‘बाख्रा ब्यायो भन्ने दिन नआउँला भन्न सकिन्न’

 सेलिब्रिटीको नजरमा भेलेन्टाइन डे

जीवन बनिया

काठमाडाै‌ं

पश्चिमी सभ्यता भएपनि पछिल्लो समय प्रणय दिवस अर्थात ‘भेलेन्टाइन डे’ नेपाली युवायुवती माझ निकै लोकप्रिय बन्दै गइरहेको छ। फेब्रुअरी १४ अर्थात सरद ऋतुको मध्यमा मनाइने यो दिवस युवायुवती प्रेम साटासाट गरेर मनाउँछन्। 

यसबीच फेब्रुअरी ७ मा रोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा संकल्प गर्ने दिन, फेब्रुअरी १२ मा अंकमाल गर्ने दिन, फेब्रुअरी १३ मा चुम्बन गर्ने दिन र १४ मा प्रणय दिवस पर्दछ। 

पश्चिमी पर्व भएपनि यो दिन काठमाडाैंमा युवायुवती बसन्तपुर, नगरकोट, चन्द्रागिरिको डाडो पुगेर आफ्नो प्रेम उजागर गर्ने गर्छन्। 

यसपालिको ‘भेलेन्टाइन डे’मा चर्चित टेलिशृंखला सक्किगोनीका लोकप्रिय कलाकार जिग्री ब्रो अर्थात कुमार कट्टेल विशेष रुपले आजको दिन मनाइरहेका छन्। 

उनी आफ्नो दाजुभाउजुले चितवनमा थालेको गाैतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहँदै यो दिवस मनाउने बताउँछन्।

‘प्रणय दिवस प्रेमिकालाई माया गरेर मात्र मनाउनु पर्छ भन्ने केही छैन। हामी आमाबुवा, दाजुभाउजु र दिदीबहिनीलाई माया गरेर पनि यो दिवस मनाउन सक्छाैं,’ उनले भने। 

उनले साँचो माया गर्नेका लागि ‘भेलेन्टाइन डे’ विशेष भएको तर एकदिन लभ गर्नेका लागि यसको कुनै महत्व नहुने बताउँछन्। ‘मायाले नयाँ उर्जा दिन्छ। त्यसैले यसलाई सकारात्मक मान्नु पर्छ,’ उनले भने। 

हाँस्य कलाकार मनोज गजुरेल यस पर्वलाई आफूले दर्शक भएर मनाउने तयारी गरेको बताए। उनले बिएल नेपाली सेवासँग भने–‘सामाजिक सञ्जालमा यो पर्व कसरी मनाइदैछ भनेर हेरेर मजा लिनेगर्छु। प्रणय दिवसलाई बिकृतीको रुपमा नमनाउन आफ्ना सुभेक्षुकलाई उनी आग्रह गर्दछन्। गजुरेल भन्छन्– ‘हामी अर्गानिकताबाट विसादीतर्फ बढी उन्मुख हुँदैछाैं। रंगीन बस्तु क्षणिक समयका लागि झिलिमिलि देखिएपनि दीर्घकालका लागि विष हुन्छ।’ 

उनले प्रणय दिवस जस्तै देशका महत्वपूर्ण चाँड पर्वलाई पनि युवायुवतीले प्राथमिकता दिन आग्रह गरे।

लोकगायक खुमन अधिकारी आफ्नो दर्शक स्रोतालाई स्टेजबाटै ‘भेलेन्टाइन डे’ काे शुभकामना भन्न रुचाउँछन्। उनले भने–‘प्रेम दिवसलाई दु;खसुख मान्ने चैतारीको रुपमा लिनुपर्छ।’

यसगरी चर्चित टेलिशृंखला हल्का रमाइलोका कलाकार बल्छी धुर्बेको भने फरक मत छ। उनी भन्छन्– ‘नेपाली पर्व भए पो। धुमधामले मनाउनु। विदेशीले मनाउने पर्वलाई के तामझाम गरिरहनु?’ 

उनले विदेशी पर्व आफ्नो प्राथमिकतामा नपर्ने बताए। 

आधुनिक गायिका मेलिना राईले विदेशी पर्व भएपनि आफूलाई ठिक लाग्ने बताउँदै भनिन् ‘माया गर्ने जोडीको सम्झनामा मनाइने यो पर्वमा मेरो खासै केही योजना छैन।’

यस्तै हाँस्य कलाकार केदारप्रसाद घिमिरेको भने घोचिलो पेचिलो मत छ। हाँस्दै उनी भन्छन्–‘ मैले कहिल्यै प्रेम गरिन्।अव प्रेम नगरेपछि मनाउने कसरी?’

प्रणय दिवस फेसन जस्तै बनेको भन्दै उनी भन्छन्–‘कहिले आमाको मुख हेर्ने दिन भन्या छ। कहिले बाउको मुख हेर्ने दिन। कहिले रोज, कहिले प्रपोज डे, किस डे,  के–के डे हो?’

उनी भष्टाचारले देश कंगाल भएकाे भन्दै यस्ता डे मनाउनु सट्टा जनताले कंगाल डे मनाउने दिन आउन लागेको ब्यंग गर्छन्। 

उनी नेपालीको मैलिक दिन पनि भएको र यसलाई मनाउन सबैसँग आग्रह गर्छन्। ‘वास्तवमा देश उघो लगाउन यस्ता डे भन्दा मकै छर्ने डे, धान गोड्ने डे, कोदो रोप्ने डे मनाउम्नँ’ उनी भन्छन्। 

नेपाली चलचित्रमा राम्रो छाप छोडिसकेका उनी अन्त्यमा अब बाख्रा ब्यायो डे आउन बेर नलाग्ने ब्यंग गर्छन्। 

यस्तै गायक हेमन्त शर्माले प्रेम सबैका लागि अपरिहार्य भएको बताए। उनी साथीसँग घुम्ने, रमाइलो गर्ने, खुसी हुने दिन फाल्गुण २ मात्र नभएको बताउँदै भन्छन्–‘टाढाका कहिल्यै नभेटिने जोडी पहिले प्रेम दिवसको बहानामा भेटघाट गर्दथे। टाढा भएको जोडी भेट्ने दिन नै ‘भेलेन्टाइन डे’ हो।’ 
 

प्रकाशित मिति: : 2020-02-15 01:58:00

प्रतिकृया दिनुहोस्