प्रत्येक आइतबार मुम्बईका बिभिन्न समुन्द्री तटमा सरसफाइ कार्यक्रम आयोजना गर्ने गरिन्छ। वातावरणको क्षेत्रमा काम गर्ने संघ–संस्था, राजनीतिज्ञ, बलिउडकर्मी र सामाजिक अभियन्ताको सहभागितामा समुन्द्री तटहरु सुन्दर र स्वच्छ बनाउने काम हुन्छ।
यसपटक मुम्बईको दादरमा रहेको गोराई समुन्द्री तटमा सरसफाइ गर्ने अभियान स्थानीय चर्चले आयोजना गर्यो। सरसफाइ अभियानमा अभियन्ताको चहलपहल बढ्दै थियो। त्यहीँ समयमा सबैको केन्द्रबिन्दुमा रहे नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाल।
उनी काठमाडौंबाट पारिवारिक भेटघाटका लागि मुम्बई आएका थिए। केपी गोराई तटमा पुग्दा माहोल रमाइलो बन्यो। सरसफाइमा जुटेका मानिससँगै उनले पनि फेसबुक लाईभ गर्दै फोहोर उठाउन सुरु गरे। धेरै अचम्ममा परे।
अचम्मित हुने भारतीय युवामा धेरै उनका प्रशंसक भेटिए। सामाजिक सञ्जालमार्फत सरसफाइ अभियान चलाएको देखेको ती युवाले बताए। ‘उहाँको भिडियो हामीले हेरेका छौं’, एक सहभागीले भने,‘उहाँले पनि नेपालमा वातावरण सफा बनाउने अभियान चलाउनुहुन्छ।’
नेपालमा वातावरणीय क्षेत्रमा काम गर्ने भनेर केपी परिचित छन्। उनी वातावरण तथा बिभिन्न सामाजिक कार्यमा समेत जोडिएका छन्। ‘हामी नेपाली जहाँ भएपनि हाम्रा सुन्दर मन जस्तै सुन्दर वातावरण चाहन्छौं। मुम्बईको समुन्द्रमा सरसफाइ गर्दा निकै आनन्द महसुस गरे, प्रदेशमा बस्ने सबै नेपाली समुन्द्रमा आएर सरसफाइमा सहभागी भएको महसुस पनि गरे,’ केपीले भने।
केपी आमा–बुबा भेट्न मुम्बई आएका थिए तर सरसफाइ अभियान चलेको थाहा पाउने बितिकै रोकिएनन्। गोराई समुन्द्री तटमा पुगिहाले। उनी केही दिन परिवारसँग मुम्बईमा बस्ने छन्। मुम्बईमा बस्दा बिभिन्न समुन्द्री तटमा सरसफाइमा भाग लिने उनले बताए। मुम्बई बसाइँका क्रममा केपीले यहाँका मानिसलाई वातावरण सफा र स्वच्छ राख्न समेत प्रेरित गर्नेछन्।
को हुन् केपी?
केपी खनाल २०५६ साल पुस २७ गते अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका थिए। उनकाे प्रारम्भिक शिक्षा पनि अछाम जिल्लामा नै पूरा भयाे। यसपछि उनी कैलालीको लम्की आए र त्यतै हुर्के–बढे। १२ कक्षासम्मको शिक्षा त्यहींबाट पूरा गरे। खनालले टेक्सास इन्टरनेसनल कलेजमा मानवीय संकायमा स्नातकोत्तर गरेका छन्।
७ कक्षा पढ्दादेखि नै रेडियोमा बाल पत्रकार भएर काम गरेका खनाल सानैदेखि सामाजिक कार्यमा सक्रिय भए। उनले गरिबीका कारण बाल मजदुरको रूपमा भारतको मुम्बईस्थित मिरा रोडको एक होटलमा काम गरेका थिए।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्केर उनी दश जोड दुई (प्लस टू) पढ्दै गर्दा गाउँघरमा सरसफाइ अभियान, गरिब असहायलाई राहत वितरण जस्ता सामाजिक कार्यमा सक्रिय भए। पछि उनी प्लस टुको पढाई सकाएर उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। काठमाडौं आएको एक महिनामै ‘क्लिन काष्ठमण्डप’ नामको अभियान अन्तर्गत ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नारासहित सफाइ अभियानको सुरुवात गरे।
सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ नामक संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको छ। त्यसका लागि उनी बालगृह बनाउन ५० लाख रुपैयाँ जुटाउने अभियानमा लागेका थिए। यसमा उनी सफल पनि भए।
शिलान्यासको एक वर्ष अवधिभित्रै बालगृहको भवन निर्माण सम्पन्न गरी २०७६ बैशाख २५ गते चलचित्र अभिनेता राजेश हमालबाट संस्थालाई साँचो हस्तान्तरण गराएका थिए। हाल उक्त अनाथालयमा करिब २० भन्दा बढी बालबालिका रहेका छन्। करिब ५० भन्दा बढी बालबालिका अट्ने क्षमता भएको उक्त आश्रममा खान, बस्न र शिक्षाको उपयुक्त व्यवस्था रहेको छ।