मानहानी सम्बन्धी कसूरमा फरार रहेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन्।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन्। हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन्।
द्धारिका होटलमा मंसिर १५ मा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए। प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए।
पछि गिरीले मानहानीको मुद्दा हालेका थिए। निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो। तर, उनी नभेटिएपछि प्रहरी फर्किएको थियो।
त्यसयता प्रसाईं भारतमा लुकेर बसेको सूचना प्रहरीसँग थियो। आइतबार प्रहरी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।