कर्णालीमा सवारी दुर्घटना : तीन दिनमा एकको मृत्यु

रमेश रावल

सुर्खेत

कर्णालीमा हुने सवारी दुर्घटनामा तीन दिनमा एक जनाको मृत्यु हुने गरेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले जनाएको छ। 
साँघुरा, जोखिमपूर्ण सडक र नयाँ खोलिए ट्याकका कारणले दुर्घटना बढ्दै गएका छन्।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा सवारी दुर्घटनाका १ सय एक घटनामा १ सय १७ जनाको मृत्यु, आर्थिक वर्ष २०७४/०७५ मा ८८ वटा सवारी दुर्घटनामा ९१ जनाको मृत्यु र आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनाका एक सय ४६ वटा घटनामा १ सय १५ जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्ष २०७६/०७७ को छ महिनामा एक सय ७६ वटा सवारी दुर्घटना भएका छन्।

छ महिनाको अवधिमा भएका यी घटनामा ६० जनाको मृत्यु भएको छ भने २ सय १३ जना घाइते भएका छन्। सवारी दुर्घटनामा दैनिक तीन दिनमा एक जनाको ज्यान जाने गरेको तथ्याङ्कले जनाएको छ।

चालु आर्थिक वर्ष २०७६/०७७ को सवारी दुर्घटना साउन महिनामा २१ दुर्घटनामा पाँच जना, भदौ महिनामा २५ दुर्घटनामा १३ जना, असोज महिनामा ३३ वटा दुर्घटनामा ११ जना, कार्तिक महिनामा २० वटा दुर्घटनामा आठ जना, मंसिर महिनामा २१ वटा दुर्घटनामा १२ जना, पुष महिनामा ३१ वटा दुर्घटनामा पाँच जना र माघ महिनामा १५ गतेसम्म १२ वटा सवारी दुर्घटनामा छ जनाको ज्यान गएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवत्ता मेघराजप्रसाद चौरासियाले जानकारी दिए ।

‘साघुरा सडक र सवारी चालकको लापरवाहीका कारण सवारी दुर्घटना भएको हो’, उनले भने, ‘कर्णालीका अंधिकास ठाउँमा नयाँ खोलिएका सडक रहेका कारणले पनि सवारी दुर्घटना बढेका हुन्।’

टिप्पर दुर्घटना बढे

कर्णालीमा पछिल्लो समय टिप्पर दुर्घटना बृद्धि भएको छ। प्रदेशमा मंसिर महिनादेखि माघ १५ गतेसम्ममा भएका टिप्पर दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्।

गत मंसिर १२ गते हिल्सा सिमिकोट सडकखण्डको नाम्खा गाउँपालिकाको सल्ली खोलाको डाँडालाग्नामा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

त्यस्तै, मंसिर २७ गते नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। माघ १५ गते सुर्खेतमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका केशर सिंहको मृत्यु भएको थियो।

प्रदेशमा नयाँ सडक र अन्य संरचना नयाँ निर्माण हुन लागेका कारणले टिप्पर दुर्घटना घटना बढ्दै गएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवत्ता चौरासियाले बताए।

‘कर्णालीमा विशेष गरेर नयाँ संरचना बन्ने क्रम तिब्र गतिका कारणले टिप्पर प्रयोग धेरै हुने गरेको छ',  उनले भने, ‘त्यही कारणले पछिल्लो चरणमा टिप्पर दुर्घटना हुदैँ गएको छ ।’

मापासे गर्ने बढे 

सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु पनि दुर्घटनाको अर्को पाटो भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४३/०७४ मा ३ सय जना, आर्थिक वर्ष २०७४/०७५ मा ३ सय ९३, आर्थिक वर्ष २०७५/०७६ मा ८ सय चार जना र चालु आर्थिक वर्षमा छ महिनामा ७७ जनाले सवारी चलाउँदा मादक पदार्थ सेवन गरी कारवाहीमा परेको प्रवत्ता चौरासियाले जानकारी दिए।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुको संख्या बृद्धि भएको बताउदैं उनले भने, 'मादक पदार्थको सेवन गरी सवारी चलाएमा कारवाहीमा परिन्छ, भन्ने कुरा थाहा भएरै पनि त्यसको उल्लघन गर्नेहरुको संख्या बढ्दै गएको छ।'

भौगोलिक कारण प्रमुख 

कर्णालीमा सडक दुर्घटना हुनुमा भौगोलिक कारण, बिग्रिएका सडक र पुराना गाडी पनि रहेको इन्जिनियर श्रवणकुमार महताराको भनाई छ।
 ‘कर्णालीमा नयाँ सडक बन्नकासाथै पुराना थोत्रा गाडी संचालनमा आएका छन्', उनले भने,‘नयाँ सडकमा पुराना कन्डिसन नभएका कारणले दुर्घटना हुने गरेको हो।'

 

 

 

 

प्रकाशित मिति: : 2020-01-31 01:39:46

प्रतिकृया दिनुहोस्