अमेरिकाले मध्य साउदी अरबको अल–खर्ज शहरमा रहेको आफ्नो एयर बेसमा अतिरिक्त सेना थप गर्नुको साथै लडाकु विमानको संख्या पनि बढाएको छ।
इरानसँग बढ्दो तनावका बीच प्रिन्स सुल्तान एयर बेसमा एफ–१५ ई लडाकु विमानको नयाँ स्क्वाड्रन तयारी अवस्थामा राखेको छ। साउदीमा अब अमेरिकी सेनाको संख्या बढेर २ हजारको हाराहारीमा पुगेको छ।
पश्चिम एसियामा अमेरिकाको शीर्ष कमाण्डर फ्यांक म्याकेन्जीले बुधबार प्रिन्स सुल्तान एयर बेसको निरीक्षण गरेका छन्। एयर बेस प्रवक्ताका अनुसार म्याकेन्जीले कमाण्डर र सैनिकसँग भेटघाट गरेपछि भनेका छन्, ‘यो क्षेत्रमा अमेरिकाको प्रमुख सैन्य अड्डा हो। यो एयर बेसले साउदी अरबलाई ठूलो सुरक्षा कवजमा राखेको छ। टाढा भएका कारण इरानलाई निशाना बनाउने काम पनि जटिल छ।
मरभूमी क्षेत्र भएका कारण सैन्य अड्डामा सयौं टेन्ट गाडिएको र लस्करै लडाकु विमान राखिएको दृश्य देख्न पाइन्छ।
इरानी सेना प्रमुख कासिम सुलेमानीलाई इराकको राजधानी बगदादमा अमेरिकाले ८ जनवरीमा ड्रोन हमलामा मारेपछि दुई देशबीचको सम्बन्ध अहिले सबैभन्दा खराब स्थितिमा छ। इरानले यसको बदला लिन अमेरिकी सैन्य क्षेत्र तथा दूतावासलाई निशाना बनाउन थालेपछि अमेरिकाले पनि आफ्नो सैन्य ताकतलाई बढाएको हो।
अमेरिकाको सहयोगी साउदी अरबको दुई वटा तेल सयन्त्रमा गत सेप्टेम्बरमा इरानले ड्रोन हमला गरेको थियो। यसपछि साउदीले अमेरिकासँग सहयोग माग गरेको थियो। त्यस बेलादेखि अमेरिकी सेना प्रिन्स सुल्तान एयर बेसमा बसेका थिए।
प्रिन्स सुल्तान एयर बेसमा सतहबाट हावामा मार हान्न सक्ने दुई प्याट्रियट मिसाइल प्रणाली जडान गरिएको छ। यसले साउदी अरबविरूद्ध इरानले हान्न सक्ने मिसाइललाई फेल गराउन महत्वपूर्ण मानिन्छ। ब्यालेस्टिक मिसाइललाई रोक्ने रक्षा प्रणाली थाड पनि जडान गरिएको छ।