कोरोना भाइरस: चीनमा ज्यान गुमाउनेहरुको सङ्ख्या ४ सय ९१ पुग्याे

एजेन्सी

काठमाडाैं

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ४ सय ९१ पुगेको छ। 

कोरोनाका कारण चीनमा मात्रै २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। चीनबाहिर २ जनाले ज्यान गुमाएका छन्। 

चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ। हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ। 

कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ। चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो। 

विश्वव्यापी रुपमा भाइरसको सङ्क्रमण रोक्ने अवसर– विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भाइरस विश्वव्यापी रुपमा भाइरसको सङ्क्रमण रोक्न एउटा अवसर भएको बताएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानम घब्रेयसियसले चीनले कोरोना सुरु भएको ठाउँमा भाइरससँग लड्न गरेको प्रयास सराहनीय भएको समेत बताएका छन्।

महानिर्देशक टेड्रोसले यस्ता प्रयासबाट नयाँ जानकारीहरु प्राप्त भएको र अब हुने नयाँ सङ्क्रमण रोक्न यो एउटा अवसर भएको जानकारी दिए। सङ्क्रमण रोक्न प्रभावकारी काम नगरेको भन्दै चीनमै सरकारको आलोचना भैरहेको बेला डब्ल्यूएचओले भने प्रयासहरुको प्रशंसा गरेको हो।
 

प्रकाशित मिति: : 2020-02-05 20:00:21

प्रतिकृया दिनुहोस्