बाक्सामा श्रीमद् शिव महापुराण महायज्ञ, भक्ति रसमा डुब्यो सुवागपुर

विप्लव चिमरीया

विप्लव चिमरीया,असम

बाक्सा जिल्लाको सुवागपुरस्थित श्री सिद्धेश्वर शिवालय गायत्री आश्रममा विश्व शान्ति तथा विश्व मानव कल्याणार्थ श्रीमद् शिवमहापुरण एवं धान्यचल ज्ञान महायज्ञको आयोजना गरिएको छ।

आश्रमका संस्थापक तपस्वी साधक अनन्त स्वरुप महाराजको सदिच्छा तथा अगुवाईमा महायज्ञ आयोजना गरिएको हो। ११ दिन महायज्ञ सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ।

समितिका सभापति गंगाप्रसाद आचार्यले शिवमहापुरणको धर्मध्वज उत्तोलन गरेर समारोहको आरम्भ गरेका थिए। महायज्ञको कार्यसूची अनुसार वृक्ष रोपण, कलश शोभायात्रा, ब्राह्मणवरण, द्वीप प्रज्वलन, वरुण आव्हान, व्यास मण्डप पूजा र व्यास मण्डप उद्धाटन कार्य सम्पन्न गरिएको छ।

महायज्ञ स्थलमा दैनिक योग शिविर, मण्डप पूजा, प्रातःआरती,शिव महापुराण मूल पाठ,कथा प्रवचन,आरती र साँझमा लक्ष्यवर्तिका प्रज्वलन र भजन–कीर्तन लगायतका कामहरु भइरहेको आचर्याले बताए। कथावाचक पं छन्दुराम भण्डारीबाट प्रवचन र पं चिन्तामणि दाहालबाट मूलपाठ पारायण भइरहेको उनले जानकारी दिए। 

शिवमहापुराणको रसामृत पान गर्न वृहत्तर सुवागपुर, औबारी, डोङारगाँउ, बङ्गालीपाड़ा, भोलाझार उपरखुटि, अम्बरिशनगर र देउचुङाका सहस्रधिक लगायतका ठाउँहरुबाट मानिसहरुको घुइँचो लागेको छ।

प्रकाशित मिति: : 2020-02-05 00:38:05

प्रतिकृया दिनुहोस्