चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ। सङ्क्रमित व्यक्ति हुवान प्रान्तबाट आएका नेपाली हुन्।
एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा 'हेल्थ डेस्क' स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाण्डाै, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। 'कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ।' श्रेष्ठले भने।
सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उनले बताए। सङ्क्रमण दर बढन् सक्ने आशङ्कामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ।
विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच सुरु गरिएकाे छ र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ। स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ। स्वास्थकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ।
नोवेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन्। सुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले पुष्टि गरिसकेको छ।
कोरोना भाइरस विभिन्न सात प्रकारका छन्। सन् २००३ मा चीनमा सार्स कोरोना देखा परेको थियो। त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो। अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरमा भने नोवेल कोरोना भाइरस देखिएको हो। यसलाई '2019,N-cov' नाम दिइएको छ।
मुख्य लक्ष्यण
नोेवेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो। रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ।
यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरूको निगरानी गर्ने जस्ता उपाय अपनाउनु पर्नेमा चिकित्सकको जोड छ।
यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनु पर्छ। धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन्।
विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२ र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रूपमा घोषणा गरेको छैन। यसलाई मध्यम तहको भनेर घोषणा गरेको छ।
सङ्गठनको तथ्यङ्कअनुसार दुई हजार सात सय ९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा दुई हजार सात ४१ जना छन् भने बाँकी अन्य देशका छन्। अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघिसकेकाे जनाइएको छ।
चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन भैसकेकाे छैन। कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा एक सय ९० जना नेपाली रहेको तथ्याङ्क छ। जसमध्ये सय जना सम्पर्कमा आइसकेका छन्। अन्यलाई पनि 'वी च्याट ग्रुप' वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।
सन् २००२ मा चीनमा सार्स कोरोना भएको थियो। त्यसको पुष्टि सन् २००३ मा विश्व स्वास्थ्य सङ्गठनले गर्याे। त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा सात सय ७४ को ज्यान गएकाे थियो। जसले गर्दा मृत्युदर बढी भयाे।
सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो। अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ। सन् २०१५ मा दक्षिण कोरियामा पनि यस्तै प्रकारकाे भाइरस देखिएको थियो।
नेपालमा यसरीे भयो पुष्टि
हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफै ओपीडीमा सामान्य उपचार गर्न पुगेका थिए। उनको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हङकङमा रहेकाे प्रयोगशालामा पठाइएको थियो। परीक्षणमा उनीमा नोवेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. विवेकलालले जानकारी दिए।
उनी अहिले घर फर्किसकेका छन्। उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा. विवेकलालले जानकारी दिनुभयो। उनी नेपालमा गएकाे पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए। पुस २८ गते भर्ना भएकोमा माघ ९ गते भाइरस रहेको पुष्टि भएको थियो।
अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा. रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी दिए।
अर्का चिकित्सक डा. अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुवैकाे रोक्ने तरिका पनि उस्तै उस्तै भएकाे बताए। नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने, सङ्क्रमित व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाय अपनाउन उनले सबैलाई सुझाव दिए।
सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले सङ्क्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रूपमा उपचार गराउँदा हुने बताए।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनु पर्नेमा जोड दिए।