो भने फेब्रुअरी १४ 'अप्रिल फूल'जस्तै प्रेमका नाममा आफ्ना जोडीलाई ढाँटेर मूर्ख बनाउने दिन हुन पनि बेर छैन।
कतिपय मानिस देखाउनेमा विश्वास गर्छन्, कति गर्नेमा। नेपाली समाजमा अझै पनि प्रेम पूरै देखाउने कुरा हो भन्ने भैसकेको छैन। त्यसैले हामी प्रेम देखाउने नाममा ठीकै किसिमले गुलावी बनौं ता कि गुलावी बन्ने र नबन्ने दुबै खाले स्वभाविक लागुन्, दुबैको इज्जत होस् ।
कुरै त हो काइला, देश त 'बनाना रिपब्लिक' हुने दिशामा छ नै, यही चाल हो भने प्रेम पनि 'रोज रिपब्लिक' हुने त हैन?, लेखक/पत्रकारको धर्म नै प्रश्न गर्ने हो। प्रश्न गरी राखौं, के नै पो बिग्रेला र ?