एक वर्षमा माइती नेपाल वीरगञ्ज शाखाले गर्‍यो भारतबाट ३१ जनाको उद्धार

माइती नेपाल वीरगञ्ज शाखाले पछिल्लो एक वर्षमा भारतका विभिन्न स्थानबाट ३१ जना महिला तथा युवतीहरुको उद्धार गरेको छ। सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्मको अवधीमा ३१ जनालाई उद्धार गरेको हो।  

माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले कोलकाता, दिल्ली, मोतिहारी, बेतिया, सुगौली र रामगढवा लगायतका स्थनबाट ती महिला तथा युवतीहरुको उद्धार गरेको जानकारी दिइन्। 

पुरीले किशोरीको तुलनामा पछिल्लो समय विवाहित महिलाहरुलाई काम दिलाई दिने भन्दै भारतको विभिन्न शहरमा लैजाने गरेको बताइन्।

‘कामको प्रलोभनमा  गएका महिलाहरु पछि गएर दलालको फन्दामा परी यौन गतिविधि तथा भारतीय अरकेष्ट्रामा समेत काम लाग्ने गरेको पाइएको छ।’ उनले भनिन् ‘यो संख्या मधेशी भन्दा पहाडि महिला तथा युवतीहरुको धेरै छ।’ 

गरिवी, सम्बन्ध विच्छेद भएर छुटिएको बसेकी महिला तथा पति विदेशिएपछि एक्लिएका महिलालाई दलालहरुले आर्थिक प्रलोभनमा भारत हुँदै खाडी मुलुकमा लैजाने गरेको माईति नेपाल वीरगञ्जको वार्षीक तथ्याकंले देखाएको छ। 

माइती नेपालले महिला हिंसामा परेका पीडितलाई पनि उद्धार गरी आश्रय दिँदै आएको छ। शाखाले हालसम्म नेपालमा यौंनजन्य गतिविधि गर्ने १९ जना भारतीय महिला तथा किशोरीलाई नेपाल प्रहरीको सहयोगमा उद्धार गरी भारत पठाइएको जानकारी दिएकाे छ। 

प्रकाशित मिति: : 2020-01-27 07:24:41

प्रतिकृया दिनुहोस्