नाटक मञ्चन गर्दा, विद्यालयलाई देशद्रोहको मुद्दा

भारतको कर्नाटक राज्य बिदरको एक विद्यालयविरूद्धमा देशद्रोहको मुद्दा दर्ता गरिएको छ। बिदरको शाहीन शिक्षा संस्थानको विरूद्धमा मुद्दा दर्ता गरिएको हो। 

विद्यालयमा नागरिकता संशोधन ऐन (सीएए) को विरूद्ध विद्यार्थीहरुले नाटक मञ्चन गरेका थिए। उक्त नाटकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि बिगारेको शिक्षा संस्थानलाई आरोप लागेको छ। 

कर्नाटनका स्थानीय समाजसेवी निलेश रक्षयालले शाहिन विद्यालय र व्यवस्थापन समिति विरुद्ध न्युटाउन पुलिस प्रशासनमा मुद्दा दर्ता गरेका थिए। प्रहरीमा उजुरी परेपछि विद्यालय प्रशासनले कक्षाका ४ विद्यार्थीहरूले नाटक मन्चन गरेको र नाटकले देशको वर्तमान अवस्थालाई चित्रण गरेको बताएको छ। बिदर प्रहरीले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई दुव्र्यवहार गरेको विद्यालय समितिले आरोप लगाएको छ।

विद्यार्थीहरुले नागरिकता संशोधन ऐन लागू गरिए र प्रस्तावित एनआरसी लागू भएमा भारतीय मुसलमान समुदायलाई देश निकाला गर्ने मनसायको नाटक प्रस्तुत गरेको प्रधानमन्त्री निकटका कार्यक्रताहरुले दावी आरोप लगाएका छन्। सामाजिक सञ्जालमा भिडियो देखेको र उक्त भिडियोमा विद्यार्थीहरुले राष्ट्रविरोधी नाटक प्रदर्शन गरि प्रधानमन्त्री मोदी तस्बिरमा कुटपिट गरेको दृश्य देखेर उजुरी गरेको उजुरीकर्ता रक्षयालले जानकारी दिए। 

बिदरका एसपी एल श्रीधाराका अनुसार विद्यालय र नाटक मञ्चन गर्ने विद्यार्थीबिरुद्ध मुद्दा दर्ता गरेर यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ। उक्त नाटकले संवैधानिक प्रशासनका लागि अभद्र भाषा प्रयोग गरेको दाबी छ। 

विद्यार्थीहरूले देखाएको नाटकले देशको वर्तमान अवस्था देखाउँदछ। यस्ता कुराहरु मानिसहरूले दैनिक प्रदर्शन गरिरहेका छन्। यो नाटकमा केही शब्दहरू प्रयोग गरिएका छन् तर देशद्रोहको मुद्दा नै दर्ता गरिनु दुखद् भएको विद्यालयका एक अधिकारीले जनाएका छन्।
 

प्रकाशित मिति: : 2020-01-30 05:07:00

प्रतिकृया दिनुहोस्