बालुवाटार साँझ: ओलीले बजाए बाँसुरी, खनाल र नेपालले रेटे सारंगी

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ।

पाँच दिनसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठक सकिएलगत्तै केन्द्रीय सदस्यहरुलाई बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारभित्रै अर्को रमाइलो कार्यक्रम आयोजना गरेका हुन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘यो सारंगी साँझ हो’, थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो।’ 

कार्यक्रम करिब एक घण्टा जति चल्नेको उनले बताए।  ‘मन्त्री र पार्टीका शीर्ष नेताहरु कार्यक्रममा उपस्थित हुनुभएको थियो।’ उनले भने। थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरी बजाएका थिए। यस्तै पूर्वप्रधामन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटेको उनले जानकारी दिए। 

उनका अनुसार पार्टीका सचिवालय सदस्य र मन्त्री मण्डलका सदस्यहरुका लागि राखिएको कार्यक्रम भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भने सहभागी भएनन्। उनी नेपाल भ्रमण वर्षको आयोजनामा हुन लागेको कार्यक्रमका लागि मंगलबार दिउँसो पोखरा पुगेका छन्।

सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओली पछिल्लो समय नेकपाका शीर्ष नेताहरुसँग सघन छलफलमा छन्।

प्रकाशित मिति: : 2020-02-05 09:31:00

प्रतिकृया दिनुहोस्