अमेरिकामा अंग्रेजी भाषाकाे सकस 

  • अमेरिका जति नै बहुभाषिक देश भने पनि यहाँ 'अंग्रेजी छैन त केही छैन' जस्तै अवस्था छ। त्यसमा पनि  न्युयाेर्कजस्ता महानगरमा अंग्रेजी भाषा भएन भने ठूलै युद्ध लड्नु पर्छ। काठमाडौैंजस्ताे ढिलाे उठ्ने र छिटाे सुत्ने भइदिएकाे भए थाेरै शब्दलाई यताउता पारेर पनि काम चल्थ्यो हाेला। तर, अमेरिका २४ सै घण्टा चल्ने देश हो र अझ न्युयोर्क त कहिलै ननिदाउँने सहर।

उत्तर अमेरिकाकाे क्यारेवियन क्षेत्रमा पर्ने डाेमिनिकन रिपब्लिकमा हाइस्कूल टिचर भएर कामगरिरहेकी इशावेला (३७),२०१२ मा अझ राम्राे जीवन जिउँने आशामा  अमेरिकाकाे फ्लाेरिडा राज्यमा आईपुगिन्। उनले चिनेकाे साथीमार्फत् स्टवेरी, काँक्राे, खर्बुजा, सिमी र फर्सी टिप्ने काम पाइनँ।

याे काम उनले उनकाे देशमा पनि कहिलेकाहीँ गरेकाेले खासै अनाैठाे पनि लागेन। बरु, कामभन्दा पनि डलरमा थापिने तलबले उनलाई निक्कै दंग बनायाे ।पहिलाे महिनामा थापेकाे तलब आफूलाई नराखी दिदी,बहिनी, सानिमा, फुपू सबैका नाममा बाँडेर पठाई दिइन्। त्यहाँ उनलाई हायर गर्नेदेखि सँगै काम गर्नेसमेत स्पानिस भाषा बाेल्ने थिए।पाँचबर्ष बस्दा पनि अमेरिकामा छु जस्ताे लागेन।अंग्रेजी भाषाकाे जरुरी नै भएन। 

उनी तीन वर्ष अघि जब न्युयाेर्ककाे क्विन्समा बसाइँ सरेर आईपुगिन्।अनि भने कुन दशाले यहाँ आइपुगेछु भन्ने लाग्याे उनलाई एकातिर डेरा भाडा र अन्य खर्चकाे समस्या  अर्कोतिर अंग्रेजी भाषा नजान्दाकाे समस्या। शुरूमा भाषाकै कारण उनी  हायर भइनन्। बल्लतल्ल हायर त भइन्, फायर पनि भइन्। राम्राे कामसमेत पाइनन्। धेरैवटा राेजगार लगाईदिने एजेन्सीमा धाइन्। घरमा कामदारकाे रुपमा एजेन्सीले पठाउने अनि कतै भाषा कै कारण भाेलि बाेलाउँछु भन्ने कतै भाषा नचाहिने  तर ठूलाे क्षेत्रफलमा फैलेकाे  घरबगैचा सफा गर्नुपर्ने, कुकुर पनि घुमाउन लानुपर्ने, अनि किचनमा पनि सघाउनुपर्नेलगायत एउटा घरमा आइलाग्ने  सबै काम गर्नुपर्ने।असाध्यै धेरै काम।स्टाेरमा सामान मिलाउने काम पनि पाइन् तर असाध्यै धेरै  शारीरिक काम। 

यसरी नै हरेक दुई/तीन महिनामा काम परिवर्तन गरेर नै जीवन चलाइरहेकी थिइन्। यस्तैमा ६ महिनाअघि एउटा आठतल्ले विल्डिङमा हाउसकिपिङकाे काम पाएपछि उनी खुशीले गदगद भएकी थिइन्। त्यहाँ इन्स्योरेन्स, भेकेसन र संगठित  युनियनलगायतका सुबिधा थिए। तर, त्यो सबैले दिएको उनको खुशी धेरै दिन टिकेन।

अंग्रेजी भाषा बाेलेकाे नबुझेका कारण सेवाग्राहीले मन पराई दिएनन्। मन नपराएर प्रशासनमा कम्प्लेन गरिदिएपछि उनी १५ दिन नपुग्दै किचनमा सरुवा हुन पुगिन्।किनभने  भाषा बाेल्न नजानेकै कारण देखाएर अमेरिकामा कसैलाई फायर गर्न  पाइदैन। किचनमा भाडा माझ्ने र काटकुट गर्ने हेल्पर मात्र नभएर तीनसय मानिसकाे टेबुलमा खाना सर्भ पनि  गर्नुपर्थ्याे। दैनिक १५ भन्दा बढी परिकारकाे अंग्रेजी नाम थाहा पाएर दिनकाे तीन पटकभन्दा बढी सर्भ गरेर  मानिसलाई खुशी  पार्न कम्ता मुस्किल भएन।

उनलाई करिब तीन महिना लाग्याे। दैनिक रुपमा एउटा  सर्भ गर्नुपर्नेमा अर्कै खाना सर्भ गर्ने, अंग्रेज़ी नबुझेका कारण निक्कै मानिसकाे खप्की खानुपर्थ्याे। अंग्रेज़ी नबुझे पनि  हँसिलाे स्वभाव र फुर्तिली थिईन उनी।तीन महिनामा बल्ल तल्ल ग्राहकको  अर्डर बुझ्ने र मान्छेका नाम जान्ने र सही तरिकाले उच्चारण गरेर बाेलाउने भैसकेकी थिइन्। अत्यन्तै सरल स्वभावकी उनलाई मानिसले तारिफ़ गर्न पनि थालिसकेका थिए।

तर, एक मध्याह्नकाे खाना खाइरहेका बेला एकजना अफ्रिकीमूलका सहकर्मीले केरा खाइरहेका बेला 'तँ ठ्याक्कै बाँदरजस्तै देखिइस्' भन्ने शब्द प्रयाेग गरेपछि घम्साघम्सी पर्याे। प्रशासनले छानबिन गरेर उनलाई तीनसाताका लागि निलम्बन मात्र गरेन, दिउँसाेकाे सिफ्टमा काम गर्न पनि नदिने भन्यो।

निलम्बन भैसकेपछि उनका दुई बच्चाकाे हेरबिचार गर्न र घरभाडा तिर्न अहिले धाै धाै परेकाे छ।एक ठाउँ निलम्बन वा निस्कासन भएपछि अर्काे ठाउँमा हायर गर्नलाई पहिलेकै  ठाउँमा साेधपुछ गरेर राख्ने हुनाले क्लिन रेकर्ड भएन  भने अमेरिकामा अत्यन्त मुस्किल हुन्छ।

'कुन दशाले म अमेरिका आईपुगेछु कुन्नि? भाषाकै कारण आफ्नाे आत्मविश्वास र आत्मसम्मान गुमाउनु पर्छ दिनभर कार्यथलाेमा',  उनी भन्छिन्।
इशाबेलाजस्तै मध्य युराेपमा पर्ने देश पाेल्याण्डबाट १६ बर्षअघि २५ बर्षे जवानीमा त्यहाँकाे मास्टर्स डिग्री हातमा लिएर अमेरिका छिरेकी साेफिया (४१) ले जीवनमा ठूलाे सपना सजाएकी थिइन्। अमेरिका आएकाे केही दिनमा एउटा सेभेन ईलेभेनमा काम पाएर सातदिन तालिम पाएर पनि चिठ्ठा बेच्न अनि क्यास  काउण्टरमा हिसाब-किताब राख्न नसक्दा र कफी मेसिन सही तरिकाले सफा नगर्दा उनी फायर भइन्। 'पाेल्याण्डकाे सानाे गाउमा जन्मे हुर्केकी म। मैले हातमा सर्टिफिकेट बाहेक कुनै पनि सीप र भाषा सिकेकी  रहेनछु  भनेर बल्ल मेराे आफ्नाे वास्तविक धरातल थाहा पाएँ', उनी बताउँछिन्।

त्यसपछि बल्ल-तल्ल रेष्टुरेण्टको वेटरमा काम पाएर गर्न जाँदा भाषाका कारण अर्डर नबुझेपछि उनलाई चार घण्टामै हातमा २० डलर थमाई दिएर 'भाेलि म फाेन गर्छु, अहिले  घर जा' भनेर साहुले पठाइ दियो। आफूलाई किन फायर गर्छ भन्ने कुरा पनि पाँचपटक फायर भैसकेपछि मात्रै थाहा पाएकाे उनी बताउँछिन् । यसरी थाहा नपाउनुको कारणका बारेमा उनी अगाडि थप्छिन्, 'जाे साहुजी हाे, ऊ पनि खासै अंग्रेजी बुझेकाे  र पढे-लेखेकाे जस्ताे लागेन। तर, उनीहरूलाई पनि काम गर्नेचाहिँ  भाषामा कमाण्ड  भएकै  चाँहिदो रहेछ।' 

'म धेरै नै राम्री छु। मसँग डिग्री पनि छ। स्मार्ट पनि छु। अंग्रेजी पनि बुझदै नबुझ्ने त हाेइन, ग्राहकलाई त्यसै आकर्षण गरिहाल्छुनी भन्ने घमण्ड मसँग थियाे। तर, साेधेकाे  जवाफ फटाफट फर्काउन सकिँन। त्याे पनि चकनाचूर भयाे', उनी भन्छिन् ।त्यसपछि भने भाँडा माझ्ने  र किचन हेल्परमा काम गर्न थालेकाे उनी बताउँछिन्।

यसैबीचमा काममा जाँदा-आउँदा एकजना श्वेत अमेरिकनसँग भेटघाट भयाे। उसैसँग डेट गर्न  थालिन्।तर, भाषाका कारण धेरै कुरा व्यक्त गर्न सक्दैन थिईन् । लामाे कुराकानीलाई पनि अत्यन्त छाेटाेमा टुंग्याउनुपर्ने र धेरै कुरा 'यस/नो' मै टुंग्याउनुपर्ने हुन्थ्यो।

दिन बित्दै गयो, उनकाे विवाह पनि उनैसँग भयाे। त्यसअघि कसैसँग डेट नगरेकी उनी भर्जिन पनि थिइन्। 'जाेसँग पहिलाे डेट भयाे उसैसँग बिहे भएपछि सायद उस्ले मेराे अंग्रेजी  बुझ्याे र जीवन राम्रैसँग अगाडि बढला भन्ने साेचें। तर हाेइन रहेछ', उनी भन्छिन्।

उनले किचन हेल्परकाे काम छाडेर बिल्डिङमा फूल बिरुवाका गमलामा पानी हाल्ने काम पाइन्।दिउँसाे काममा जाने र बिहान बेलुका घरमा खाना पकाउने,  सफा गर्नेलगायत  सबै काम गर्थिन्। घरमा सासु र आमाजू पनि थिए। उनीहरूको संगतका कारण अंग्रेजी भोकाबुलरिज पनि दिनदिनै बढदै थियाे। उनी गर्भवती भइन्, बच्चा पनि जन्मियो तर अपाङ्ग। कामै छाेडेर बच्चा स्याहार सुसार गर्न थालिन्।बच्चा हेर्न सासू र आमाजुले पनि सहयाेग गर्थे। जिन्दगी राम्रै चलिरहेकाे थियाे।सबैसँग राम्राे सम्बन्ध थियाे।

तर, एकदिन उनका श्रीमानले भाषाका कारण आफुले कहिल्यै पनि मनका कुरा भन्न नपाएकाे र कता कता जिन्दगीमा खालि महसूस भएकाे र पैसा, परिवार सबै भए पनि एक्लै  जस्ताे लागेकाे, मन बेखुशी भएकाे अनि बाहिर साथीभाइसँग खुलेर  परिचय गराउन भाषाका कारण पनि अप्ठेराे भएकाेले बाहिर अर्कै एकल महिलासँग डेटिङ गर्न थालिसकेकाले सम्बन्ध अगाडि  भनी श्रीमान घरबाट निस्किएकाे उनी बताउँछिन्।

श्रीमानले छाेडेर निस्किए पनि सासुले बलियाे साथ दिईरहिन्।करिब चार बर्ष सासुसँगै पनि बसिन्। तर, श्रीमानले आर्थिक सपाेर्ट गर्ने र बच्चालाई भेट्ने गरे पनि सम्बन्ध भने  अगाडि नबढ्ने र अर्कै मान्छे खाेजेर जिन्दगी अगाडि बढाए पूर्ण सहयाेग  गर्ने कुरा पटकपटक बताएपछि सासूले थाहा नपाई डिभाेर्स गरेर सासूबाट पनि छुट्टिएर एक्लै बस्न थालेकाे उनी बताउँछिन ।'मलाई र बच्चालाई भेट्न अहिलेसम्म सबैजना आउँछन्। पूर्वश्रीमान् पनि आउँछन्। तर, म छाेडिएकाे कारण चाहिं फरर  अंग्रेजी बाेल्न नसकेरै हाे',  साेफिया भन्छिन् ।

इशावेला र साेफिया अमेरिकाकाे न्युयाेर्क सहरमा अंग्रेजी भाषा नबुझ्दा  जीविकोपार्जनका लागि ठूलै युद्ध लडिरहेका प्रतिनिधि पात्र मात्रै हुन्। पढेलेखेका भएर पनि  निरक्षरजस्तै छन् उनीहरु। याे उनीहरुकाे मात्रै समस्या नभएर अमेरिका छिरेकाे पहिलाे पुस्ताकाे साझा समस्या हाे।

अमेरिका संसारका धेरै देशका  मानिसकाे सपनाकाे देश हाे र यहाँ आउन मरिहत्ते गर्छन्। तर, यहाँ जागिर मिल्दैन र मिलिहाले पनि  काम गर्न भाषाकै कारण अप्ठ्यारो हुन्छ ।

इथ्नोलगका अनुसार संसारमा ७,१११ भाषा बाेलिन्छन्।जसमध्ये १०% भाषा बहुसंख्यक  समुदायले बाेल्ने गर्छन् भने, बाँकि ९० प्रतिशत भाषा हजारभन्दा कम जनसंख्याले  बाेल्छन्।अमेरिकामा मात्रै ३३५ भाषाहरु बाेलिन्छन् र अंग्रेजीपछि बोलिने दाेस्राे ठूलो भाषा हो स्पेनिस। यहाँ ९३ प्रतिशतले अंग्रेजी बोल्छन्।यहाँ आफ्नाे मातृभाषालाई न बाेलेर बुझाउन सकिन्छ, न लेखेर नै।

न्युयाेर्कजस्तो सहरमा बसेपछि अंग्रेजी भाषा भएन भने ठूलै युद्ध लड्नु पर्छ। काठमाडौैंजस्ताे ढिलाे उठ्ने र छिटाे सुत्ने भइदिएकाे भए थाेरै शब्दलाई यताउता पारेर पनि काम चल्थ्यो हाेला। तर, अमेरिका २४ सै घण्टा चल्ने देश हो र अझ न्युयोर्क त कहिलै ननिदाउँने सहर।

कलेजमा अंग्रेजी विषय लिएर पढेकालाई समेत अमेरिकामा यति बैरल तेलकाे मूल्य भन्न, स्टाेरमा रहेका फलफुल र तरकारीकाे १२-१५ आइटमभन्दा बाहेक नाम भन्न समेत  आउँदैन। नयाँ मानिसकाे वर्णन गर्न, ठाउँ समय र परिस्थितिका बारेमा तुरुन्त चर्चा/परिचर्चा गरिहाल्न पनि हम्मेहम्मे परेकाे मैले देखेकी छु। 

साेफिया अंग्रेजी भाषा नजान्दा आफूले थुप्रै अवसर गुमाएकाे बताउँछिन्। सरकारी जागिरका लागि पनि फरर अंग्रेजी भाषा बाेल्नुपर्ने भएकाले एक-दुईपटक एप्लाई गर्दा  नपाएकाे बताउँछिन्। आफूले काम गर्ने ठाउँमा सहकर्मी बाेलेर हाकिमकाे मन जित्छन् भने आफू सरल बनेर कामले जित्नुपर्ने उनी बताउँछिन्। 

रसियाकाे राजधानी मस्काे शहरकाे अत्यन्त प्रतिष्ठित परिवारबाट २५ बर्ष अगाडी अमेरिका आएकी नटासा (५१), एउटा अफिसमा नर्सिङ सुपरभाइजर थिइन्।तर, उनी बिहान  अफिस छिरेदेखि नै भाषाका कारण तनावमा हुन्थिन्। टेबुलमा अंग्रेजीमा लेखिएका पेपरवर्कका चाङ अनि दिनमा ३०० भन्दा बढी अंग्रेजीभाषी  बिरामीलाई  बाेलेर खुशी पार्ने काम, उनका लागि महाभारत नै हुन्थ्यो।स्किलफुल नर्स भए पनि बिरामीका समस्या डाक्टरलाई ई-मेल गर्न र  संवाद गरेर  कुरा बुझाउँन उनलाई हम्मेहम्मे पर्थ्यो। अनेक प्रयास गर्दा पनि केही सिप नलागेपछि तनाब , हेजिटेशन, ह्म्युमुलियशनका कारण नौ महिनामै जागीर छोड्न बाध्य भइन्।

'खै मेराे गुणात्मक जीवनशैली ?खै आत्मविश्वास र आत्मसम्मान ? बिहान अफिस आएदेखि नै भाषाका कारण ह्म्युमुलियशन फिल हुन्छ। नर्भस हुन्छु। बाथरूम गएर रुन्छु र  आँसु पुछेर फेरि अर्काे बिरामीकाे नाडी छाम्न थाल्छु। बिरामीले मेराे मुटु छामिसकेकाे हुन्छ।म रजिस्टर्ड नर्स भएर काम गर्न थालेदेखि नै यस्तै ह्म्युमुलियशनमा नै जीवन रमाउन  बानी परिरहेकी छु', उनी भन्छिन् ।

हुन पनि मान्छेकाे जात जहाँ पनि उस्तै हुने।अंग्रेजी भाषा बाेल्ने देशमा भाषा नबाेल्ने हाे भने किन बसेकाे? बरु आफ्नै देशमा जा न भन्ने र वचन लगाउने, सही उच्चारण गरेका शब्द  शब्दलाई अनेकन जाेक र टुक्का बनाएर हाँसिदिन्छन् मानिसहरु। 

'जति सिके पनि उनीहरुकाे जस्ताे उच्चारण गर्न सक्दैन हामी युराेपियनकाे जिब्राेले।म आप्रवासीकाे पहिलाे पुस्ता हुँ। मेराे छाेरा यहाँ जन्मेकाे दाेस्राे पुस्ता हाे र यिनीहरुकाे भन्दा  राम्राे र खरर बाेल्छ अंग्रेजी', उनी थप्छिन्।

सिमीत अंग्रेजी भोकाबुलरी भएकी काेरियन किम जिन (६२) काे क्वीन्समा आफ्नै ग्राेसरी पसल छ।सायद भाषाकै कारणले धेरै मानिसकाे अर्काे समुदायसँग घुलमिल र  कुराकानी नहुने र सम्वादकै अभावमा आआफ्नै समुदाय खडा गरेर बस्ने गरेकाे उनी बताउँछिन्। 

'मैले ट्राफ़िक टिकट पाउँदा बयान दिनलाई पनि धेरै पैसा तिरेर लयर हायर गर्नुपर्याे। ब्यूरोक्रेसी सबै अंग्रेजीमा चल्छ। अमेरिकामा भाषा नहुने हामीजस्तालाई सजिलाे छैन  कतै पनि', उनी भन्छिन्।

'याे जीवनमा यस्तै भै गयाे।अर्काे जीवनमा चाहिं अंग्रेजी भाषा राम्राेसँग बाेल्न सकुँ भन्ने मात्रै भगवानसँग मेराे कामना छ।” किम अगाडि थप्छिन्।

अमेरिकामा एकल आमाको संघर्ष

अमेरिकामा एक्लोपन एक भयावह समस्या

एनआरएन अमेरिका 'दुर्गन्धित' छ, चलाएर 'दुर्गन्ध' फैलाउनु किन ?

  •  प्रदीप भट्टराई

 

प्रकाशित मिति: : 2020-01-28 22:15:00

प्रतिकृया दिनुहोस्